YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 83:1-18

भजनसंग्रह 83:1-18 सरल नेपाली

हे परमेश्‍वर, तपाईं मौन नरहनुहोस्, चुप नबस्‍नुहोस्! निष्‍क्रिय नहुनुहोस्, हे परमेश्‍वर! हेर्नुहोस्! तपाईंका शत्रुहरूले विद्रोह गरेका छन् र तपाईंलाई घृणा गर्नेहरूले विरोध गर्दछन्। तपाईंका प्रजाको विरुद्धमा तिनीहरूले लुकेर जाल रच्‍दै छन्, तपाईंका रक्षा पाएकाहरूका विरुद्धमा जाल गर्दै छन्। तिनीहरू भन्‍छन्, “आओ, हामी तिनीहरूको देश नष्‍ट गरिदेऔं र इस्राएललाई सधैँको लागि सबैले बिर्सनेछन्।” तिनीहरू आफ्‍ना युक्तिमा एक मत हुन्‍छन् र तपाईंको विरुद्धमा एकमत भएर खडा हुन्‍छन्। एदोमका मानिसहरू र इश्‍माएलीहरू, मोआबका मानिसहरू र हग्रीहरू, गबाली, अम्‍मोनी, अमालेकी, पलिश्‍ती र टुरोसका मानिसहरू, एक भएर खडा भएका छन्। लोतका सन्‍तानहरूलाई सहायता दिनलाई अम्‍मोनी र मोआबी मित्र राष्‍ट्रको जतिकै बलियो अश्‍शूर पनि तिनीहरूसँग मिलेको छ। तपाईंले कीशोन खोलामा सीसरा र याबीनलाई जसो गर्नुभएको थियो, त्‍यस्‍तै मिद्यानीहरूलाई गर्नुहोस्। एन्‍दोरमा तिनीहरूको हार गराइदिनुभयो, र जमिनमा तिनीहरूको लाश सडिरह्‌यो। ओरेब र जएबसँग जसो गर्नुभयो, तिनीहरूका अगुवाहरूसँग त्‍यस्‍तै गर्नुहोस्। जेबह र सल्‍मुन्‍नालाई जस्‍तै तिनीहरूका शासकहरूको हार गराउनुहोस्। तिनीहरूले “परमेश्‍वरको जमिन हाम्रो बनाउनेछौं,” भनेका थिए। हे परमेश्‍वर, धुलोझैँ, हावाले उडाएका परालझैँ तिनीहरूलाई छरपष्‍ट पार्नुहोस्। जङ्गल आगोले डढाएझैँ, पहाडमा आगो सल्‍केझैँ, आँधी र डरलाग्‍दो हुरीले तिनीहरूलाई थरथरी पारेर खेद्‌नुहोस्, हे परमप्रभु, तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस् र तिनीहरूलाई तपाईंको शक्ति स्‍वीकार गर्न लगाउनुहोस्। तिनीहरू सदाकालका लागि हारून् र डराऊन्, तिनीहरू पूरा बदनामका साथ मरून्। तिनीहरूले तपाईं मात्र परमप्रभु, सारा पृथ्‍वीका सर्वोच्‍च शासक हुनुहुन्‍छ भनी जानून्।

भजनसंग्रह 83 पढ्नुहोस्