हे मेरा मानिसहरू हो, मेरा शिक्षातिर ध्यान दिएर सुन; मेरा मुखका वचनहरूतिर ध्यान लगाओ। म मेरो मुख दृष्टान्तमा बोल्नलाई खोल्नेछु; म प्राचीनका कुराहरूबाट गुप्त कुराहरू भन्नेछु— हामीले ती कुराहरू सुनेका र जानेका छौँ, जुन कुरा हाम्रा पितापुर्खाहरूले हामीलाई बताएका छन्। हामी ती कुराहरूलाई तिनीहरूका छोराछोरीहरूबाट लुकाउनेछैनौँ; हामी आउने पुस्तालाई याहवेहका प्रशंसायोग्य कामहरू, उहाँको शक्ति र उहाँले गर्नुभएका अद्भुत कार्यहरूको बारेमा वर्णन गर्नेछौँ। उहाँले याकोबको निम्ति विधि-विधानहरू कायम गर्नुभयो, र इस्राएलमा व्यवस्था स्थापित गर्नुभयो; यी कुराहरू आफ्ना छोराछोरीहरूलाई सिकाउनु भनेर उहाँले हाम्रा पितापुर्खाहरूलाई आज्ञा दिनुभयो; ताकि यी कुराहरू आउँदा पुस्ताले जानून्, यी कुराहरू नजन्मेका शिशुहरूले पनि जानून्, र यी कुराहरू तिनीहरूले पनि आफ्ना छोराछोरीहरूलाई भनून्। तब तिनीहरूले परमेश्वरमा आफ्ना भरोसा राख्नेछन्, र उहाँका कामहरू तिनीहरूले बिर्सने छैनन्; तर तिनीहरूले उहाँका आज्ञाहरू पालन गर्नेछन्। तिनीहरू आफ्ना पितापुर्खाहरू जस्तै अटेरी र विद्रोही पुस्ता हुनेछैनन्; तिनीहरूका हृदय परमेश्वरप्रति वफादार थिएनन्, तिनीहरूका आत्मा परमेश्वरप्रति विश्वासयोग्य थिएनन्। एफ्राइमका मानिसहरू धनुकाँडले सुसज्जित भए तापनि लडाइँको दिनमा तिनीहरू पिठिउँ फर्काएर पछि भागे; तिनीहरूले परमेश्वरका करार पालन गरेनन्, र उहाँका व्यवस्थाअनुसार चल्न अस्वीकार गरे। परमेश्वरले गर्नुभएका कामहरू, उहाँले तिनीहरूलाई देखाउनुभएको अद्भुत कार्यहरू, तिनीहरूले बिर्से। उहाँले तिनीहरूका पितापुर्खाहरूका अगि, इजिप्ट देश र सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो। उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र यसबाट तिनीहरूलाई पारि डोर्याउनुभयो; उहाँले पानीलाई पर्खालझैँ खडा गर्नुभयो। उहाँले तिनीहरूलाई दिनमा बादलले र रातभरि आगोको उज्यालोले अगुवाइ गर्नुभयो। उहाँले मरुभूमिमा चट्टानलाई दुई भाग पार्नुभयो, र सागरको पानीजस्तै गरी प्रशस्त पानी तिनीहरूलाई दिनुभयो; उहाँले चट्टाने भिरबाट पानीका धारा निकाल्नुभयो, र पानीलाई बेँसीतिर नदीजस्तै बगाउनुभयो। तर सर्वोच्च परमेश्वरको विरुद्धमा मरुभूमिमा विद्रोही भएर, तिनीहरू उहाँको विरुद्धमा निरन्तर पापमा लागिरहे। तिनीहरूले असाध्यै खानेकुराको माग गरेर जानी-जानी परमेश्वरको परीक्षा गरे। तिनीहरूले यसो भन्दै परमेश्वरको निन्दा गरे: “के परमेश्वरले हाम्रो निम्ति मरुभूमिमा भोजनको टेबुल तयार गर्न सक्नुहुन्छ र? हेर! उहाँले चट्टानलाई हिर्काउनुभयो, र पानी फुटेर निस्क्यो, पानीका धारा प्रशस्त गरी बगेर निस्क्यो; तर के उहाँले हामीलाई खानेकुरा पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ र?”
भजनसंग्रह 78 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 78:1-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू