प्रकाश 12
12
स्त्री र विशाल अजिङ्गर
1एउटा ठूलो अनि अचम्मको चिन्ह स्वर्गमा देखियो: सूर्य ओढेकी, अनि पाउमुनि चन्द्र भएकी र शिरमाथि बाह्रओटा ताराहरूको मुकुट लगाएकी एउटी स्त्री देखा परिन्। 2उनी गर्भवती थिइन्, अनि सुत्केरी व्यथाको पीडाले गर्दा चिच्याइरहेकी थिइन्। 3तब स्वर्गमा अर्को चिन्ह देखा पर्यो: सात शिरहरू र दश सिङहरू भएको अनि शिरहरूमा सातओटा मुकुटहरू भएको एउटा विशाल रातो अजिङ्गर#12:3 त्यो पखेटा भएको विशाल सर्प थियो र मुखबाट आगो निकाल्थ्यो देखा पर्यो। 4त्यसको पुच्छरले आकाशका ताराहरूको तेस्रो भागलाई सोहोरेर पृथ्वीमा फाल्यो; अनि बच्चा जन्माउन लागेकी स्त्रीले बालक जन्माउनसाथ त्यसलाई खाइहाल्न भनेर त्यो अजिङ्गर त्यस स्त्रीको सामु उभियो। 5ती स्त्रीले एउटा छोरोलाई जन्म दिइन्, “जसले राष्ट्रहरूलाई फलामको राजदण्डले शासन गर्नेछ।”#12:5 भजन 2:9 अनि तुरुन्तै तिनको बालक परमेश्वरकहाँ अनि उहाँको सिंहासन भएको ठाउँमा खोसेर लगियो। 6तब ती स्त्री परमेश्वरले एक हजार दुई सय साठी दिनसम्म तिनको हेरचाहको लागि तयार पारेर राखिदिनुभएको ठाउँ उजाडस्थानतिर भागिन्।
7अनि स्वर्गमा लडाइँ सुरु भयो। माइकल अनि तिनका दूतहरूले त्यस अजिङ्गरसित लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि तिनीहरूसँग लडाइँ गरे। 8तर त्यो अजिङ्गर त्यति बलियो थिएन; त्यसैले तिनीहरूले स्वर्गका आफ्ना ठाउँहरू हारे। 9त्यो विशाल अजिङ्गर तल फ्याँकियो। त्यो प्राचीन सर्प जसलाई दियाबलस वा शैतान पनि भनिन्छ, जसले सारा पृथ्वीलाई बहकाउँछ। त्यो अनि त्यसका दूतहरू त्योसँगै पृथ्वीमा फ्याँकिए।
10तब मैले स्वर्गमा यसो भनेको ठूलो आवाज सुनें:
“अब हाम्रो परमेश्वरको मुक्ति र शक्ति
अनि राज्य
अनि उहाँका ख्रीष्टको अख्तियार आएका छन्।
किनकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई दोष लगाउने,
जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँछ,
त्यो तल फ्याँकिएको छ।
11तिनीहरूले त्यसलाई थुमाको रगतले
अनि तिनीहरूका साक्षीको वचनले जितेका छन्;
तिनीहरूले मृत्युसम्मै पनि
आफ्ना जीवनलाई प्रेम गरेनन्।
12यसकारण हे स्वर्गहरू
र स्वर्गहरूमा बस्नेहरूहो, तिमीहरू रमाओ!
तर पृथ्वी र समुद्रलाई धिक्कार!
किनकि आफ्नो समय छोटो छ भन्ने थाहा पाएर
दियाबलस ठूलो क्रोधसित
तिमीहरूकहाँ तल आएको छ!”
13जब त्यस अजिङ्गरले आफूलाई पृथ्वीमा फालिएको देख्यो, तब त्यसले छोरा जन्माउने त्यस स्त्रीलाई खेद्न थाल्यो। 14ती स्त्रीलाई गरुडका दुई पखेटाहरू दिइयो, ताकि तिनी उजाडस्थानमा उडेर जान सकोस्, जहाँ एक काल, दुई काल र आधा कालसम्मका#12:14 यहाँ भनिएको कालले पद 6 मा भनिएको एक हजार दुई सय साठी दिनहरूलाई जनाउँछ, जुन चन्द्र पात्रोका अनुसार साढे तीन वर्ष हुन्छ लागि त्यस सर्पको पहुँचबाट बाहिर उनको हेरचाह होस् भनेर तयार पारिएको थियो। 15तब ती स्त्रीलाई बाढीले बगाओस् भनेर त्यस सर्पले स्त्रीको पछि आफ्नो मुखबाट नदीझैं पानी निकाल्यो। 16तर ती स्त्रीलाई सहायता गर्न पृथ्वीले आफ्नो मुख उघारेर त्यस अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदीलाई निलिदियो। 17तर त्यो अजिङ्गर स्त्रीसित क्रोधित भयो, र उनका अरू सन्तानहरू जसले परमेश्वरका आज्ञाहरू पालन गर्छन् अनि येशूको साक्षी दिन्छन्, तिनीहरूसित लडाइँ गर्न गयो। अनि त्यो अजिङ्गर समुद्रको किनारमा उभियो।
अहिले सेलेक्ट गरिएको:
प्रकाश 12: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.