YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 69:16-36

भजनसंग्रह 69:16-36 NCV

हे याहवेह, तपाईंको अचुक प्रेमको उत्तमतामा मलाई जवाफ दिनुहोस्; तपाईंको महान् कृपामा मतिर फर्कनुहोस्। तपाईंको सेवकबाट आफ्नो मुहार नलुकाउनुहोस्; मलाई चाँडै जवाफ दिनुहोस्, किनकि म सङ्कटमा परेको छु। मेरो नजिक आएर मेरो उद्धार गर्नुहोस्; मेरा शत्रुहरूका कारण मलाई छुटाउनुहोस्! म अपमानित भएको, म शर्ममा परेको, र मेरो बेइज्जत भएको तपाईंलाई थाहा छ; मेरा सबै शत्रुहरू तपाईंकै सामु छन्। अपमानले गर्दा मेरो मन टुटेको छ; र म निरीह भएको छु; मलाई सहानुभूति देखाउने कोही छन् कि भनेर खोजी गरेँ, तर कोही थिएनन्; र सान्त्वना दिनेहरू पनि खोजेँ, तर कोही भेटिनँ। मेरो खानामा तिनीहरूले पित्त हाले, म तिर्खाउँदा सिर्का पिउन दिए। तिनीहरूका अगि राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्; र तिनीहरूका समृद्धि नै तिनीहरूको पासो बनोस्! तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्; तिनीहरूका ढाड सदा कुप्रिरहून्! तपाईंको क्रोध तिनीहरूमाथि खन्याउनुहोस्; तपाईंको रिसको आगो तिनीहरूमाथि आइपरोस्! तिनीहरूको स्थान उजाड भइजाओस्; तिनीहरूका पालहरूमा बास गर्ने कोही नहोस्। किनकि तपाईंले ताडना दिनु भएकाहरूलाई तिनीहरूले सताउँछन्, र तपाईंले घाइते पार्नुभएकाहरूका बारेमा तिनीहरूले कुरा काट्छन्। तपाईंले तिनीहरूको अपराधमाथि अपराधको हिसाब राख्नुहोस्; र तिनीहरू तपाईंको मुक्तिमा सहभागी हुन नपाऊन्। जीवनको पुस्तकबाट तिनीहरूका नाम मेटिओस्, र धर्मी जनहरूसँग तिनीहरू गन्ती नहोऊन्। तर म त दुःखित र पीडित छु— हे परमेश्‍वर, तपाईंको मुक्तिले मलाई सुरक्षा गरोस्! गीत गाएर म परमेश्‍वरको नामको प्रशंसा गर्नेछु, र धन्यवादसाथ उहाँलाई महिमा गर्नेछु। यस कुराले याहवेहलाई साँढेको बलिभन्दा बढी सिङ र खुर भएको बहरको बलिले भन्दा बढी प्रसन्‍न पार्नेछ। थिचोमिचोमा परेकाहरू यो कुरा देखेर रमाउनेछन्— हे परमेश्‍वरलाई खोज्नेहरू हो, तिमीहरूको हृदय नयाँ जोसले भरियोस्। याहवेहले अभावमा परेकाहरूको पुकार सुन्‍नुहुन्छ, र बन्धनमा परेका आफ्ना मानिसहरूलाई अवहेलना गर्नुहुन्‍न। स्वर्ग, पृथ्वी, समुद्र र तिनमा हिँड्‍डुल गर्ने सारा सृष्‍टिले परमेश्‍वरको प्रशंसा गरून्! किनकि परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ, र यहूदाका सहरहरूलाई पुनर्निर्माण गर्नुहुनेछ। तब उहाँका मानिसहरू त्यहाँ बस्‍नेछन्, र त्यसमाथि कब्जा गर्नेछन्; उहाँका सेवकहरूका सन्तानहरू त्यहाँ उत्तराधिकार हुनेछन्; अनि उहाँको नामलाई प्रेम गर्नेहरू त्यहाँ बास गर्नेछन्।

भजनसंग्रह 69 पढ्नुहोस्