YouVersion लोगो
खोज आइकन

रूथ 1:10-19

रूथ 1:10-19 NCV

अनि तिनलाई भने, “हामी तपाईंसित तपाईंकै मानिसहरूकहाँ फर्किजानेछौँ।” तर नाओमीले भनिन्, “मेरा छोरीहरू हो, घर फर्क। तिमीहरू मसँग किन आउँछौ? तिमीहरूका पतिहरूका लागि के म अझै छोराहरू जन्माउन सक्छु र? मेरा छोरीहरू हो, घर फर्क। अर्को पति पाउनलाई म धेरै बूढी भइसकेकी छु। यद्यपि अझै आशा छ भनी मैले सोचेँ र आज राति नै पति पाएँ, र छोराहरू जन्माएँ भने तापनि तिनीहरू बढुन्जेलसम्म तिमीहरूले पर्खन्छौ र? उनीहरूका निम्ति तिमीहरू अविवाहित नै रहन्छौ? त्यसो होइन मेरा छोरीहरू हो! तिमीहरूको भन्दा मेरो हृदयको दुःख गहिरो छ; किनकि याहवेहको हात मेरो विरुद्धमा उठेको छ।” यसमा तिनीहरू फेरि डाँको छोडेर रोए। तब ओर्पाले सासूलाई बिदाइको चुम्बन गरिन्; तर रूथले भने नाओमीलाई छोडिनन्। “हेर,” नाओमीले भनिन्, “तिम्री बहिनी आफ्ना मानिसहरू र देवताहरूकहाँ फर्केर गई। तिमी पनि ऊसँगै फर्क।” तर रूथले जवाफ दिइन्, “मलाई तपाईंलाई छोड्न अथवा तपाईंलाई छोडेर फर्कन कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहीँ बस्‍नेछु। तपाईंका मानिसहरू मेरा मानिस हुनेछन्, र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ। तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र म त्यहीँ गाडिनेछु। मृत्युले बाहेक अरू कुनै कुराले तपाईंबाट मलाई अलग गरेमा याहवेहले मसित अति कठोर व्यवहार गरून्।” रूथले आफूसित जाने सङ्कल्प गरेकी थाहा पाएपछि नाओमीले तिनलाई कर गर्न छोडिन्। यसकारण तिनीहरू बेथलेहेम नपुगुन्जेल यात्रा गरिरहे। जब तिनीहरू बेथलेहेममा आइपुगे, तब सारा सहरमा हलचल मच्‍चियो, तब त्यहाँका स्त्रीहरूले आश्‍चर्य मानेर भन्‍न लागे, “के यिनी नाओमी होइन र?”

रूथ 1 पढ्नुहोस्