YouVersion लोगो
खोज आइकन

रोमी 6:1-23

रोमी 6:1-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब हामी के भनौं? के अनुग्रह प्रशस्‍त मात्रामा होस्‌ भनेर हामी पापमा लागिरहौं त? त्‍यसो नहोस्! हामी जो पापको लेखि मर्‍यौं, त कसरी हामी अझै त्‍यसैमा जिउनु? के तिमीहरू जान्‍दैनौ हामी सबै, जतिले ख्रीष्‍ट येशूमा बप्‍तिस्‍मा लियौं, उहाँकै मृत्‍युमा बप्‍तिस्‍मा लिएका थियौं? यसकारण बप्‍तिस्‍माद्वारा हामी मृत्‍युमा उहाँसँगै गाडियौं, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्‍ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्‍यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं। यदि उहाँको मृत्‍युमा हामी उहाँसँग एउटै भएका छौं भने, उहाँको पुनरुत्‍थानमा पनि निश्‍चय नै हामी उहाँसँगै एक हुनेछौं। हामी जान्‍दछौं कि हाम्रो पुरानो मनुष्‍यत्‍व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं। किनभने जो मरेको छ त्‍यो पापबाट मुक्त भएको छ। तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्‍ने विश्‍वास गर्दछौं। हामी जान्‍दछौं कि ख्रीष्‍ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन। अब उसो उहाँमाथि मृत्‍युको राज्‍य हुँदैन। जुन मृत्‍युमा उहाँ मर्नुभयो त्‍यो पापको लेखि सधैँको लागि एकै पल्‍ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्‍छ, त्‍यो परमेश्‍वरको निम्‍ति जिउनुहुन्‍छ। यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको लागि जीवित भएका ठान्‍नुपर्छ। यसकारण शरीरका अभिलाषाअनुसार चल्‍नु नपरोस्‌ भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्‍य गर्न नदेओ। आफ्‍ना शरीरका अङ्गहरू दुष्‍टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्‍युबाट जीवनमा ल्‍याइएका मानिसहरूजस्‍तै आफैलाई परमेश्‍वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्‍तै परमेश्‍वरकहाँ समर्पण गर। किनकि पापले तिमीहरूमाथि राज्‍य गर्नेछैन, किनकि तिमीहरू व्‍यवस्‍थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ। अब के त? के हामी व्‍यवस्‍थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर पाप गर्ने त? कदापि होइन। के तिमीहरू जान्‍दैनौ, आज्ञाकारी कमाराको रूपमा आफैलाई जसकहाँ समर्पण गर्छौ, जसको आज्ञा तिमी पालन गर्छौ, त्‍यसको कमारा पनि हुन्‍छौ? कि त मृत्‍युतिर लाने पापको कमारा अथवा धार्मिकतातिर लाने आज्ञाकारिताको? तर परमेश्‍वरलाई धन्‍यवाद होस्, कि तिमीहरू, जो एक पल्‍ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्‍पिएका थियौ, त्‍यो हृदयले पालन गर्ने भएका छौ। तिमीहरू पापबाट मुक्त गराइएर धार्मिकताका कमारा बनेका छौ। तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्‍न सकिने भाषामा बोलिरहेको छु। किनकि जसरी तिमीहरूले एक पल्‍ट आफ्‍ना अङ्गहरूलाई अशुद्धता र झन्‌-झन्‌ बढ़ी अपराधका निम्‍ति समर्पण गर्‍यौ, अब त्‍यसरी नै पवित्रकरणको निम्‍ति आफ्‍ना अङ्गहरूलाई धार्मिकताको निम्‍ति समर्पण गर। तिमीहरू पापका कमारा भएको बेलामा चाहिँ धार्मिकताको लेखि स्‍वतन्‍त्र थियौ। अब जुन कुराहरूमा तिमीहरू अहिले शर्माउँछौ, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? ती कुराहरूको अन्‍त्‍यचाहिँ मृत्‍यु हो। तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्‍वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्‍यसको अन्‍त्‍यचाहिँ, अनन्‍त जीवन। किनकि पापको ज्‍याला मृत्‍यु हो, तर परमेश्‍वरको सित्तैँको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्‍त जीवन हो।

