त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति अनि भाषाबाट कसैले गन्न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखें। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्रहरू पहिरेका अनि हातमा खजूरका हाँगाहरू लिएका थिए। अनि तिनीहरू चर्को सोरमा कराए: “मुक्ति हाम्रा परमेश्वरको हो, जो सिंहासनमा बस्नुहुन्छ, अनि थुमाको पनि हो।” सबै स्वर्गदूतहरू सिंहासन, प्रधानहरू र चारओटा जीवित प्राणीहरूका वरिपरि उभिरहेका थिए। तिनीहरू सिंहासनको सामु घोप्टो परे, अनि यसो भन्दै परमेश्वरलाई आराधना गरे, “आमेन! हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदा-सर्वदा भइरहोस्, आमेन!” तब प्रधानहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्रहरू पहिरनेहरू को हुन् अनि कहाँबाट आएका हुन्?” तब मैले उत्तर दिएँ, “हजुर, तपाईं नै जान्नुहुन्छ।” अनि तिनले भने, “यी तिनीहरू हुन्, जो महा सङ्कष्टबाट निस्केर आएका छन्, तिनीहरूले आफ्ना वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। यसकारण “तिनीहरू परमेश्वरको सिंहासनको सामु छन् अनि तिनीहरू उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्; अनि सिंहासनमा बस्नुहुनेले आफ्नो उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ। ‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्; तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्। तिनीहरूलाई सूर्यको प्रचण्ड रापले,’ पोल्नेछैन। किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठाला हुनुहुनेछ; ‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्याउनुहुनेछ।’ ‘अनि परमेश्वरले आफैले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’”
प्रकाश 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 7:9-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू