रोमी 15:1-33
रोमी 15:1-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
विश्वासमा दह्रिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ। हामी प्रत्येकले आफ्नो छिमेकीको आत्मिक सुधार होस् भनेर तिनको भलाइको लागि तिनलाई प्रसन्न राखौं। किनकि ख्रीष्टले पनि आफैलाई प्रसन्न पार्नुभएन। जसो लेखिएको छ, “तपाईंलाई निन्दा गर्नेहरूको निन्दा ममाथि पर्यो।” अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएका थिए, यस उद्देश्यले कि पवित्र-शास्त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी आशा प्राप्त गर्न सकौं। स्थिरता र उत्साहका परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूसँग एक भएर एक-अर्कासँग एक चित्तका भई जिउन देऊन्, कि एकै मनका भएर एउटै सोरले हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको महिमा तिमीहरू गर्न सक। यसकारण परमेश्वरका महिमाको निम्ति ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभएबमोजिम तिमीहरूले पनि एउटाले अर्कालाई ग्रहण गर। म तिमीहरूलाई भन्दछु, हाम्रा पूर्वजहरूलाई दिइएका प्रतिज्ञाहरूको पुष्टि गर्नका निम्ति परमेश्वरको सत्यतालाई प्रकट गर्न ख्रीष्ट खतना भएकाहरूको दास बन्नुभयो, यस हेतुले कि अन्यजातिहरूले उहाँका कृपाको निम्ति परमेश्वरको महिमा गरून्। जस्तो लेखिएको छ, “यसैकारण अन्यजातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्तुति गाउनेछु।” र फेरि यस्तो भनिएको छ, “ए अन्यजाति हो, उहाँको प्रजासँग आनन्द मनाओ।” र फेरि, “ए सारा अन्यजाति हो, प्रभुको प्रशंसा गर, र सबै मानिसहरूले उहाँको प्रशंसा गरून्।” र फेरि यशैया भन्दछन्, “यिशैको वंशबाट एक जना आउनुहुनेछ, उहाँले अन्यजातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँमाथि अन्यजातिहरूले आशा राख्नेछन्।” आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक। भाइ हो, मलाई निश्चय छ, कि तिमीहरू आफै पनि भलाइले भरिएका छौ, र सारा ज्ञानमा पूर्ण भई एक-अर्कालाई शिक्षा दिन समर्थ छौ। तर परमेश्वरले मलाई दिनुभएको अनुग्रहको कारणले तिमीहरूलाई फेरि सम्झना गराउन मैले बड़ो साहस गरी कतिपय विषयमा लेखेको छु, यो अनुग्रह अन्यजातिहरूका निम्ति परमेश्वरका सुसमाचारको पूजाहारीले गर्नुपर्ने कर्तव्य पालन गर्नलाई मलाई दिइएको हो, ताकि अन्यजातिहरू पवित्र आत्माद्वारा शुद्ध भएर ग्रहणयोग्य बलि बन्न सकून्। यसकारण परमेश्वरको निम्ति मेरो सेवामा मलाई ख्रीष्ट येशूमा गर्व गर्ने कारण छ। किनभने, वचन र कामले अन्यजातिहरूलाई आज्ञाकारी बनाउनलाई ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, तीबाहेक कुनै विषयमा बोल्ने आँट म गर्दिनँ। यो काम चिन्हहरू र आश्चर्यकर्महरूको शक्तिले र पवित्र आत्माको शक्तिद्वारा मैले गरेको छु। यसरी मैले यरूशलेमदेखि लिएर इल्लुरिकनसम्मै चारैतिर ख्रीष्टको सुसमाचार सम्पूर्ण रूपले प्रचार गरेको छु। अरू मानिसले बसालेको जगमाथि घर नबनाऊँ भनेर ख्रीष्टको नाउँ नलिएको ठाउँमा सुसमाचार प्रचार गर्ने उत्कट इच्छा मैले राखेको छु, जस्तै यसो लेखिएको छ, “उहाँको विषयमा जसलाई कहिल्यै भनिएको छैन, तिनीहरूले उहाँलाई देख्नेछन्, र उहाँको विषयमा