शेयर गर्नुहोस्
रोमी 6 पढ्नुहोस्

रोमी 6:1-23 नेपाली समकालीन संस्करण (NCV)

अब हामी के भनौं त? अनुग्रह बढोस् भनेर पाप गरिरहने त? यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौं; फेरि कसरी हामी पापमा जिइरहने त? के तिमीहरूलाई थाहा छैन कि हामी जतिजनाले ख्रीष्‍ट येशूमा बप्‍तिस्मा लियौं, उहाँसँग एक हुनका लागि उहाँको मृत्युमा बप्‍तिस्मा लिएका थियौं? तसर्थ बप्‍तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौं, र जसरी ख्रीष्‍ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔं। यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौं भने, निश्‍चित रूपमा उहाँसँगै उहाँको पुनर्जीवनको समानतामा पनि उहाँसँगै एक हुनेछौं। किनकि हामी जान्दछौं कि, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्‍नु नपरोस्। किनकि जो मरेको छ, ऊ पापबाट मुक्‍त भएको छ। अहिले यदि हामी ख्रीष्‍टसँग मरेका छौं भने हामी विश्‍वास गर्छौं कि, उहाँसँगै जिउने पनि छौं। किनकि हामी जान्दछौं कि, ख्रीष्‍ट मरेकाबाट पुनर्जीवित हुनुभएकोले फेरि मर्नुहुन्‍न; उहाँमाथि अब उसो मृत्युको अधिकार छैन। जुन अद्वितीय मृत्यु उहाँ मर्नुभयो; त्यो मृत्यु सबैका पापको लागि एकपटक मर्नुभयो; तर जुन जीवन उहाँ अब जिउनुहुन्छ, त्यो जीवन परमेश्‍वरको निम्ति जिउनुहुन्छ। यसरी नै तिमीहरूले पनि आफूलाई पापको निम्ति मरेको तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति जीवित भएको ठान्‍नुपर्छ। यसकारण शरीरका खराब अभिलाषाहरूका अनुसार चल्नु नपरोस् भनेर तिमीहरूका मरणशील शरीरमा पापलाई शासन गर्न नदेओ। आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्‍टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर, तर मृत्युबाट जीवन पाएकाहरूझैं, आफूलाई परमेश्‍वरको निम्ति अर्पण गर र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर। अब उसो पाप तिम्रो मालिक हुनेछैन, किनकि तिमी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनतामा छौ। अब के त? हामी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनतामा छौं भनेर पाप गर्ने त? आवश्य पनि होइन! के तिमीहरूलाई थाहा छैन, जब तिमीहरू कसैको आज्ञाकारी सेवकहरूका रूपमा आफूलाई समर्पण गरिदिन्छौ, तिमीहरू जसको आज्ञा मान्दछौ उसको सेवकहरू हुन्छौ, कि ता तिमीहरू पापको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई मृत्युमा पुर्‍याउँछ, कि ता आज्ञाकारीताको सेवक बन्छौ, जसले तिमीहरूलाई धार्मिकता प्रदान गर्छ? तर परमेश्‍वरलाई धन्यवाद होस्, यद्यपि तिमीहरू पापको सेवक थियौ, अब जुन शिक्षामा तिमीहरू समर्पित छौ, त्यो हृदयले पालन गर्ने भएका छौ। तिमीहरू पापको दासत्वबाट स्वतन्त्र भएका छौ र धार्मिकताको सेवकहरू तुल्याइएका छौ। म तिमीहरूलाई तिमीहरूका मानवीय कमजोरीका कारण मानवीय दृष्‍टिकोणबाट यो भन्दैछु। जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र सधैं बढिरहने दुष्‍टताको निम्ति सेवक हुनालाई समर्पण गरेका थियौ, त्यसरी नै अहिले आफ्ना अङ्गहरूलाई पवित्रताको लागि धार्मिकताका सेवक हुनालाई समर्पण गरिदेओ। जब तिमीहरू पापका सेवकहरू थियौ, धार्मिकताको नियन्त्रणबाट तिमीहरू स्वतन्त्र थियौ। जे कुराको निम्ति अहिले तिमीहरू लज्जित छौ, ती कुराहरूबाट तिमीहरूलाई के फाइदा भएको थियो र? ती कुराहरूको परिणाम त मृत्यु हो। तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्‍वरका सेवकहरू भएका छौ। परमेश्‍वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्‍याउँछ र यसको परिणाम अनन्त जीवन हो। किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।

