YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 35:17-28

भजनसंग्रह 35:17-28 NCV

हे प्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ? तिनीहरूका आक्रमणबाट, र ती सिंहहरूबाट मलाई छुटाउनुहोस्। म तपाईंलाई ठूलो महासभामा धन्यवाद चढाउनेछु; विशाल जनसमूहमा म तपाईंको प्रशंसा गर्नेछु। मेरा शत्रुहरू कारणविना मेरो विरुद्धमा रमाउन नपाऊन्; मलाई घृणा गर्नेहरूले कारणविना एकनासै मेरो खिल्‍ली गर्न नपाऊन्। तिनीहरू त शान्तिको कुरै गर्दैनन्; तर देशमा शान्तिसँग बस्‍ने मानिसहरूका विरुद्धमा झूटो आरोपहरू रच्दछन्। तिनीहरूले ठूलो मुख बाएर मेरो विरुद्धमा भन्छन्, “ओहो! ओहो! हामीले आफ्नै आँखाले यो देख्न पायौँ।” हे याहवेह, तपाईंले यो देख्नुभएको छ; अब चुप लागेर नबस्‍नुहोस्। हे प्रभु, मदेखि टाढा नहुनुहोस्! हे प्रभु, मेरा परमेश्‍वर, उठ्नुहोस्; र मेरो रक्षाको निम्ति जाग्नुहोस्! मेरो निम्ति लडिदिनुहोस्। हे याहवेह, मेरा परमेश्‍वर, तपाईंको धार्मिकतामा मलाई निर्दोष ठहराउनुहोस्; तिनीहरू ममाथि रमाउन नपाऊन्। तिनीहरूले आफ्ना मनमा भन्‍न नपाऊन् कि, “आहा! हामीले चिताएजस्तै पुग्यो!” अथवा भन्‍न नपाऊन्, “हामीले त्यसलाई निलिदियौँ।” मेरो विपतको समयमा मेरो हाँसो उडाउनेहरू सबै लाजमा र अन्योलमा परून्; मभन्दा ठूलो हुँ भनी घमण्डले धाक दिनेहरू सबै शर्म र अपमानले ढाकिऊन्। म निर्दोष साबित भएको कामना राख्नेहरू आनन्दले जयजयकार गरून् र हर्षित होऊन्; तिनीहरूले निरन्तर यसो भनिरहून् कि, “याहवेह उच्‍च पारिनुभएको होस्, उहाँ, जो आफ्नो सेवकको भलाइमा प्रसन्‍न हुनुहुन्छ।” मेरो जिब्रोले तपाईंको धार्मिकताको घोषणा गर्नेछ, र तपाईंको प्रशंसा दिनभरि गरिरहनेछ।

भजनसंग्रह 35 पढ्नुहोस्