YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:1-20

भजनसंग्रह 78:1-20 NNRV

हे मेरा प्रजा, मेरा शिक्षातिर कान लगाओ, मेरो मुखका वचनमाथि ध्‍यान देओ। म मेरो मुख दृष्‍टान्‍तमा खोल्‍नेछु, प्राचीनका भेदका कुराहरू सुनाउनेछु, ती जुन कुराहरू हामीले सुनेका र जानेका छौं, र जुन कुरा हाम्रा पिता-पुर्खाहरूले हामीलाई भनेका छन्‌। हामी यी कुराहरू तिनीहरूका छोराछोरीहरूबाट लुकाएर राख्‍नेछैनौं, तर आउने पुस्‍तालाई परमप्रभुका महिमामय कार्यहरू र उहाँको सामर्थ्‍य अनि उहाँले गर्नुभएका आश्‍चर्यपूर्ण कामहरूको वर्णन गर्नेछौं। उहाँले याकूबको निम्‍ति कानूनहरू कायम राख्‍नुभयो, र इस्राएलमा एउटा व्‍यवस्‍था स्‍थापना गर्नुभयो। आफ्‍ना सन्‍तानहरूलाई यी कुरा सिकाऊन्‌ भनेर, उहाँले हाम्रा पिता-पुर्खाहरूलाई हुकुम दिनुभयो, कि आउँदो पुस्‍ताले यी कुरा जानून्‌, र अझ नजन्‍मेका शिशुहरूले पनि यी कुरा जानून्‌, र तिनीहरूले आफ्‍ना सन्‍तानलाई पनि यी कुरा भनून्‌। यसरी तिनीहरूले परमेश्‍वरमा भरोसा राख्‍नेथिए, र उहाँका कार्यहरू बिर्सनेथिएनन्‌, तर उहाँका आज्ञाहरू पालन गर्नेथिए। तिनीहरू आफ्‍ना पिता-पुर्खाझैँ हठी र विद्रोही पुस्‍ता नहोऊन्‌, जसका हृदयहरू परमेश्‍वरतर्फ बफादार थिएनन्‌, र जसका आत्‍मा परमेश्‍वरतर्फ विश्‍वस्‍त थिएनन्‌। एफ्राइमका मानिसहरू धनुले सुसज्‍जित थिए, तर लड़ाइँको दिनमा तिनीहरूले पिठिउँ फर्काए। तिनीहरूले परमेश्‍वरको करार पालन गरेनन्‌, र उहाँको व्‍यवस्‍थामा चल्‍न इन्‍कार गरे। तिनीहरूले उहाँका कामहरूलाई बिर्से, ती आश्‍चर्य कामहरू जुन उहाँले तिनीहरूलाई देखाउनुभएको थियो। तिनीहरूका पिता-पुर्खाका नजरको सामुन्‍ने उहाँले मिश्रदेशमा र सोअनको मैदानमा अचम्‍म-अचम्‍मका कामहरू गर्नुभयो। उहाँले समुद्रलाई दुई भाग गर्नुभयो, र तिनीहरूलाई बीचबाट पारि डोर्‍याउनुभयो, र उहाँले पानीलाई पर्खालझैँ खड़ा गरिदिनुभयो, दिउँसो उहाँले तिनीहरूलाई बादलले र रातभरि अग्‍निको प्रकाशले अगुवाइ गर्नुभयो। उहाँले उजाड-स्‍थानमा चट्टानहरूलाई दुई भाग पार्नुभयो, र सागरमा झैँ प्रशस्‍त पानी पिउन दिनुभयो। उहाँले चट्टानबाट पानीको धारा निकाल्‍नुभयो, र पानी नदीझैँ बगाउनुभयो। तर मरुभूमिमा तिनीहरू सर्वोच्‍च प्रभुको विरुद्धमा विद्रोही भई उहाँको विरुद्धमा पाप गरी नै रहे। आफ्‍नै इच्‍छाबमोजिम खानेकुरा मागेर तिनीहरूले जानी-जानी परमेश्‍वरको परीक्षा गरे। तिनीहरूले परमेश्‍वरको विरुद्धमा यस्‍तो वचन बोले, “के परमेश्‍वरले उजाड-भूमिमा खानेकुरा दिन सक्‍नुहुन्‍छ र? जब उहाँले चट्टानलाई हिर्काउनुभयो, तब पानी फुटिनिस्‍क्‍यो, र खोलाहरू प्रशस्‍त भई बगे। तर के उहाँले हामीलाई भोजन पनि दिन सक्‍नुहुन्‍छ र? के उहाँले आफ्‍ना मानिसहरूका निम्‍ति मासु जुटाउन सक्‍नुहुन्‍छ र?”