प्रकाश 3
3
सार्डिसमा भएको मण्डलीलाई
1“सार्डिसमा भएको मण्डलीका दूतलाई लेख:
यी उहाँका वचनहरू हुन्, जसले परमेश्वरका सात आत्माहरू र सात ताराहरू पक्रनुभएको छ।
मलाई तिम्रो काम थाहा छ; तिमी जीवित भनेर कहलिएका छौ, तर तिमी मरेका छौ। 2जागा होऊ, र मर्नै लागेका बाँकी कुराहरूलाई बलियो बनाओ; किनकि मैले मेरा परमेश्वरको सामु तिम्रा कामहरू अधुरो पाएको छु। 3यसकारण तिमीले जे पाएका अनि सुनेका छौ, त्यो स्मरण गर; त्यसलाई पालन गर, र पश्चात्ताप गर। तर तिमी जागेनौ भने म चोरझैं आउनेछु, अनि म तिमीकहाँ कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ। 4तैपनि सार्डिसमा केही यस्ता मानिसहरू छन्, जसले आफ्ना वस्त्रहरू बिटुलो पारेका छैनन्। तिनीहरू मसित सेता वस्त्रहरू पहिरेर हिँड्नेछन्, किनकि तिनीहरू योग्यका छन्। 5जसले विजय हासिल गर्दछ, उसलाई तिनीहरूलाई झैं, सेतो वस्त्र पहिराइनेछ। म तिनीहरूका नाउँ जीवनको पुस्तकबाट कहिल्यै मेट्नेछैनँ, तर मेरा पिता अनि उहाँका दूतहरूको अघि स्वीकार गर्नेछु। 6जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।
फिलाडेल्फियामा भएको मण्डलीलाई
7“फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेख:
यी उहाँका वचनहरू हुन्, जो पवित्र र सत्य हुनुहुन्छ, जससित दाविदको साँचो छ। उहाँले जे खोल्नुहुन्छ, त्यो कसैले बन्द गर्न सक्दैन र उहाँले जे बन्द गर्नुहुन्छ, त्यो कसैले खोल्न सक्दैन।
8मलाई तिम्रो कामहरू थाहा छ। हेर, मैले तिम्रो अगाडि एउटा खुला ढोका राखेको छु, जसलाई कसैले बन्द गर्न सक्दैन। तिमीसित थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ। 9म ती शैतानका सभाकाहरूलाई, जो यहूदीहरू होइनन्, तर आफूलाई यहूदीहरू हौं भनेर झूट बोल्नेहरूलाई म तिमीहरूको पाउमा दण्डवत् गर्न, र मैले तिमीलाई प्रेम गरेको छु भनेर स्वीकार गर्न लगाउनेछु। 10तिमीले धैर्यसाथ सहेर मेरा आज्ञा पालन गरेको हुनाले, म पनि तिमीलाई त्यस परीक्षाको समयबाट बचाउनेछु, जुन संसारका सबै बासिन्दाहरूको परीक्षा लिन सारा पृथ्वीमाथि आउँदैछ। 11हेर, म चाँडै आउनेछु। तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख, ताकि तिम्रो मुकुट कसैले लैजान नपाओस्। 12जसले विजय हासिल गर्दछ, म मेरा पिताको मन्दिरमा एउटा खाँबो बनाउनेछु। उसले यसलाई कहिल्यै छोड्नेछैन। म उसमाथि मेरा परमेश्वरको नाउँ, मेरा परमेश्वरको स्वर्गबाट आइरहेको नयाँ शहर यरूशलेमको नाउँ लेखिदिनेछु; अनि म उसमाथि मेरो नयाँ नाउँ पनि लेखिदिनेछु। 13जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।
लाउडिकियामा भएको मण्डलीलाई
14“लाउडिकियामा भएको मण्डलीका दूतलाई लेख:
यी वचनहरू आमेनका हुन्, जो विश्वासयोग्य अनि सत्य साक्षी, अनि परमेश्वरको सृष्टिका शासक हुनुहुन्छ।
15मलाई तिम्रा कामहरू थाहा छ, तिमी न चिसा न ता ताता छौ। तिमी चिसो अथवा ताता भएका भए त हुनेथियो। 16यसकारण तिमी न ताता न ता चिसो; मनताता भएकोले म तिमीलाई मेरो मुखबाट उकेल्न आँटेको छु। 17तिमी भन्छौ, ‘म धनी छु; मैले धेरै धन कमाएको छु, र मलाई कुनै थोकको खाँचो छैन।’ तर तिमीले यो थाहा गरेका छैनौ, कि तिमी गएगुज्रेको, दयनीय, गरिब, दृष्टिविहीन र नाङ्गा छौ। 18म तिमीलाई सल्लाह दिन्छु, कि मबाट आगोमा खारेको सुन किन; र धनी बन, अनि आफ्नो लाजमर्दो नग्नता ढाक्नलाई सेतो वस्त्र किन, र लगाऊ; अनि आँखामा लाउने गाजल किन, ताकि तिमीले देख्न सक। 19जसलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु, अनि अनुशासन गर्छु। यसकारण उत्साहित होओ र पश्चात्ताप गर। 20म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने, म त्यसकहाँ भित्र आउनेछु अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ। 21जसले विजय हासिल गर्दछ, म उसलाई मसित मेरो सिंहासनमा बस्ने अधिकार दिनेछु, जसरी मैले पनि जितें अनि मेरो पिताको सिंहासनमा बसेको छु। 22जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ।”
अहिले सेलेक्ट गरिएको:
प्रकाश 3: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.