YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 73

73
तेस्रो खण्ड
भजनसंग्रह 73–89
भजन 73
आसापको भजन।
1साँच्‍चै नै परमेश्‍वर इस्राएलको निम्ति भलो हुनुहुन्छ;
तिनीहरूको निम्ति, जसको हृदय शुद्ध छ।
2तर मेरा खुट्टाहरू चिप्लनै लागेका थिए;
मैले टेक्ने आधार हराउनै लागेको थिएँ;
3किनकि जब मैले दुष्‍टहरूको उन्‍नति देखेँ,
तब मैले ती घमण्डीहरूको डाह गर्न लागेँ।
4तिनीहरूलाई कुनै पीडा छैन;
तिनीहरूका शरीर एकदम हृष्‍टपुष्‍ट र बलिया छन्।
5अन्य मानिसहरूझैँ तिनीहरू कष्‍टमा पर्दैनन्;
मानिसलाई लाग्ने रोगहरूले तिनीहरूलाई छुँदैन।
6यसकारण अहङ्कार तिनीहरूका गहना हो,
र हिंसा तिनीहरूका पहिरन।
7तिनीहरूका कठोर हृदयबाट अधर्म निस्कन्छ#73:7 मूल भाषामा मोटोपनाले तिनीहरूका आँखा निस्किन्छ;
तिनीहरूका दुष्‍ट कल्पनाको कुनै सीमा छैन।
8तिनीहरूले अरूको ठट्टा गर्दछन् र खराबी कुरा गर्दछन्;
अहङ्कारसाथ अरूलाई अत्याचारको धम्की दिन्छन्।
9तिनीहरूका मुखले स्वर्ग हासिल गर्ने दाबी गर्दछन्,
र तिनीहरूका जिब्रोले पृथ्वी अधिकार गर्दछन्।
10त्यसकारण तिनीहरूका मानिसहरू तिनीहरूका कुरातर्फ फर्कन्छन्,
र प्रशस्ततामा पानी पिउँछन्।
11तिनीहरूले भन्छन्, “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ र?
के सर्वोच्‍च परमेश्‍वरमा कुनै कुराको ज्ञान छ र?”
12दुष्‍टहरू कस्ता हुन्छन्—
तिनीहरूले निस्फिक्री भई सधैँ धनसम्पत्ति थुपार्छन्।
13साँच्‍चै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु,
र मेरो निर्दोषतामा आफ्नो हात धोएको छु।
14दिनभरि म कष्‍ट भोगेको छु,
र हरेक बिहान मैले दण्ड भोग्नुपर्दछ।
15यदि मैले त्यसरी भनेको भए त,
तपाईंका सन्तानलाई मैले विश्‍वासघात गर्नेथिएँ।
16जब मैले यी सबै कुराहरू बुझ्ने कोसिस गरेँ,
तब मेरा निम्ति यो अति कठिन भयो।
17जब म परमेश्‍वरको पवित्रस्थानभित्र पसेँ;
तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझेँ।
18निश्‍चय नै तपाईंले तिनीहरूलाई चिप्ला स्थानहरूमा राख्नुहुन्छ;
तपाईंले तिनीहरूलाई सर्वनाशको लागि फालिदिनुहुन्छ।
19केही क्षणमै तिनीहरू नष्‍ट पारिन्छन्;
त्रासले तिनीहरू पूर्ण रूपमा ध्वस्त हुन्छन्!
20तिनीहरू बिहान बिउँझँदा टलेर जाने खराब सपनाजस्तै हुन्;
हे प्रभु, जब तपाईं उठ्नुहुन्छ,
तब तपाईंले तिनीहरूलाई कल्पना झैँ तुच्छ ठान्‍नुहुन्छ।
21जब मेरो मन घोर पीडामा थियो,
मेरो आत्मामा तितोपना थियो,
22म चेतनाहीन र ज्ञानविहीन थिएँ;
तपाईंको सामु म पशुजस्तै थिएँ।
23तरै पनि म सधैँ तपाईंसँगै रहन्छु;
तपाईंले मेरो दाहिने हात थाम्नुभएको छ।
24तपाईंको सल्‍लाहले मलाई डोर्‍याउनुहुन्छ,
र त्यसपछि मलाई महिमामा लानुहुनेछ।
25स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र?
अनि तपाईंबाहेक पृथ्वीमा मैले चाहना गरेको अरू कोही छैन।
26मेरो देह र मेरो हृदय दुवै विफल होलान्,
तर परमेश्‍वर सदासर्वदाको निम्ति मेरो हृदयको बल
र मेरो भाग हुनुहुन्छ।
27तपाईंबाट टाढा रहने मानिसहरू नष्‍ट हुनेछन्;
तपाईंलाई विश्‍वासघात गर्ने सबैलाई तपाईंले विनाश गर्नुहुन्छ।
28तर मेरो लागि चाहिँ परमेश्‍वरको नजिक रहन पाउनु असल छ;
मैले प्रभु याहवेहलाई मेरो शरणस्थान बनाएको छु;
म तपाईंका सारा कामहरूको वर्णन गर्नेछु।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 73: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्