YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 69:16-36

भजनसंग्रह 69:16-36 NNRV

तपाईंका प्रेमको उत्तमतामा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्‌, आफ्‍नो महान्‌ कृपामा मतर्फ फर्कनुहोस्‌। तपाईंको मुहार आफ्‍नो दासदेखि नफर्काउनुहोस्‌। मलाई झट्टै उत्तर दिनुहोस्‌, किनकि म दु:खमा परेको छु। मेरो नजिक आउनुहोस्‌ र मेरो उद्धार गरिदिनुहोस्‌, मेरा शत्रुहरूको कारण मलाई मोल तिरेर छुटाउनुहोस्‌। मेरो तिरस्‍कार, मेरो शर्म र मेरो बेइज्‍जत तपाईंलाई थाहा छ। मेरा सबै शत्रुहरू तपाईंकै अगि छन्‌। तिरस्‍कारले मेरो मन भाँचेको छ, र म निस्‍सहाय भएको छु। मलाई टिठ्याउने कोही छन्‌ कि भनेर मैले खोजें, तर कोही थिएन, र सान्‍त्‍वना दिनेहरू पनि, तर कोही थिएन। तिनीहरूले मेरो खानामा पित्त हाले, र मेरो तिर्खामा तिनीहरूले मलाई सिर्का दिए। तिनीहरूका निम्‍ति राखिएको भोजन तिनीहरूका निम्‍ति पासो बनोस्‌, यो नै प्रतिफल र धराप बनोस्‌। तिनीहरूका आँखा धमिला होऊन्‌ र देख्‍न नसक्‍ने बनून्‌, र तिनीहरूको कमर सदा कुप्रिरहोस्‌। तिनीहरूमाथि तपाईंको क्रोध खन्‍याउनुहोस्‌, र तपाईंको दन्‍किरहेको क्रोध तिनीहरूमाथि आइपरोस्‌। तिनीहरूको छाउनी उजाड भइजाओस्‌। तिनीहरूका पालहरूमा कोही वास नगरून्‌। किनकि जसलाई तपाईंले हिर्काउनुभएको छ, त्‍यसलाई नै तिनीहरू सताउँछन्‌, र जसलाई तपाईंले घायल पार्नुभएको छ, त्‍यसलाई तिनीहरू अझ बढ़ी कष्‍ट दिन्‍छन्‌। तिनीहरूलाई अपराधमाथि अपराधको दोषारोपण गर्नुहोस्‌, र तिनीहरू तपाईंका उद्धारको सहभागी हुन नपाऊन्‌। जीवनको पुस्‍तकबाट तिनीहरूका नाउँ मेटिऊन्‌, र धर्मीहरूका साथमा नलेखिऊन्‌। म त दु:ख र पीडामा छु, हे परमेश्‍वर, तपाईंको उद्धारले मलाई रक्षा गरोस्‌। स्‍तुति गाएर म परमेश्‍वरका नाउँको प्रशंसा गर्नेछु, र धन्‍यवाद चढ़ाएर म उहाँको महिमा गर्नेछु। बलिको साँढ़ेभन्‍दा यी कुराले परमप्रभुलाई बढ़ी प्रसन्‍न पार्नेछन्‌, सीङ र खुर भएको गोरुभन्‍दा पनि बढ़ी प्रसन्‍न पार्नेछन्‌। यो देखेर थिचोमिचोमा परेकाहरू रमाउनेछन्‌— हे परमेश्‍वरलाई खोज्‍ने हो, तिमीहरूको हृदय जीवित होस्‌। परमप्रभुले दरिद्रहरूको पुकारा सुन्‍नुहुन्‍छ, र बन्‍धनमा परेका आफ्‍ना जनलाई तुच्‍छ ठान्‍नुहुन्‍न। स्‍वर्ग र पृथ्‍वी र समुद्र र तिनमा चलहल गर्ने साराले उहाँको प्रशंसा गरून्‌। किनकि परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ, र यहूदाका सहरहरूलाई फेरि निर्माण गर्नुहुनेछ। तब मानिसहरू त्‍यहाँ बस्‍नेछन्‌ अनि त्‍यसलाई कब्‍जा गर्नेछन्‌। उहाँका दासहरूका सन्‍तान त्‍यसको उत्तराधिकारी हुनेछन्‌, र उहाँको नाउँलाई प्रेम गर्नेहरू त्‍यहाँ वास गर्नेछन्‌।