शेयर गर्नुहोस्
रोमी 6 पढ्नुहोस्

रोमी 6:1-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसो भए हामीले के भन्‍ने? के परमेश्‍वरको अनुग्रह धेरै पाइरहन हामी पाप गरिरहौं त? अहँ, त्‍यसो गर्नुहुँदैन। पापको लागि त हामी मुर्दा हौं, मुर्दा कसरी अब पाप गरेर जिउन सक्‍छ? तिमीहरूलाई थाहै छ, हामीले ख्रीष्‍टमा बप्‍तिस्‍मा पाउँदा उहाँसँगै एक भएर मर्‍यौं। हामी पनि उहाँसँगै बप्‍तिस्‍माद्वारा मरेर गाडियौं। शक्तिशाली परमेश्‍वर पिताले आफ्‍नो महिमाद्वारा येशू ख्रीष्‍टलाई मरेकोबाट बिउँताउनुभयो। त्‍यसो हुँदा हामी पनि पुरानो जीवन छोडेर नयाँ जीवनमा ख्रीष्‍टजस्‍तै जिउनेछौं। किनभने उहाँको मृत्‍युमा हामी एक भयौं भने उहाँसँगै मरेकोबाट बिउँतिदा पनि एक हुनेछौं। हामीलाई यो थाहा छ, पापले राज्‍य गरेको जीवन नाश होस् र हामी पापको कैदी भइरहनुनपरोस् भनेर हाम्रो पुरानो जीवन ख्रीष्‍टसँगै क्रूसमा मारिएको छ किनभने मरिसकेको मानिस पापको कैदबाट छुटेको हुन्‍छ। ख्रीष्‍टसँगै मर्‍यौं भने उहाँसँगै बाँच्‍ने पनि छौं भनेर हामी विश्‍वास गर्दछौं किनभने हामीलाई थाहा छ, ख्रीष्‍ट मरेर पनि फेरि बिउँतनुभएको छ। अब उहाँ कहिल्‍यै मर्नुहुनेछैन, उहाँमाथि मृत्‍युको कुनै शक्ति चल्‍दैन। पापको लेखि ख्रीष्‍ट एक पल्‍ट मर्नुभएकोले उहाँमाथि पापको पनि कुनै शक्ति चल्‍दैन अनि परमेश्‍वरको निम्‍ति उहाँ सधैँभरि बाँच्‍नुहुन्‍छ। त्‍यसरी नै तिमीहरूले पनि आ-आँफूलाई पापको लागि मरेको तर परमेश्‍वरको लागि ख्रीष्‍ट येशूसँगै बाँचेको सम्‍झिनुपर्छ। यसकारण आफ्‍नो मरणशील शरीरमा फेरि पापले राज्‍य गर्न नपाओस्। कुनै पनि आफ्‍ना अङ्ग दुष्‍ट काम गर्न पापलाई नचढाओ। तर मरेर पनि फेरि असल कामको लागि जिउने मानिसहरूजस्‍तै आफ्‍नो पूरै जीवन परमेश्‍वरकहाँ चढाओ र आफ्‍ना अङ्ग असल काम गर्न उहाँलाई चढाओ। पापले तिमीहरूमाथि राज गर्नेछैन किनभने तिमीहरू व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छौ। के अनुग्रहको अधीनमा छौं भन्‍दैमा हामी पाप गरौं त? यो कहिल्‍यै पनि हुँदैन। जसको कुरा मानेर चाकरी गर्न रुचाउँछौ, उसैको तिमीहरू कमारा हुन्‍छौ। पापको कमारो भएर त्‍यसैको आज्ञा मान्‍छौ भने तिमी मर्नेछौ, तर परमेश्‍वरको आज्ञापालन गर्छौ भने तिमी उहाँकै सामु ठीक ठहरिन्‍छौ। तिमीहरू पहिले पापका कमारा थियौ तर अहिले तिमीहरू हृदयदेखि नै आफ्‍ना परमेश्‍वरले सिकाउनुभएको शिक्षा पालन गर्छौ। यसको निम्‍ति परमेश्‍वरलाई धन्‍यवाद होस्। तिमीहरू पापको कैदबाट छुटेर परमेश्‍वरको असल काम गर्ने कमारा भएका छौ। तिमीहरूको शारीरिक स्‍वभावको कमजोरीले गर्दा म मानिसहरूले बुझ्‍ने गरी मालिक र कमाराको नमुना लिएर भन्‍दै छु। एक पल्‍ट खराब इच्‍छा लिएर ठूलो पाप र दुष्‍ट काम गर्न तिमीहरूले आफ्‍नो जीवन कमाराले झैँ सुम्‍पियौ। अब पवित्र हुन तिमीहरूको जीवन परमेश्‍वरको लागि असल काम गर्ने कमाराले झैँ सुम्‍पिदेओ। तिमीहरू पापको कमारा हुँदा तिमी परमेश्‍वरको अगाडि ठीक हुने कामको वास्‍ता गर्दैनथ्यौ। त्‍यस बेला गरेका कामबाट जसमा तिमीहरू अहिले लाज मान्‍छौ, तिमीहरूले के पायौ? ती सबै घिनलाग्‍दा कुराको फलचाहिँ मृत्‍यु हो। अब तिमीहरू पापको कैदबाट छुटेका छौ र परमेश्‍वरका कमारा बनाइएका छौ। यसको फलचाहिँ पवित्रता हो। यसले तिमीलाई अजम्‍मरी जीवनमा पुर्‍याउँछ। पापले आफ्‍नो कमारालाई दिने ज्‍यालाचाहिँ मृत्‍यु हो, तर हाम्रा प्रभु येशू ख्रीष्‍टमा अजम्‍मरी जीवन जिउनुचाहिँ सित्तैमा दिइने परमेश्‍वरको दान हो।

शेयर गर्नुहोस्
रोमी 6 पढ्नुहोस्

रोमी 6:1-23 पवित्र बाइबल (NERV)

हामीले के भन्ने? परमेश्वरको धेरै भन्दा धेरै अनुग्रह प्राप्त गर्नलाई हामीले अझै धेरै पाप गरिरहनु पर्ने? होइन! हामी हाम्रा पापले मर्यौं। यसकारण हामी कसरी लगातार पापमा बसिरहनु? के तिमीहरूले भुल्यौ, जब हामी बप्तिस्मा भयौं तबदेखि नै हामी येशू ख्रीष्टका एक अंश बन्यौं? हामीले बप्तिस्मा लियौं, हामी उहाँको मृत्युमा भागीदार बन्यौं। यसैकारण जब हामी बप्तिस्मा भयौं, हामी ख्रीष्ट सँगै गाडियौं र उहाँको मृत्युमा भागीदार बन्यौं। हामी ख्रीष्टसँगै दफन भयौं ताकि हामी जोगीन सकौं अनि नयाँ जीवन जीउन सकौं। यस्तै प्रकारले, पिताको अचम्मको शक्तिले ख्रीष्ट मृत्युबाट जीवित हुनुभयो। ख्रीष्ट मर्नु भयो, र हामी पनि उहाँको मृत्युकै अनुरूपमा उहाँसित मिल्यौं। यसकारण हामी उहाँको बौराइको अनुरुपमा पनि ख्रीष्टसितै मिल्नेछौं। हामी जान्दछौं हाम्रो पुरानो जीवन ख्रीष्ट सँगै क्रूसमा मर्यो। यो त्यस्तै भयो जसमा कि हाम्रो पापपूर्ण स्वभावले हामीमाथि नियंत्रण गर्ने थिएन र अब हामी आफैं पापको दास हुने थिएनौं। जो मर्दछ उ पापको नियंत्रणबाट मुक्त हुँदछ। यदि हामी ख्रीष्टसँगै मरेका छौं भने, हामी जान्दछौं कि हामी पनि उहाँसँगै बाँच्ने छौं। ख्रीष्ट मृत्युबाट जाग्नु भयो। अनि हामी जान्दछौ कि उहाँ फेरि कहिल्यै मर्नु हुनेछैन। उहाँमाथि मृत्युको कुनै प्रभाव छैन। हो, जब ख्रीष्ट मर्नु भयो, उहाँ पापको शक्तिलाई जित्न एकैपल्ट मर्नु भयो। अब उहाँसँग नयाँ जीवन छ अनि त्यो नयाँ जीवन परमेश्वरसँग छ। त्यस्तै प्रकाले तिमीहरूले पनि पापको कारणले मरेको सम्झ। अनि ख्रीष्ट येशूमा परमेश्वरको निम्ति जीवित भएको ठान। यसकारण पापलाई तिमीहरूको पार्थिव जीवन नियंत्रण गर्न नदेऊ। तिम्रा पापपूर्ण स्वभावलाई तिमीमा राज गर्न दिनु हुदैन जसले तिमीलाई उसको इच्छा अनुसार कर्म गर्न लगाउँछ। तिम्रा शरीरका अंगहरूलाई पापर्कम र दुष्टकर्महरू गर्नलाई अर्पण नगर। बरू आफू मृत्युबाट जिउँदो भएको कारण स्वयंलाई परमेश्वरप्रति समर्पित गर। राम्रो कामको लागि तिम्रा शरीरका अङ्गग परमेश्वरको सेवामा अर्पण गर। पाप तिम्रो स्वामी हुनेछैन। किनभने तिमी व्यवस्थाको अधीनमा छैनौ। तिमीहरू अब परमेश्वरको अनुग्रहमा छौ। तब हामीले के गर्नु पर्ने? हामी व्यवस्थाको अधीनमा छैनौं तर प्रभुको अनुग्रहमा छौं भनेर पाप गर्नु पर्ने? होइन! निःसन्देह तिमीहरू जान्दछौ कि जब तिमीहरूले आफैंलाई कसैको आज्ञा पालन गर्ने दास बनाउँछौ, तब तिमीहरू त्यही मानिसको दास हौ। जुन मानिसको आज्ञा तिमी पालन गर्छौ त्यही तिम्रो स्वामी हुनेछ। तिमीहरू पापको पछि लाग कि परमेश्वरको आज्ञा पालन गर, पापले आत्मिक मृत्यु ल्याउँदछ। तर परमेश्वरको आज्ञा पालन गर्यौ भने तिमीहरू धार्मिक बनाइने छौ। विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्‌यौ जुन तिमीहरूलाई दिइयो। तिमीहरू पापदेखि मुक्त भयौ। अनि अब तिमीहरू धार्मिकताका दास भयौ। म यसको व्याख्या उदाहरण दिएर व्याख्या गरिरहेछु किनभने तिमीहरूलाई बुझ्न गाह्रो हुन्छ। विगतमा, तिमीहरूले पापको निम्ति आफ्ना शरीरका अंगहरू अर्पण गर्यौ र पापकै दास भयौ। तिमीहरू दुष्ट कुराहरूको लागि मात्र बाँच्यौ। त्यस्तै प्रकारले, तिमीहरूले धार्मिकताको लागि शरीरका अंगहरू समर्पण गर। त्यसपछि मात्र तिमीहरू परमेश्वरको निम्ति बाँच्नेछौ। विगतमा तिमीहरू पापका दास थियौ अनि धार्मिकताले तिमीहरूलाई नियन्त्रण गरेन। तिमीहरू दुष्ट कर्महरू गर्दै बाँच्यौ। ती कुराहरूका लागि अहिले तिमीहरू लज्जित छौ। के ती कुराहरूले तिमीहरूलाई साथ दियो? अँहँ! ती कुराहरूले आत्मिक मृत्यु ल्याँउछ। तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ। जब मानिसहरूले पाप गर्दछन्, तिनीहरूले पापको ज्याला कमाउँछन् जो चाँहि मृत्यु हो। तर परमेश्वरले आफ्ना मानिसहरूलाई मूल्य रहित उपहार दिनु हुन्छ जुन हाम्रा ख्रीष्ट येशू प्रभुमा अनन्त जीवन हो।

शेयर गर्नुहोस्
रोमी 6 पढ्नुहोस्