YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 57

57
भजन 57
सङ्गीत निर्देशकको निम्ति, “विनाश नगर” लयमा आधारित, शाऊलबाट भागेर ओडारमा बास बस्दा दावीदको मिक्ताम।
1ममाथि कृपा गर्नुहोस्, हे मेरा परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्;
किनकि म तपाईंमा शरण लिन्छु।
जबसम्म यो विपत्ति हट्दैन,
तबसम्म म तपाईंको पखेटाको छायामुनि शरण लिनेछु।
2म सर्वोच्‍च परमेश्‍वरलाई पुकार्छु,
परमेश्‍वरलाई, जसले मलाई निर्दोष प्रमाणित गर्नुहुन्छ#57:2 मूल भाषामा मेरो निम्ति बदला लिनुहुन्छ
3उहाँले स्वर्गबाट सहायता पठाउनुहुन्छ र मलाई बचाउनुहुन्छ;
मलाई खेदो गर्नेहरूलाई उहाँले हप्काउनुहुन्छ, सेला
परमेश्‍वरले आफ्नो अचुक प्रेम र विश्‍वसनीयता पठाउनुहुन्छ।
4म सिंहहरूको बीचमा छु;
हिँस्रक जनावरहरूजस्ता मानिसहरूका बीचमा बस्‍न म बाध्य छु;
जसका दाँतहरू धारिला तरवार र काँड हुन्,
जसका जिब्रा धारिलो तरवारजस्तै छन्।
5हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्;
सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!
6तिनीहरूले मेरा पाउहरूका निम्ति जाल बिछाएका छन्;
म सङ्कष्‍टले झुकेको छु।
तिनीहरूले मेरो मार्गमा खाडल खनेका छन्,
तर तिनीहरू त्यस खाडलमा आफैँ परेका छन्। सेला
7हे परमेश्‍वर, मेरो हृदय स्थिर छ,
मेरो हृदय स्थिर छ;
म गाउनेछु र धुन बजाउनेछु।
8हे मेरो प्राण, उठ्!
हे सारङ्गी र वीणा जाग्!
म प्रभातलाई जगाउनेछु।
9हे प्रभु, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु;
जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु।
10किनकि तपाईंको प्रेम महान् छ, आकाशझैँ उच्‍च छ;
तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ।
11हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्;
सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 57: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्