YouVersion लोगो
खोज आइकन

रोमी 15:14-33

रोमी 15:14-33 NCV

मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म स्वयम् विश्‍वस्त छु, कि तिमीहरू भलाइमा पूर्ण, सबै ज्ञानले भरिएका र एक-अर्कालाई शिक्षा दिन निपूर्ण छौ। तरै पनि मैले तिमीहरूलाई केही विषयमा साहसपूर्वक फेरि स्मरण गराउन लेखेको छु। किनभने प्रभुले मलाई अनुग्रह दिनुभएको छ कि म गैरयहूदीहरूका लागि ख्रीष्‍ट येशूको सेवक हुन सकूँ। उहाँले मलाई परमेश्‍वरको सुसमाचार घोषणा गर्ने पुजारीको काम दिनुभएको छ, ताकि गैरयहूदीहरू पवित्र आत्माद्वारा शुद्ध पारिएका ग्रहणयोग्य भेटी हुन सकून्। यसकारण मेरा परमेश्‍वरप्रतिको सेवामा म ख्रीष्‍ट येशूमा गर्व गर्छु। मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्‍वरतर्फ आज्ञाकारी बनाउनका निम्ति ख्रीष्‍टले मद्वारा जे गर्नुभएको छ, त्योभन्दा बढी म अरू केही कुरा भन्‍ने आँट गर्दिनँ। अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरूद्वारा परमेश्‍वरका आत्माको शक्तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्‍लिरिकमसम्म मैले ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गरेको छु। मेरो सधैँ उत्कट इच्छा यही रहेको छ, कि ख्रीष्‍ट नचिनिएको ठाउँमा म सुसमाचार प्रचार गर्न सकूँ, ताकि कसैले बसालेको जगमा मैले काम गर्नु नपरोस्। बरु यस्तो लेखिएको छ: “जसलाई उहाँको बारेमा बताइएन, उनीहरूले नै उहाँलाई देख्नेछन्; अनि जसले सुनेका छैनन्, तिनीहरूले नै बुझ्नेछन्।” यही सेवकाइको कारण तिमीहरूकहाँ आउनलाई म प्रायः रोकिएको छु। तर अहिले मेरो लागि यी क्षेत्रहरूमा काम गर्ने अरू ठाउँ नरहेको हुनाले र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने उत्कट इच्छा भएको कारण, म स्पेन जाँदा तिमीहरूकहाँ आउने योजना गर्दैछु। तिमीहरूलाई भेट्ने आशा राखेको छु, र तिमीहरूसँग केही समय सङ्गतिको आनन्द लिएपछि मेरो यात्रामा तिमीहरूको सहयोगको चाहना गर्दछु। तर अहिले म यरूशलेममा प्रभुका जनहरूका सेवा गर्नलाई जाँदैछु। किनकि म्यासिडोनिया र अखैयाका विश्‍वासीहरूले यरूशलेममा भएका प्रभुका जनहरूमध्ये आर्थिक रूपमा कमजोरहरूका निम्ति भेटी दिएका छन्। तिनीहरूलाई यसो गर्न खुशी लाग्यो र तिनीहरू यो भेटीका निम्ति उनीहरूका ऋणी छन्; किनकि यदि यहूदीहरूका आत्मिक आशिष्‌मा गैरयहूदीहरू पनि सहभागी भएका छन् भने गैरयहूदीहरूका भौतिक आशिष्‌मा यहूदीहरूलाई पनि सहभागी गराउनुपर्छ। यो काम गरिसकेपछि र यो भेटी उनीहरूलाई सुम्पिसकेपछि म स्पेन जानेछु र त्यही बेला म तिमीहरूकहाँ आउनेछु। म जान्दछु, जब म त्यहाँ आउँछु, तब ख्रीष्‍टका आशिष्‌को भरपूरीमा आउनेछु। मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा म तिमीहरूलाई बिन्ती गर्दछु, मेरा लागि परमेश्‍वरसँग प्रार्थनाद्वारा मेरा सङ्घर्षमा सहभागी बन। यहूदियाका अविश्‍वासीहरूका बीचमा म सुरक्षित रहन सकूँ भनेर प्रार्थना गरिदेओ, र यरूशलेमको लागि मैले बोकेका भेटी त्यहाँका प्रभुका जनहरूका निम्ति स्वीकार्य होस्, ताकि म परमेश्‍वरको इच्छा भएमा तिमीहरूकहाँ आनन्दसाथ आउन सकूँ र तिमीहरूको उपस्थितिद्वारा ताजा हुन सकूँ। शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहिरहून्! आमेन।

रोमी 15 पढ्नुहोस्