अब हामी के भनौं त? अनुग्रह बढोस् भनेर पाप गरिरहने त? यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौं; फेरि कसरी हामी पापमा जिइरहने त? के तिमीहरूलाई थाहा छैन कि हामी जतिजनाले ख्रीष्ट येशूमा बप्तिस्मा लियौं, उहाँसँग एक हुनका लागि उहाँको मृत्युमा बप्तिस्मा लिएका थियौं? तसर्थ बप्तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौं, र जसरी ख्रीष्ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔं।
यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौं भने, निश्चित रूपमा उहाँसँगै उहाँको पुनर्जीवनको समानतामा पनि उहाँसँगै एक हुनेछौं। किनकि हामी जान्दछौं कि, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्नु नपरोस्। किनकि जो मरेको छ, ऊ पापबाट मुक्त भएको छ।
अहिले यदि हामी ख्रीष्टसँग मरेका छौं भने हामी विश्वास गर्छौं कि, उहाँसँगै जिउने पनि छौं। किनकि हामी जान्दछौं कि, ख्रीष्ट मरेकाबाट पुनर्जीवित हुनुभएकोले फेरि मर्नुहुन्न; उहाँमाथि अब उसो मृत्युको अधिकार छैन। जुन अद्वितीय मृत्यु उहाँ मर्नुभयो; त्यो मृत्यु सबैका पापको लागि एकपटक मर्नुभयो; तर जुन जीवन उहाँ अब जिउनुहुन्छ, त्यो जीवन परमेश्वरको निम्ति जिउनुहुन्छ।
यसरी नै तिमीहरूले पनि आफूलाई पापको निम्ति मरेको तर ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान्नुपर्छ। यसकारण शरीरका खराब अभिलाषाहरूका अनुसार चल्नु नपरोस् भनेर तिमीहरूका मरणशील शरीरमा पापलाई शासन गर्न नदेओ। आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर, तर मृत्युबाट जीवन पाएकाहरूझैं, आफूलाई परमेश्वरको निम्ति अर्पण गर र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर। अब उसो पाप तिम्रो मालिक हुनेछैन, किनकि तिमी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनतामा छौ।
अब के त? हामी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनतामा छौं भनेर पाप गर्ने त? आवश्य पनि होइन! के तिमीहरूलाई थाहा छैन, जब तिमीहरू कसैको आज्ञाकारी सेवकहरूका रूपमा आफूलाई समर्पण गरिदिन्छौ, तिमीहरू जसको आज्ञा मान्दछौ उसको सेवकहरू हुन्छौ, कि ता तिमीहरू पापको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई मृत्युमा पुर्याउँछ, कि ता आज्ञाकारीताको सेवक बन्छौ, जसले तिमीहरूलाई धार्मिकता प्रदान गर्छ? तर परमेश्वरलाई धन्यवाद होस्, यद्यपि तिमीहरू पापको सेवक थियौ, अब जुन शिक्षामा तिमीहरू समर्पित छौ, त्यो हृदयले पालन गर्ने भएका छौ। तिमीहरू पापको दासत्वबाट स्वतन्त्र भएका छौ र धार्मिकताको सेवकहरू तुल्याइएका छौ।
म तिमीहरूलाई तिमीहरूका मानवीय कमजोरीका कारण मानवीय दृष्टिकोणबाट यो भन्दैछु। जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र सधैं बढिरहने दुष्टताको निम्ति सेवक हुनालाई समर्पण गरेका थियौ, त्यसरी नै अहिले आफ्ना अङ्गहरूलाई पवित्रताको लागि धार्मिकताका सेवक हुनालाई समर्पण गरिदेओ। जब तिमीहरू पापका सेवकहरू थियौ, धार्मिकताको नियन्त्रणबाट तिमीहरू स्वतन्त्र थियौ। जे कुराको निम्ति अहिले तिमीहरू लज्जित छौ, ती कुराहरूबाट तिमीहरूलाई के फाइदा भएको थियो र? ती कुराहरूको परिणाम त मृत्यु हो। तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्वरका सेवकहरू भएका छौ। परमेश्वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्याउँछ र यसको परिणाम अनन्त जीवन हो। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।