YouVersion लोगो
खोज आइकन

रोमी 6

6
पापको निम्ति मर्नु, ख्रीष्‍टको निम्ति जिउनु
1अब हामी के भनौं त? अनुग्रह बढोस् भनेर पाप गरिरहने त? 2यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौं; फेरि कसरी हामी पापमा जिइरहने त? 3के तिमीहरूलाई थाहा छैन कि हामी जतिजनाले ख्रीष्‍ट येशूमा बप्‍तिस्मा लियौं, उहाँसँग एक हुनका लागि उहाँको मृत्युमा बप्‍तिस्मा लिएका थियौं? 4तसर्थ बप्‍तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौं, र जसरी ख्रीष्‍ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔं।
5यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौं भने, निश्‍चित रूपमा उहाँसँगै उहाँको पुनर्जीवनको समानतामा पनि उहाँसँगै एक हुनेछौं। 6किनकि हामी जान्दछौं कि, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्‍नु नपरोस्। 7किनकि जो मरेको छ, ऊ पापबाट मुक्‍त भएको छ।
8अहिले यदि हामी ख्रीष्‍टसँग मरेका छौं भने हामी विश्‍वास गर्छौं कि, उहाँसँगै जिउने पनि छौं। 9किनकि हामी जान्दछौं कि, ख्रीष्‍ट मरेकाबाट पुनर्जीवित हुनुभएकोले फेरि मर्नुहुन्‍न; उहाँमाथि अब उसो मृत्युको अधिकार छैन। 10जुन अद्वितीय मृत्यु उहाँ मर्नुभयो; त्यो मृत्यु सबैका पापको लागि एकपटक मर्नुभयो; तर जुन जीवन उहाँ अब जिउनुहुन्छ, त्यो जीवन परमेश्‍वरको निम्ति जिउनुहुन्छ।
11यसरी नै तिमीहरूले पनि आफूलाई पापको निम्ति मरेको तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति जीवित भएको ठान्‍नुपर्छ। 12यसकारण शरीरका खराब अभिलाषाहरूका अनुसार चल्नु नपरोस् भनेर तिमीहरूका मरणशील शरीरमा पापलाई शासन गर्न नदेओ। 13आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्‍टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर, तर मृत्युबाट जीवन पाएकाहरूझैं, आफूलाई परमेश्‍वरको निम्ति अर्पण गर र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर। 14अब उसो पाप तिम्रो मालिक हुनेछैन, किनकि तिमी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनतामा छौ।
धार्मिकताको सेवक
15अब के त? हामी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनतामा छौं भनेर पाप गर्ने त? आवश्य पनि होइन! 16के तिमीहरूलाई थाहा छैन, जब तिमीहरू कसैको आज्ञाकारी सेवकहरूका रूपमा आफूलाई समर्पण गरिदिन्छौ, तिमीहरू जसको आज्ञा मान्दछौ उसको सेवकहरू हुन्छौ, कि ता तिमीहरू पापको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई मृत्युमा पुर्‍याउँछ, कि ता आज्ञाकारीताको सेवक बन्छौ, जसले तिमीहरूलाई धार्मिकता प्रदान गर्छ? 17तर परमेश्‍वरलाई धन्यवाद होस्, यद्यपि तिमीहरू पापको सेवक थियौ, अब जुन शिक्षामा तिमीहरू समर्पित छौ, त्यो हृदयले पालन गर्ने भएका छौ। 18तिमीहरू पापको दासत्वबाट स्वतन्त्र भएका छौ र धार्मिकताको सेवकहरू तुल्याइएका छौ।
19म तिमीहरूलाई तिमीहरूका मानवीय कमजोरीका कारण मानवीय दृष्‍टिकोणबाट यो भन्दैछु। जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र सधैं बढिरहने दुष्‍टताको निम्ति सेवक हुनालाई समर्पण गरेका थियौ, त्यसरी नै अहिले आफ्ना अङ्गहरूलाई पवित्रताको लागि धार्मिकताका सेवक हुनालाई समर्पण गरिदेओ। 20जब तिमीहरू पापका सेवकहरू थियौ, धार्मिकताको नियन्त्रणबाट तिमीहरू स्वतन्त्र थियौ। 21जे कुराको निम्ति अहिले तिमीहरू लज्जित छौ, ती कुराहरूबाट तिमीहरूलाई के फाइदा भएको थियो र? ती कुराहरूको परिणाम त मृत्यु हो। 22तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्‍वरका सेवकहरू भएका छौ। परमेश्‍वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्‍याउँछ र यसको परिणाम अनन्त जीवन हो। 23किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।

अहिले सेलेक्ट गरिएको:

रोमी 6: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्