जसले कहिल्यै सुनेका छैनन् तिनीहरूले बुझ्नेछन्।” यसैकारण नै हो, म तिमीहरूकहाँ आउनलाई धेरै पल्ट रोकिएको छु। तर अब यी क्षेत्रहरूमा मेरो निम्ति काम गर्ने अरू ठाउँ नभएका हुनाले, र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने तृष्णा रहेकोले, म स्पेन जाँदा तिमीहरूलाई भेट्ने आशा राख्दछु, र तिमीहरूसँग केही समयसम्म सङ्गतिको आनन्द लिएपछि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा मदत दिनेछौ भन्ने आशा राख्तछु। तर अब सन्तहरूलाई सहायता पुर्याउन म यरूशलेमतिर जाँदैछु। किनकि यरूशलेममा हुने सन्तहरूमा जो गरीब छन्, तिनीहरूका निम्ति माकेडोनिया र अखैयाका मण्डलीहरूले केही भेटी दिएका छन्। यो भेटी यिनीहरूले खुशीसाथ जम्मा गरेका थिए, र साँच्चै नै यिनीहरू तिनीहरूका ऋणी पनि छन्। किनकि यदि अन्यजातिहरू तिनीहरूका आत्मिक आशिष्हरूमा सहभागी भएका छन् भने, यिनीहरूले पनि सांसारिक आशिष्हरूद्वारा तिनीहरूको सेवा गर्नुपर्छ। यसकारण यो काम सिद्धयाएर तिनीहरूका निम्ति उठेको यो चन्दा सुम्पिसकेपछि म तिमीहरूकहाँ भएर स्पेन जानेछु। र म जान्दछु, म तिमीहरूकहाँ आउँदा ख्रीष्टका आशिष्को परिपूर्णतामा आउनेछु। भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्ट र पवित्र आत्माको प्रेमद्वारा मेरो निम्ति परमेश्वरसँग प्रार्थना गर्न मसँग घोर प्रयत्न गर भनी म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि म यहूदियाका अविश्वासीहरूबाट मुक्त हुन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा सन्तहरूलाई ग्रहणयोग्य होस्, र परमेश्वरको इच्छाद्वारा आनन्दसँग तिमीहरूकहाँ आएर तिमीहरूसँगको सङ्गतिद्वारा म फेरि ताजा हुन सकूँ। शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहून्। आमेन।
रोमी 15:1-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामी विश्वासमा बलियो हुनेहरूले कमजोरहरूको कमजोरीलाई सहनुपर्छ। हामीले आफूखुसी मात्र गर्नुहुँदैन; तर अरूको पनि वास्ता गर्नुपर्छ। हामी हरेकले आफ्नो छिमेकीको भलाइ र विश्वासमा उन्नति होस् भनेर उनलाई खुसी पार्नुपर्छ किनभने ख्रीष्टले पनि आफूलाई खुसी पार्ने काम गर्नुभएन। त्यस्तै धर्मशास्त्रमा पनि लेखिएको छ, “तपाईंलाई हप्काउनेहरूका हप्की ममाथि परेका छन्।” धर्मशास्त्रमा लेखिएको कुराले हामीलाई शिक्षा दिन्छ। हाम्रो आशालाई बढाउन धर्मशास्त्रको कुराले हामीलाई सहने शक्ति र उत्साह दिन्छ। सहने शक्ति र उत्साह दिने परमेश्वरले नै तिमीहरूलाई येशू ख्रीष्टको चालमा चल्ने र एकै मनको हुने शक्ति देऊन्। यसरी तिमीहरू सबैबाट एकै मनको भएर एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टका पिता र परमेश्वरको जय-जयकार हुन सकोस्। परमेश्वरको सम्मान्को लागि ख्रीष्टले हामीलाई स्वागत गरेजस्तै तिमीहरूले पनि एक-अर्कालाई स्वागत गर किनभने म तिमीलाई भन्दछु, परमेश्वर सत्य हुनुहुन्छ र हाम्रा पिता-पुर्खालाई दिनुभएको प्रतिज्ञा पूरा गर्न कहिले पनि चुक्नुहुन्न। यही कुरो बुझाउन र अन्यजातिका मानिसहरूले पनि परमेश्वरको दयाको लागि उहाँलाई प्रशंसा गरून् भनेर ख्रीष्टले यहूदीहरूको सेवा गर्नुभयो। धर्मशास्त्रमा यसरी लेखिएको छ, “यसैकारण म अन्यजातिको