हे परमेश्वर, तपाईं मौन नरहनुहोस्; हे परमेश्वर, आफ्नो कान नथुन्नुहोस्; तपाईं निष्क्रिय नहुनुहोस्! हेर्नुहोस्, तपाईंका शत्रुहरूले कस्तो हुङ्कार गरेका छन्, तपाईंलाई घृणा गर्नेहरूले कसरी शिर ठाडो पारेका छन्। तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्यन्त्र रच्तछन्; तिनीहरू तपाईंले अनमोल ठान्नुभएकाहरूको विरुद्धमा मतो गर्छन्। तिनीहरू भन्छन्, “आओ, हामी तिनीहरूको राष्ट्रलाई ध्वंस पारौँ; ताकि इस्राएल भन्ने नामको सम्झना नै नरहोस्!” तिनीहरू एकमत भएर षड्यन्त्र रच्दछन्; तिनीहरू तपाईंको विरुद्ध गठबन्धन गर्दछन्— एदोमीहरू र इश्माएलीहरूका पालहरू, मोआबीहरू र हग्रीहरू, गबालीहरू, अम्मोनीहरू र अमालेकीहरू, पलिश्तीहरू र टायरका निवासीहरू। लोतका सन्तानलाई सशक्त पार्न, अश्शूर पनि तिनीहरूसँग मिलेको छ। सेला मिद्यानीहरूलाई गर्नुभएझैँ तिनीहरूलाई पनि गर्नुहोस्, कीशोन खोलामा सीसरा र याबीनलाई गरेझैँ गर्नुहोस्, जो एन्दोरमा नाश पारिएका थिए, र जमिनमा फोहोर भएका थिए। तिनीहरूका भारदारहरूलाई ओरेब र जीबझैँ, राजकुमारहरूलाई जेबह र सल्मुन्नाजस्तै बनाउनुहोस्; जसले भने, “हामी परमेश्वरका खर्कलाई कब्जा गरौँ।” हे मेरा परमेश्वर, तिनीहरूलाई भुमरीमा परेको धुलोझैँ, बतासले उडाएको भुसझैँ तुल्याउनुहोस्! जसरी आगोले जङ्गल भस्म पार्छ, र ज्वालाले पहाड जलाउँछ, त्यसरी नै तिनीहरूलाई तपाईंको प्रचण्ड आँधीले खेद्नुहोस् र आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्! तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस्; ताकि हे याहवेह, तिनीहरूले तपाईंको नामको खोजी गरून्। तिनीहरू सधैँ शर्ममा परून्, र भयभीत होऊन्; तिनीहरू अपमानमा नष्ट होऊन्। तिनीहरूले जानून्, कि तपाईं जसको नाम याहवेह हो— तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्च परमेश्वर हुनुहुन्छ।
भजनसंग्रह 83 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 83:1-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू