YouVersion लोगो
खोज आइकन

रोमी 15:1-33

रोमी 15:1-33 NCV

हामी विश्‍वासमा बलियो हुनेहरूले दुर्बलहरूको असफलतालाई सहिदिनुपर्छ र आफूलाई मात्र प्रसन्‍न तुल्याउने हुनुहुन्‍न। हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्‍नतिको निम्ति प्रसन्‍न राख्नुपर्छ। किनकि ख्रीष्‍ट आफैले पनि आफूलाई प्रसन्‍न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।” किनकि विगतमा जे लेखिएको थियो, त्यो हामीलाई शिक्षा दिनको निम्ति लेखिएको थियो, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्‍त गर्न सकौं। धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍ट येशूमा भएको मन जस्तै एक-अर्काप्रति एकताको मन दिऊन्, ताकि तिमीहरू एकै मन र एकै सोरमा हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता परमेश्‍वरको महिमा गर्न सक। जसरी ख्रीष्‍टले तिमीहरूलाई परमेश्‍वरको प्रशंसाको निम्ति ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर। म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको सत्यताका लागि ख्रीष्‍ट यहूदीहरूको सेवा गर्न आउनुभयो, ताकि हाम्रा पूर्वजहरूलाई दिइएको प्रतिज्ञा निश्‍चित हुन सकोस्, र गैरयहूदीहरूले परमेश्‍वरको कृपाको लागि उहाँको महिमा गरून् भनेर, यसरी लेखिएको छ: “यसकारण म गैरयहूदीहरूबीच तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नाउँको प्रशंसा गाउनेछु।” फेरि यसो भनिएको छ, “तिमी गैरयहूदीहरू, उहाँको प्रजासँग आनन्द गर।” अनि फेरि, “प्रभुको स्तुति गर, हे सबै गैरयहूदीहरूहो, र पृथ्वीका सबै जातिहरूहो, उहाँको प्रशंसा गर।” अनि फेरि, यशैयाले भन्दछन्, “यिशैको वंशज जरा प्रकट हुनुहुनेछ, जो सब राष्ट्रहरूमाथि शासन गर्न खडा हुनुहुनेछ; अनि उहाँमाथि गैरयहूदीहरूले आशा गर्नेछन्।” उहाँमाथि विश्‍वास गरेको कारणले आशाका परमेश्‍वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदिनुभएको होस्, ताकि पवित्र आत्माको शक्‍तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक। मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, म स्वयम् विश्‍वस्त छु, कि तिमीहरू भलाइमा पूर्ण, सबै ज्ञानले भरिएका, र एक-अर्कालाई शिक्षा दिन निपूर्ण छौ। तरै पनि मैले तिमीहरूलाई केही विषयमा साहसपूर्वक फेरि स्मरण गराउन लेखेको छु, किनभने प्रभुले मलाई अनुग्रह दिनुभएको छ, कि म गैरयहूदीहरूका लागि ख्रीष्‍ट येशूको सेवक हुन सकौं। उहाँले मलाई परमेश्‍वरको सुसमाचार घोषणा गर्ने पूजाहारीको काम दिनुभएको छ, ताकि गैरयहूदीहरू पवित्र आत्माद्वारा शुद्ध पारिएका ग्रहणयोग्य भेटी हुन सकून्। यसकारण मेरा परमेश्‍वरप्रतिको सेवामा म ख्रीष्‍ट येशूमा गर्व गर्छु। मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्‍वरतर्फ आज्ञाकारी बनाउनलाई ख्रीष्‍टले मद्वारा जे गर्नुभएको छ, सोभन्दा बढी म अरू केही कुरा भन्‍ने आँट गर्दिनँ। चिन्हहरू र आश्‍चर्यपूर्ण कामहरूद्वारा, परमेश्‍वरका आत्माको शक्‍तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्‍लिरिकमसम्म मैले ख्रीष्‍टको सुसमाचार पूरा रूपमा प्रचार गरेको छु। सधैं मेरो उत्कट इच्छा यही रहेको छ, कि ख्रीष्‍ट नचिनिएको ठाउँमा म सुसमाचार प्रचार गर्न सकूँ, ताकि कसैले बसालेको जगमा मैले काम गर्नु नपरोस्। बरु यस्तो लेखिएको छ: “जसलाई उहाँको बारेमा बताइएन, उनीहरूले नै उहाँलाई देख्नेछन्, अनि जसले सुनेका छैनन्, तिनीहरूले नै बुझ्नेछन्।” यही सेवाकाइको कारण तिमीहरूकहाँ आउनलाई म प्रायः रोकिएको छु। तर अहिले मेरो लागि यी क्षेत्रहरूमा काम गर्ने अरू ठाउँ नरहेको र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने उत्कट इच्छा भएको कारण, म स्पेन जाँदा तिमीहरूकहाँ आउने योजना गर्दैछु। तिमीहरूलाई भेट्ने आशा राखेको छु, र तिमीहरूसँग केही समय सङ्गतिको आनन्द लिएपछि, मेरो यात्रामा तिमीहरूको सहयोगको चाहना गर्दछु। तर अहिले म यरूशलेमतिर त्यहाँका प्रभुका जनहरूका सेवा गर्नलाई जाँदैछु। किनकि म्यासिडोनिया र अखैयाका विश्‍वासीहरूले यरूशलेममा भएका प्रभुका जनहरूमध्ये आर्थिक रूपमा कमजोरहरूका निम्ति दान दिएका छन्। तिनीहरूलाई यसो गर्न खुशी लाग्यो र तिनीहरू यसका निम्ति उनीहरूका ऋणी छन्; किनकि यदि यहूदीहरूका आत्मिक आशिषमा गैरयहूदीहरू पनि सहभागी भएका छन् भने, गैरयहूदीहरूका भौतिक आशिषमा यहूदीहरूलाई पनि सहभागी गराउनुपर्छ। यो काम गरिसकेपछि र यो दान उनीहरूलाई सुम्पिसकेपछि, म स्पेन जानेछु र यात्रामै हुँदा तिमीहरूकहाँ आउनेछु। म जान्दछु, कि जब म त्यहाँ आउँछु, ख्रीष्‍टको आशिषको पूर्ण नापसहित आउनेछु। मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा म तिमीहरूलाई विन्ती गर्दछु, कि मेरो लागि परमेश्‍वरसँग प्रार्थनाद्वारा मेरो संघर्षमा सहभागी बन। यहूदियाका अविश्‍वासीहरूका बीचमा म सुरक्षित रहन सकूँ भनेर प्रार्थना गरिदेओ, र यरूशलेमको लागि मैले बोकेका योगदान त्यहाँका प्रभुका विश्‍वासीहरूको निम्ति स्वीकार्य होस्, ताकि म परमेश्‍वरको इच्छा भएमा तिमीहरूकहाँ आनन्दसाथ आउन सकूँ र तिमीहरूको उपस्थितिद्वारा ताजा हुन सकूँ। शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहिरहून्। आमेन!

रोमी 15 पढ्नुहोस्