त्यसो भए यहूदी हुनुमा के फाइदा छ र? अथवा खतनाको के महत्त्व छ? वास्तवमा धेरै फाइदाहरू छन्। सर्वप्रथम त परमेश्वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको हो। केही व्यक्तिहरू विश्वासयोग्य भएनन् त के भयो? के तिनीहरूका अविश्वासयोग्यताले परमेश्वरको विश्वसनीयतालाई रद्द तुल्याउँछ र? वास्तवमा होइन! परमेश्वर सत्य ठहरिऊन्, र सबै मानिसहरू झूटा साबित होऊन्। यस्तो लेखिएको छ: “तपाईं जब बोल्नुहुन्छ, आफ्ना कुरामा साँचो प्रमाणित ठहरिनुहोस्, र तपाईंले न्याय गर्नुहुँदा विजयी हुनुहोस्।” तर यदि हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई अझ प्रष्ट गराउँछ भने त हामीले के भन्ने? परमेश्वरको क्रोध हामीमा पर्दा के उहाँ अन्यायी हुनुहुन्छ र? म मानवीय तर्क प्रयोग गरिरहेछु। पक्कै पनि होइन! यदि त्यस्तो हो भने त, धर्मी परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ? कसैले तर्क गर्ला, “यदि मेरो झूटद्वारा परमेश्वरको सत्यताले उहाँको महिमालाई बढाउँछ भने म किन पापीझैँ दोषी ठहरिन्छु त?” त्यसो भए किन हामी यसो नभनौँ, “हामी खराब काम गरौँ, ताकि यसबाट असल आउन सकोस्?” केही मानिसहरूले हामीले यस्तो भन्छौँ भन्दै हाम्रो निन्दा गर्छन्। यस्ता कुरा गर्नेहरू दोषी ठहरिन योग्यका हुन्छन्। त्यसो हो भने के हामी यहूदीहरू उनीहरूभन्दा असल छौँ त? कदापि छैनौँ! हामीले अगि नै यहूदी र गैरयहूदीहरू दुवै पापको शक्तिको अधीनमा भएको प्रमाणित गरिसकेका छौँ। यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन; बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने पनि कोही छैन। सबै परमेश्वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एक जना पनि छैन।” “तिनीहरूका घोक्रो खुल्ला चिहानहरू हुन्; तिनीहरूका जिब्राले झूटा कुरा बोल्छन्।” “तिनीहरूका ओठमा विषालु सर्पका विष छ।” “तिनीहरूका मुख श्राप र तितोपनाले भरिएका छन्।” “तिनीहरूका खुट्टा रगत बगाउन सदा तयार छन्; तिनीहरूका मार्गहरू विनाश र दुर्दशाले भरिएका छन्, तिनीहरूले शान्तिको मार्गलाई चिनेकै छैनन्।” “तिनीहरूका आँखामा परमेश्वरको डर छैन।” अब हामी जान्दछौ, व्यवस्थाले जे भन्दछ, व्यवस्थाका अधीनमा हुनेहरूलाई नै भन्दछ, ताकि सबैको मुख बन्द रहोस् र सारा संसारलाई परमेश्वरको अगि जवाफदेही बनाइयोस्। यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्वरको दृष्टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेतचाहिँ गराउँदछ।
रोमी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 3:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू