प्रकाश 11
11
दुई साक्षीहरू
1मलाई एउटा नाप्ने लट्ठीजस्तो निगालो दिइयो; अनि भनियो, “जाऊ अनि परमेश्वरको मन्दिर र वेदीलाई नाप, र त्यहाँ आराधना गर्नेहरूलाई गन्ती गर। 2तर मन्दिरबाहिर रहेको चोकलाई चाहिँ ननाप; किनकि यो त गैरयहूदीहरूलाई दिइएको छ। तिनीहरूले पवित्र शहरलाई बयालीस महिनासम्म कुल्चनेछन्। 3अनि म मेरा दुईजना साक्षीहरूलाई शक्ति दिनेछु, अनि तिनीहरूले भाङ्ग्राको वस्त्र लाएर एक हजार दुई सय साठी दिनसम्म अगमवाणी बोल्नेछन्।” 4यिनीहरू “ती दुई जैतुनका रूखहरू” अनि दुई सामदानहरू हुन्, “जो पृथ्वीका प्रभुका सामु उभिन्छन्।”#11:4 हे. जक 4:3, 11, 14 5यदि कसैले अगमवक्ताहरूलाई हानि गर्ने कोसिस गर्दछ भने, तिनीहरूका मुखबाट आगो निस्केर ती शत्रुहरूलाई भस्म पारिदिनेछ। यसरी नै तिनीहरूलाई हानि गर्ने चेष्टा गर्नेहरू मर्नुपर्नेछ। 6यी अगमवक्ताहरूले अगमवाणी गरेका दिनहरूमा पानी नपरोस् भनेर आकाशलाई थुन्ने शक्ति हुनेछ; अनि पानीलाई रगतमा परिणत गर्ने तथा तिनीहरूले चाहेअनुसार पृथ्वीमा हरेक किसिमका रूढीले प्रहार गर्ने शक्ति हुनेछ।
7अब तिनीहरूले अगमवाणी#11:7 मूल भाषामा गवाही गरिसकेपछि अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूलाई आक्रमण गरी वशमा ल्याएर मार्नेछ। 8तिनीहरूका शरीरहरू त्यस महान् शहरको सडकमा त्यसै छोडिएका हुनेछन्, जसलाई दृष्टान्तको रूपमा सदोम र इजिप्ट देश भनिन्छ, जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो। 9साढे तीन दिनसम्म प्रत्येक जाति, कुल, भाषा र राष्ट्रबाट आएका मानिसहरूले तिनीहरूका शरीरलाई हेर्नेछन्, अनि गाड्न दिनेछैनन्। 10पृथ्वीका बासिन्दाहरूले तिनीहरूलाई रमिता मानेर हेर्नेछन्, अनि एक-अर्कालाई उपहार लेनदेन गर्दै खुशीयाली मनाउनेछन्; किनकि यी दुई अगमवक्ताहरूले ती पृथ्वीवासीहरूलाई यातना दिएका थिए।
11तर साढे तीन दिनपछि परमेश्वरबाट जीवनको सास#11:11 हे. इज 37:5, 14 तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना पाउमा उभिए, अनि तिनीहरूलाई देख्नेहरू डरले आतङ्कित भए। 12तब तिनीहरूले स्वर्गबाट ती दुईलाई यसो भन्दै गरेको एउटा चर्को स्वर सुने, “यहाँ माथि आओ।” अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै ती दुई बादलमा स्वर्गतिर उठाइए।
13ठीक त्यही समयमा एउटा ठूलो भुइँचालो गयो, अनि त्यस शहरको दशौं भाग ढल्यो। सात हजार मानिसहरू भुँइचालोमा मारिए, अनि बाँचेकाहरू भयभीत भए, र स्वर्गका परमेश्वरलाई महिमा दिए।
14दोस्रो आतङ्क बित्यो; तेस्रो आतङ्क चाँडै आउँदैछ।
सातौं तुरही
15जब सातौं स्वर्गदूतले आफ्नो तुरही फुके, तब स्वर्गमा चर्का आवाजहरूले यसो भने:
“संसारको राज्य
हाम्रा प्रभुको र उहाँका ख्रीष्टको राज्य भएको छ,
अनि उहाँले सदा-सर्वदा राज्य गर्नुहुनेछ।”
16अनि परमेश्वरको अगाडि आ-आफ्ना सिंहासनहरूमा बस्ने ती चौबीस प्रधानहरूले घोप्टो परी परमेश्वरलाई आराधना गर्दै 17यसो भने:
“हे सर्वशक्तिमान परमप्रभु परमेश्वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं,
जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो,
किनकि तपाईंले आफ्नो महान् शक्ति लिनुभएको छ,
र राज्य गर्न थाल्नुभएको छ।
18राष्ट्रहरू क्रोधित भएका थिए,
अनि तपाईंको क्रोध आइपुगेको छ।
मरेकाहरूको न्याय हुने बेला आएको छ,
अनि तपाईंका सेवक अगमवक्ताहरू,
तपाईंका सन्तहरू र तिनीहरू जसले तपाईंको नाउँको डर मान्छन्,
ठूला र सानाहरू दुवैलाई इनाम दिने बेला आएको छ;
अनि पृथ्वीलाई नाश गर्नेहरूलाई नष्ट गर्ने समय आएको छ।”
19तब स्वर्गमा भएको परमेश्वरको मन्दिर खोलियो; र त्यस मन्दिरभित्र करारको सन्दुक देखियो। अनि त्यहाँ बिजुलीका चमकहरू, मेघ गर्जन र गडगडाहटका आवाजहरू आए, अनि भुइँचालो गयो र ठूला-ठूला असिनाहरू परे।
अहिले सेलेक्ट गरिएको:
प्रकाश 11: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.