माझमा तपाईंको प्रशंसा गर्नेछु अनि तपाईंकै नाउँको स्तुति गाउनेछु।” फेरि लेखिएको छ, “ए अन्यजातिका मानिसहरू हो, परमेश्वरले छान्नुभएको मानिसहरूसँग मिलेर रमाओ।” अनि फेरि भनिन्छ, “अन्यजातिका मानिसहरू हो, प्रभुकै प्रशंसा गर, सबै जातिजातिका मानिसहरू हो, प्रभुकै प्रशंसा गर।” फेरि अगमवक्ता यशैयाले पनि आउनुहुने ख्रीष्टको बारेमा यसो भनेका छन्, “दाऊद राजाको वंशमा एक जना सन्तान आउनेछन्, उनी अन्यजातिका मानिसमाथि राज गर्न राजा हुनेछन् अनि अन्यजातिका मानिसहरूले आफ्नो आशा उनैमा राख्नेछन्।” आशा दिने परमेश्वरमा तिमीहरूले विश्वास राखेका छौ। उहाँले नै तिमीहरूलाई आनन्द र शान्तिले भरिदेऊन्। त्यसै गरी पवित्र आत्माको शक्तिले तिमीहरूको आशा बढ्दै-बढ्दै जाओस्। मेरा दाजुभाइहरू, मलाई थाहा छ तिमीहरू सज्जन छौ। सबै प्रकारले ज्ञानी छौ र एक-अर्कालाई सिकाउने शक्ति पनि तिमीहरूमा छ। तैपनि यस पत्रमा तिमीहरूलाई कति कुराहरूको सम्झना गराउने साहस लिएर लेख्दै छु। कारण परमेश्वरले मलाई अनुग्रह दिनुभयो र मलाई ख्रीष्टको सेवक बनाउनुभएको छ। पुजाहारीले परमेश्वरको अघि मनपर्दो भेटी ल्याएजस्तै म पनि पुजाहारीको सेवा पूरा गर्दछु। अरूअरू जातिका मानिसहरूलाई परमेश्वरकहाँ ल्याउन र तिनीहरू पवित्र आत्माले चोखिएर परमेश्वरलाई मनपर्ने भेटी होस् भनी म परमेश्वरको सुसमाचार सुनाउँछु। त्यसो हुनाले येशू ख्रीष्टको साथमा भएर परमेश्वरको लागि गर्नुपर्ने मेरा काममा म घमण्ड गर्छु। ख्रीष्टले मेरो जीवनद्वारा गर्नुभएको कामको बारेमा मात्र बोल्ने आँट गर्छु। परमेश्वरलाई मान्न मैले अन्यजातिका मानिसहरूलाई मेरा काम र प्रचारबाट सिकाएको छु। आश्चर्यकर्म, शक्तिशाली चिन्ह र पवित्र आत्माको शक्तिले यरूशलेमदेखि इल्लुरिकन भन्ने देशसम्मको यात्रा गरेर मैले ख्रीष्टको बारेमा सम्पूर्णरूपले प्रचार गरेको छु। अरूले सुरु गरेको जगमा घर बनाएझैँ अरूले प्रचार गर्न थालेको ठाउँमा म प्रचार गर्न चाहन्नँ। ख्रीष्टलाई सुन्दै नसुनेको र अरूले प्रचारै नगरेको ठाउँमा मात्र सुसमाचार प्रचार गर्न मलाई मन लाग्छ। यसै गरी धर्मशास्त्रले पनि भन्छ, “उहाँका बारेमा नभनिएकाहरूले उहाँलाई देख्नेछन् अनि उहाँका बारेमा नसुनेकाहरूले उहाँलाई बुझ्नेछन्।” यसरी नयाँ-नयाँ ठाउँमा प्रचार गर्नुपरेकोले मलाई तिमीहरूकहाँ आउने फुर्सदै भएन। तर यी ठाउँहरूमा मैले प्रचारको काम सिध्याइसकेको छु। धेरै वर्षदेखि तिमीहरूलाई भेट्ने साह्रै इच्छा गरिरहेको थिएँ। म त्यही बाटो भएर स्पेन जाँदा तिमीहरूलाई भेट्ने आशा छ। केही समय तिमीहरूसँग बिताउने इच्छा पनि छ। त्यस बेला तिमीहरूबाट स्पेन देशसम्म जाने मद्दत पनि पाउँछु होला। तर यस पल्टचाहिँ यरूशलेममा ख्रीष्टका पवित्र जनहरूलाई सहायता पुर्याउन जाँदै छु किनभने अखैया र माकेडोनियामा भएका मण्डलीहरूले यरूशलेमका गरीब पवित्र जनहरूलाई पैसा पठाउन चाहेका छन्। तिनीहरू आफैँले सहायता दिने इच्छा गरेका हुन्। वास्तवमा ती गरीबहरूलाई सहायता गर्नुपर्ने पनि हो किनभने उनीहरूबाट नै अरू मानिसहरूले आत्माले दिनुभएको आशिष् पाए। त्यसै गरी अरूहरूले पनि उनीहरूको खाँचोमा उनीहरूलाई सहायता दिनुपर्ने हो। यसकारण तिनीहरूलाई पठाएको दान बुझाइदिएर स्पेन जानेछु अनि त्यतिखेरै तिमीहरूकहाँ पनि आउनेछु। जब म तिमीहरूकहाँ आउँछु, येशू ख्रीष्टले दिनुहुने आशिष्ले भरिपूर्ण भएर आउनेछु। दाजुभाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्ट र उहाँको आत्माले दिनुभएको प्रेमको कारणले मेरो कष्टमा सहायता गरून् भनी मेरो निम्ति परमेश्वरसँग जोड-तोडले प्रार्थना गरिदिनुहोला भनी म बिन्ती गर्दछु। यहूदामा भएका अविश्वासीहरूबाट मलाई जोगाउन अनि यरूशलेममा हुने मेरा काम ख्रीष्टका पवित्र जनहरूलाई मन पर्दो होस् भनेर पनि प्रार्थना गरिदेओ। परमेश्वरको इच्छा भए म खुसीसाथ तिमीहरूकहाँ आउनेछु र सँगै बसेर आनन्द मनाउँला। शान्ति दिनुहुने परमेश्वर तिमीहरू सबैसँग रहून्। आमेन।
रोमी 15:1-33 नेपाली समकालीन संस्करण (NCV)
हामी विश्वासमा बलियो हुनेहरूले दुर्बलहरूको असफलतालाई सहिदिनुपर्छ र आफूलाई मात्र प्रसन्न तुल्याउने हुनुहुन्न। हामी प्रत्येकले आफ्नो छिमेकीलाई उनीहरूको भलाइ र उन्नतिको निम्ति प्रसन्न राख्नुपर्छ। किनकि ख्रीष्ट आफैले पनि आफूलाई प्रसन्न तुल्याउन जिउनुभएन, तर यसरी लेखिएको छ: “तिमीहरूलाई निन्दा गर्नेहरूको निन्दा ममाथि खनिएको छ।” किनकि विगतमा जे लेखिएको थियो, त्यो हामीलाई शिक्षा दिनको निम्ति लेखिएको थियो, ताकि हामीले धर्मशास्त्रहरूमा सिकाइएको धैर्यता र प्रोत्साहनको कारणले आशा प्राप्त गर्न सकौं। धैर्यता र प्रोत्साहन दिनुहुने परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूमा भएको मन जस्तै एक-अर्काप्रति एकताको मन दिऊन्, ताकि तिमीहरू एकै मन र एकै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरको महिमा गर्न सक। जसरी ख्रीष्टले तिमीहरूलाई परमेश्वरको प्रशंसाको निम्ति ग्रहण गर्नुभयो, त्यसरी नै एक-अर्कालाई ग्रहण गर। म तिमीहरूलाई भन्दछु, परमेश्वरको सत्यताका लागि ख्रीष्ट यहूदीहरूको सेवा गर्न आउनुभयो, ताकि हाम्रा पूर्वजहरूलाई दिइएको प्रतिज्ञा निश्चित हुन सकोस्, र गैरयहूदीहरूले परमेश्वरको कृपाको लागि उहाँको महिमा गरून् भनेर, यसरी लेखिएको छ: “यसकारण म गैरयहूदीहरूबीच तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नाउँको प्रशंसा गाउनेछु।” फेरि यसो भनिएको छ, “तिमी गैरयहूदीहरू, उहाँको प्रजासँग आनन्द गर।” अनि फेरि, “प्रभुको स्तुति गर, हे सबै गैरयहूदीहरूहो, र पृथ्वीका सबै जातिहरूहो, उहाँको प्रशंसा गर।” अनि फेरि, यशैयाले भन्दछन्, “यिशैको वंशज जरा प्रकट हुनुहुनेछ, जो सब राष्ट्रहरूमाथि शासन गर्न खडा हुनुहुनेछ; अनि उहाँमाथि गैरयहूदीहरूले आशा गर्नेछन्।” उहाँमाथि विश्वास गरेको कारणले आशाका परमेश्वरले तिमीहरूलाई आनन्द र शान्तिले भरिदिनुभएको होस्, ताकि पवित्र आत्माको शक्तिद्वारा तिमीहरू आशामा प्रशस्त हुन सक। मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, म स्वयम् विश्वस्त छु, कि तिमीहरू भलाइमा पूर्ण, सबै ज्ञानले भरिएका, र एक-अर्कालाई शिक्षा दिन निपूर्ण छौ। तरै पनि मैले तिमीहरूलाई केही विषयमा साहसपूर्वक फेरि स्मरण गराउन लेखेको छु, किनभने प्रभुले मलाई अनुग्रह दिनुभएको छ, कि म गैरयहूदीहरूका लागि ख्रीष्ट येशूको सेवक हुन सकौं। उहाँले मलाई परमेश्वरको सुसमाचार घोषणा गर्ने पूजाहारीको काम दिनुभएको छ, ताकि गैरयहूदीहरू पवित्र आत्माद्वारा शुद्ध पारिएका ग्रहणयोग्य भेटी हुन सकून्। यसकारण मेरा परमेश्वरप्रतिको सेवामा म ख्रीष्ट येशूमा गर्व गर्छु। मैले भनेका वचन र गरेका कामद्वारा गैरयहूदीहरूलाई परमेश्वरतर्फ आज्ञाकारी बनाउनलाई ख्रीष्टले मद्वारा जे गर्नुभएको छ, सोभन्दा बढी म अरू केही कुरा भन्ने आँट गर्दिनँ। चिन्हहरू र आश्चर्यपूर्ण कामहरूद्वारा, परमेश्वरका आत्माको शक्तिद्वारा यी काम भए। यसकारण यरूशलेमदेखि इल्लिरिकमसम्म मैले ख्रीष्टको सुसमाचार पूरा रूपमा प्रचार गरेको छु। सधैं मेरो उत्कट इच्छा यही रहेको छ, कि ख्रीष्ट नचिनिएको ठाउँमा म सुसमाचार प्रचार गर्न सकूँ, ताकि कसैले बसालेको जगमा मैले काम गर्नु नपरोस्। बरु यस्तो लेखिएको छ: “जसलाई उहाँको बारेमा बताइएन, उनीहरूले नै उहाँलाई देख्नेछन्, अनि जसले सुनेका छैनन्, तिनीहरूले नै बुझ्नेछन्।” यही सेवाकाइको कारण तिमीहरूकहाँ आउनलाई म प्रायः रोकिएको छु। तर अहिले मेरो लागि यी क्षेत्रहरूमा काम गर्ने अरू ठाउँ नरहेको र धेरै वर्षदेखि तिमीहरूकहाँ आउने उत्कट इच्छा भएको कारण, म स्पेन जाँदा तिमीहरूकहाँ आउने योजना गर्दैछु। तिमीहरूलाई भेट्ने आशा राखेको छु, र तिमीहरूसँग केही समय सङ्गतिको आनन्द लिएपछि, मेरो यात्रामा तिमीहरूको सहयोगको चाहना गर्दछु। तर अहिले म यरूशलेमतिर त्यहाँका प्रभुका जनहरूका सेवा गर्नलाई जाँदैछु। किनकि म्यासिडोनिया र अखैयाका विश्वासीहरूले यरूशलेममा भएका प्रभुका जनहरूमध्ये आर्थिक रूपमा कमजोरहरूका निम्ति दान दिएका छन्। तिनीहरूलाई यसो गर्न खुशी लाग्यो र तिनीहरू यसका निम्ति उनीहरूका ऋणी छन्; किनकि यदि यहूदीहरूका आत्मिक आशिषमा गैरयहूदीहरू पनि सहभागी भएका छन् भने, गैरयहूदीहरूका भौतिक आशिषमा यहूदीहरूलाई पनि सहभागी गराउनुपर्छ। यो काम गरिसकेपछि र यो दान उनीहरूलाई सुम्पिसकेपछि, म स्पेन जानेछु र यात्रामै हुँदा तिमीहरूकहाँ आउनेछु। म जान्दछु, कि जब म त्यहाँ आउँछु, ख्रीष्टको आशिषको पूर्ण नापसहित आउनेछु। मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा र पवित्र आत्माको प्रेमद्वारा म तिमीहरूलाई विन्ती गर्दछु, कि मेरो लागि परमेश्वरसँग प्रार्थनाद्वारा मेरो संघर्षमा सहभागी बन। यहूदियाका अविश्वासीहरूका बीचमा म सुरक्षित रहन सकूँ भनेर प्रार्थना गरिदेओ, र यरूशलेमको लागि मैले बोकेका योगदान त्यहाँका प्रभुका विश्वासीहरूको निम्ति स्वीकार्य होस्, ताकि म परमेश्वरको इच्छा भएमा तिमीहरूकहाँ आनन्दसाथ आउन सकूँ र तिमीहरूको उपस्थितिद्वारा ताजा हुन सकूँ। शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहिरहून्। आमेन!
रोमी 15:1-33 पवित्र बाइबल (NERV)
हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैंलाई मात्रै खुशी तुल्याउन हुँदैन। तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ। ख्रीष्टले पनि आफू स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।” बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं। धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्। त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ। ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो। यसैले परमेश्वरको महिमाको निम्ति तिमीहरूले एक-अर्कोलाई स्वीकार गर्नुपर्छ। म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो। ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः “यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यवाद दिनेछु, म तिमीहरूको नामको स्तुति गाउनेछु।” धर्मशास्त्रले यसो पनि भन्छ, “तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।” अनि फेरि त्यसले भन्छः “तिमीहरू सबै गैर-यहूदीहरू! परमप्रभूको प्रशंसा गर। सबैले उहाँको प्रशंसा गर्नुपर्छ।” अनि यशैयाले भनेका छन्, “एकजना मानिस यस्सीका परिवारबाट आउने छन्। ती मानिसले अ-यहूदीहरूमाथि राज गर्नेछन्, अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।” तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ। मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भरिएका छौ। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौ। मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ। गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए। यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरें। गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु। अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ। जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैन ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिनँ। तर धर्मशास्त्रमा लेखिएको छः “मानिसहरू जसलाई उहाँको विषयमा भनिएको छैन, तिनीहरूले देख्नेछन्, मानिसहरू जसले उहाँको विषयमा सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।” यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु। अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारें अनि धेरै वर्षदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ। यसैले स्पेन जाँदा म तिमीहरूलाई भेट्ने आशा गर्छु। निश्चय, म स्पेन भएर जाँदाखेरि तिमीहरूलाई भेट्ने आशा गर्छु। केही बेर तिमीहरूका साथमा आनन्द मनाउने आशा गर्छु अनि त्यसपछि तिमीहरूले मेरो यात्रामा साथ दिन सक्छौ। अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु। यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्। म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउनु पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन प्रयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्। मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ। यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु। जब म तिमीहरूलाई भेट्न आउँछु म ख्रीष्टको सम्पूर्ण आशिषसितै आउँछु। दाज्यू-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु। प्रार्थना गर कि म यहूदियाका अविश्वासीहरूबाट जोगिन सकुँ। मैले उनीहरूका निम्ति लगेको सहयोगलाई यरूशलेममा परमेश्वरका मानिसहरूले सहर्ष स्वीकार गरून् भनेर पनि प्रार्थना गरिदेऊ। त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खुशीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु। परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन।