प्रकाश 6
6
छापहरू
1थुमाले सातओटा छापहरूमध्ये पहिलो छाप खोल्नुभएको मैले देखें। तब ती चार जीवित प्राणीहरूमध्ये एउटाले गर्जनको सोरमा यसो भनिरहेको सुनें, “आऊ!” 2अनि त्यहाँ मैले मेरो सामु एउटा सेतो घोडा देखें! त्यसको सवारले एउटा धनु समातेको थियो, अनि उसलाई एउटा मुकुट दिइयो; अनि ऊ विजय गर्ने उद्देश्यले विजयीझैं निस्क्यो।
3जब थुमाले दोस्रो छाप खोल्नुभयो, तब मैले दोस्रो जीवित प्राणीले यसो भनिरहेको सुनें, “आऊ!” 4अनि अर्को उज्ज्वल रातो घोडा आयो। उसलाई एउटा ठूलो तरवार दिइयो। त्यसको सवारलाई संसारदेखि शान्ति उठाइलैजाने र एक-अर्का मानिसलाई मारून् भन्ने अख्तियार दिइयो।
5जब थुमाले तेस्रो छाप खोल्नुभयो, मैले तेस्रो जीवित प्राणीले यसो भनिरहेको सुनें, “आऊ!” मैले हेरें, अनि मेरो सामु एउटा कालो घोडा थियो! त्यसको सवारको हातमा एउटा तराजु थियो। 6तब ती चार जीवित प्राणीहरूमध्ये एउटा आवाजले यसो भनिरहेको मैले सुनें, “एक दिनको ज्याला#6:6 मूल भाषामा एक दिनार एक किलो गहुँ र एक दिनको ज्याला, तीन किलो जौ; तेल र दाखमद्यलाई हानि नगर्नू!”
7जब थुमाले चौथो छाप खोल्नुभयो, मैले चौथो जीवित प्राणीले यसो भनिरहेको सोर सुनें, “आऊ!” 8मैले हेरें, मेरो सामु एउटा हल्का हरियो रङ्गको घोडा थियो! त्यसको सवारलाई मृत्यु भन्ने नाउँ दिइएको थियो, र पातालचाहिँ त्यसको पछि-पछि लागेको थियो। तिनीहरूलाई संसारको चौथाइ भागलाई तरवारले, अनिकालले, रूढीले र संसारका जङ्गली जन्तुहरूले मार्ने शक्ति दिइएको थियो।
9जब थुमाले पाँचौं छाप खोल्नुभयो, तब मैले वेदीको मुनि तिनीहरूका आत्माहरूलाई देखें, जो परमेश्वरको वचनको कारण र आफ्नो साक्षी कायम राखेको कारण मारिएका थिए। 10तिनीहरूले जोडसित यसो भने, “हे सार्वभौम, पवित्र र सत्य परमेश्वर, तपाईंले कहिलेसम्म संसारका बासिन्दाहरूमाथि न्याय गरेर हाम्रा रगतको बदला लिनुहुन्न र?” 11तब ती प्रत्येकलाई पाउसम्म लामो सेतो वस्त्र दिइयो; अनि तिनीहरूका सङ्गी-सेवकहरू र दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूझैं मारिएर संख्यामा पूरा नभएसम्म केही समय पर्खिनू भनी तिनीहरूलाई भनियो।
12थुमाले छैटौं छाप खोल्नुभएको मैले हेरें। तब एउटा ठूलो भुइँचालो गयो। सूर्यचाहिँ बाख्राको रौँले बनिएको भाङ्ग्राझैं कालो भयो; अनि सम्पूर्ण चन्द्रमा रगतजस्तो रातो भयो, 13अनि आकाशका ताराहरूचाहिँ नपाकेका अञ्जीरहरू हावाले हल्लाइँदा झरेझैं पृथ्वीमा झरे। 14आकाशचाहिँ पत्रको मूठाझैं बेह्रिएर गयो; अनि प्रत्येक पहाड र टापूचाहिँ आफ्नो ठाउँबाट हटिगए।
15तब संसारका राजाहरू, राजकुमारहरू, सेनापतिहरू, धनीहरू, पराक्रमीहरू, प्रत्येक सेवक र स्वतन्त्र व्यक्ति, ओडार, चट्टान र पहाडहुँदो लुके। 16तिनीहरूले पहाड र चट्टानहरूलाई भने, “हामीमाथि खस र हामीलाई सिंहासनमाथि बस्नुहुनेको अनुहारदेखि र थुमाको क्रोधदेखि लुकाइदेओ!#6:16 होशे 10:8 17किनकि उहाँहरूको क्रोधको महा दिन आइपुगेको छ, अनि यसको सामना कसले गर्न सक्ला र?”
अहिले सेलेक्ट गरिएको:
प्रकाश 6: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.