किनकि परमेश्वरका अदृश्य गुणहरू अर्थात् उहाँका अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका वस्तुहरूमा छर्लङ्गै देखिएका छन्। यसैले मानिसहरूलाई परमेश्वरको विषयमा जान्न नसकिने भन्ने कुनै किसिमको बहाना छैन। तिनीहरूले परमेश्वरलाई चिनेर पनि उहाँलाई परमेश्वरको रूपमा न महिमा दिए, न त धन्यवाद नै दिए। तर तिनीहरूको सोच व्यर्थ हुनगयो। तिनीहरूका मूर्ख हृदयहरू झन् अँध्यारा भए। तिनीहरूले आफू बुद्धिमान् छौँ भन्ने दाबी गरे तापनि मूर्ख नै बने। अविनाशी परमेश्वरलाई महिमा दिनुको साटो मरणशील मानिसजस्ता देखिने प्रतिमाहरू, चराचुरुङ्गी, जनावर र घस्रने जीवहरूका मूर्तिलाई महिमा दिए। यसकारण परमेश्वरले तिनीहरूका हृदयका खराब अभिलाषाहरूलाई यौन अशुद्धतामा छोडिदिनुभयो; ताकि तिनीहरूले एक-अर्कासँग आफ्ना शरीरमा अनादर गरून्। तिनीहरूले परमेश्वरको सत्यतालाई त्यागेर झूटसँग साटे, र सृष्टिकर्ताको सट्टामा, सृष्टि गरिएका वस्तुहरूको सेवा र आराधना गरे। सृष्टिकर्ता, जो सदासर्वदा प्रशंसाको योग्य हुनुहुन्छ, आमेन! यसैकारण परमेश्वरले तिनीहरूलाई शर्मलाग्दो कामवासनाका निम्ति छोडिदिनुभयो। तिनीहरूका स्त्रीहरूले पनि स्वभाविक शारीरिक सम्बन्धलाई अस्वभाविक सम्बन्धमा परिणत गरे। त्यसरी नै पुरुषहरूले पनि स्त्रीहरूसँगको स्वभाविक शारीरिक सम्बन्धलाई त्यागेर पुरुषहरूसँगै कामवासनाले जल्न लागे। पुरुषहरूले पुरुषहरूसँग निर्लज्ज शारीरिक सम्बन्ध राख्न लागे, र तिनीहरूले आफ्नो गल्तीको उचित दण्ड भोगे। यसरी तिनीहरूले परमेश्वरलाई स्वीकार गर्न उचित नठानेकाले परमेश्वरले पनि तिनीहरूलाई भ्रष्ट मन दिनुभयो; ताकि तिनीहरूले जुन काम गर्न नहुने हो त्यही गरून्। तिनीहरू हरेक प्रकारका दुष्टता, खराबी, लोभ, भ्रष्टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल र डाहले भरिएका छन्। तिनीहरू कुरा काट्ने, निन्दा गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, घमण्डी हुन्छन्; तिनीहरू दुष्ट काम गर्न नयाँ तरिकाहरू बनाउँछन्। तिनीहरू आफ्ना आमाबुबाका आज्ञापालन गर्दैनन्। तिनीहरू निर्बुद्धि, विश्वासघाती, निर्दयी र क्रूर हुन्छन्। यद्यपि यस्ता काम गर्नेहरू मृत्युका योग्य हुन्छन् भन्ने परमेश्वरका धार्मिक उर्दी तिनीहरूले जान्दछन् तापनि, तिनीहरू यस्ता काम गरिरहने मात्र होइन, तर यस्ता काम गर्नेहरूलाई समर्थन पनि गर्दछन्।
रोमी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 1:20-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू