YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 35:17-28

भजनसंग्रह 35:17-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, कहिलेसम्‍म तपाईं हेरिरहनुहुन्‍छ? तिनीहरूले ममाथि ल्‍याएको आक्रमणबाट, ती सिंहहरूबाट मेरो ज्‍यानलाई छुटाउनुहोस्‌। ठूलो समुदायमा म तपाईंमा धन्‍यवाद चढ़ाउनेछु, विशाल जन-समूहमा म तपाईंको प्रशंसा गर्नेछु। अकारण मेरा शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाऊन्‌, अकारण मलाई घृणा गर्नेहरूले मेरो वैमनस्‍यपूर्वक खिसी गर्न नपाऊन्‌। तिनीहरू त शान्‍तिको कुरै गर्दैनन्‌, तर देशमा शान्‍तिसँग बस्‍ने मानिसहरूका विरुद्धमा झूटा अभियोगहरू रच्‍छन्‌। ठूलो मुख बाएर मेरो विरुद्धमा तिनीहरू भन्‍छन्‌, “आहा! आहा! हामीले आफ्‍नै आँखाले यो देख्‍न पायौं।” हे परमप्रभु, तपाईंले यो देख्‍नुभएको छ, मौन नबस्‍नुहोस्‌। हे परमप्रभु, मबाट टाढ़ा नहुनुहोस्‌। उठ्‌नुहोस्‌, र मेरो रक्षाको निम्‍ति जाग्‍नुहोस्‌। हे परमप्रभु, मेरा परमेश्‍वर, मेरो निम्‍ति लड़िदिनुहोस्‌। हे मेरा परमप्रभु परमेश्‍वर, तपाईंकै धार्मिकताअनुसार मलाई निर्दोष ठहराउनुहोस्‌। ममाथि तिनीहरू रमाउन नपाऊन्‌। तिनीहरूले आफ्‍ना मनमा, “आहा! हामीले चिताएका पुग्‍यो” भन्‍न नपाऊन्‌, अथवा “हामीले त्‍यसलाई निलिदियौं” भन्‍न नपाऊन्‌। मेरो आपत्‌को समय मेरो हाँसो उड़ाउनेहरू सबै लाजमा परून्‌ र अस्‍तव्‍यस्‍त होऊन्‌। मभन्‍दा ठूलो हुँ भनी धाक दिनेहरू सबै लाजमा परून्‌ र अपमानित होऊन्‌। म दोष-मुक्त भएको कामना राख्‍नेहरू आनन्‍दले जयजयकार गरून्‌ र हर्षित होऊन्‌। तिनीहरूले निरन्‍तर यसो भनिरहून्‌, “परमप्रभुको नाम उच्‍च होस्‌, जो आफ्‍नो दासको कल्‍याणमा प्रसन्‍न हुनुहुन्‍छ।” मेरो जिब्रोले तपाईंको धार्मिकताको बखान गर्नेछ, र म तपाईंको प्रशंसा दिनभरि गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 35 पढ्नुहोस्

भजनसंग्रह 35:17-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे प्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ? तिनीहरूका आक्रमणबाट, र ती सिंहहरूबाट मलाई छुटाउनुहोस्। म तपाईंलाई ठूलो महासभामा धन्यवाद चढाउनेछु; विशाल जनसमूहमा म तपाईंको प्रशंसा गर्नेछु। मेरा शत्रुहरू कारणविना मेरो विरुद्धमा रमाउन नपाऊन्; मलाई घृणा गर्नेहरूले कारणविना एकनासै मेरो खिल्‍ली गर्न नपाऊन्। तिनीहरू त शान्तिको कुरै गर्दैनन्; तर देशमा शान्तिसँग बस्‍ने मानिसहरूका विरुद्धमा झूटो आरोपहरू रच्दछन्। तिनीहरूले ठूलो मुख बाएर मेरो विरुद्धमा भन्छन्, “ओहो! ओहो! हामीले आफ्नै आँखाले यो देख्न पायौँ।” हे याहवेह, तपाईंले यो देख्नुभएको छ; अब चुप लागेर नबस्‍नुहोस्। हे प्रभु, मदेखि टाढा नहुनुहोस्! हे प्रभु, मेरा परमेश्‍वर, उठ्नुहोस्; र मेरो रक्षाको निम्ति जाग्नुहोस्! मेरो निम्ति लडिदिनुहोस्। हे याहवेह, मेरा परमेश्‍वर, तपाईंको धार्मिकतामा मलाई निर्दोष ठहराउनुहोस्; तिनीहरू ममाथि रमाउन नपाऊन्। तिनीहरूले आफ्ना मनमा भन्‍न नपाऊन् कि, “आहा! हामीले चिताएजस्तै पुग्यो!” अथवा भन्‍न नपाऊन्, “हामीले त्यसलाई निलिदियौँ।” मेरो विपतको समयमा मेरो हाँसो उडाउनेहरू सबै लाजमा र अन्योलमा परून्; मभन्दा ठूलो हुँ भनी घमण्डले धाक दिनेहरू सबै शर्म र अपमानले ढाकिऊन्। म निर्दोष साबित भएको कामना राख्नेहरू आनन्दले जयजयकार गरून् र हर्षित होऊन्; तिनीहरूले निरन्तर यसो भनिरहून् कि, “याहवेह उच्‍च पारिनुभएको होस्, उहाँ, जो आफ्नो सेवकको भलाइमा प्रसन्‍न हुनुहुन्छ।” मेरो जिब्रोले तपाईंको धार्मिकताको घोषणा गर्नेछ, र तपाईंको प्रशंसा दिनभरि गरिरहनेछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 35 पढ्नुहोस्

भजनसंग्रह 35:17-28 पवित्र बाइबल (NERV)

मेरा स्वामी, कहिलेसम्म तपाईं हेरिरहनु हुन्छ त्यस्ता नराम्रा घटनाहरू घटेका? तिनीहरूले मलाई नष्ट गर्न खोजिरहेका छन्। परमप्रभु! ती दुष्ट मानिसहरूबाट जो हिंस्रक सिंह जस्तै छन्। मेरो जीवनको रक्षा गर्नुहोस्, मेरो प्यारो जीवनको रक्षा गर्नु होस्। हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु, महासभामा म तपाईंको स्तुति गाउने छु। मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्। निःसन्देह मेरा शत्रुहरूले, आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्। मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन्। तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति, अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्। मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्। तिनीहरू झूटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौ तिमी के गरिरहेका छौ।” हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ, यसैले मौन नबस्नुहोस्, मलाई छाडेर नजानुहोस्। हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्! मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाइँ गर्नुहोस्। अनि मलाई न्याय ल्याई दिनुहोस्। हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्। तिनीहरूलाई ममाथि उपहास गरेर हाँस्न नदिनुहोस्। मानिसहरूलाई भन्न नदिनुहोस्, “हामी जे चाहन्थ्यौं सो हामीले पायौं। हामीले उसलाई ध्वंश पारिदियौं!” म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्। जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्। तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्! यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन। कतिपय मानिसहरू मप्रति राम्रो कुराहरू होस् भनेर चाहन्छन्। भरोसा गर्दछु तिनीहरू खुशी हुनेछन्। तिनीहरू सधैँ भन्दछन्, “परमप्रभु महान् हुनुहुन्छ। उहाँ आफ्ना दासको लागि के उत्तम हो त्यही गर्ने इच्छा गर्नुहुन्छ।” यसकारण परमप्रभु! म तिनीहरूलाई भन्दछु, तपाईं कति धार्मिक हुनुहुन्छ। म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।

शेयर गर्नुहोस्
भजनसंग्रह 35 पढ्नुहोस्

भजनसंग्रह 35:17-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु! अब कहिलेसम्‍म हेरिरहनु मात्र हुन्‍छ? मलाई तिनीहरूको हमलादेखि बचाउनुहोस्, यी सिंहहरूबाट मेरो प्राण जोगाउनुहोस्। तब म तपाईंलाई तपाईंका जनहरूका सभामा धन्‍यवाद चढाउनेछु, तिनीहरू सबैको अघि म तपाईंको प्रशंसा गर्नेछु। झूटो बोल्‍ने मेरा शत्रुहरू मेरो हारमा रमाउन नपाऊन्। बिनाकारण मलाई घृणा गर्नेहरूले, मेरो शोकमा मेरो खिल्‍ली उडाउन नपाऊन्। तिनीहरू मित्रभावसित बोल्‍दैनन्, त्‍यसका सट्टामा तिनीहरूले शान्‍तिप्रिय मानिसहरूका बारेमा सबै प्रकारका झूटा कुराहरू रच्‍छन्। तिनीहरूले चिच्‍च्‍याउँदै मलाई यसरी दोष लाउँछन्– “तैँले के गरिस्, हामीले देख्‍यौं!” तर हे परमप्रभु! तपाईंले यो कुरा देख्‍नुभएको छ। यसकारण प्रभु, चुप नबस्‍नुहोस्, आफैं टाढा हटेर नजानुहोस्! उठ्‍नुहोस्, प्रभु! र मेरो रक्षा गर्नुहोस्, हे मेरा परमेश्‍वर! मेरो पक्षमा बोलिदिनुहोस्। हे परमप्रभु! तपाईं धर्मी हुनुहुन्‍छ, म निर्दोष छु भनी न्‍याय गरी दिनुहोस्, मेरा शत्रुहरूले ममाथि खिसी गर्न नपाऊन्। तिनीहरूले आपसमा यसो भन्‍न नपाऊन्, “त्‍यसलाई धपायौं! अब हाम्रो इच्‍छा पूरा भयो!” मेरो कष्‍टमा रमाउनेहरूको पूरा हार होस्, तिनीहरू अन्‍योलमा परून्। “मभन्दा असल छन्,” भनी हिँड्‍नेहरूचाहिँ लाज र बदनाममा परून्। मलाई निर्दोष भएर छुटेको हेर्न चाहनेहरूले आनन्‍दले चिच्‍च्‍याउन र घरीघरी यसो भन्‍न पाऊन्– “परमप्रभु कति महान् हुनुहुन्‍छ! आफ्‍ना दासको विजयमा उहाँ प्रसन्‍न हुनुहुन्‍छ।” त्‍यस बेला म तपाईंको धार्मिकताको बारेमा भन्‍नेछु र दिनभरि तपाईंको प्रशंसा गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 35 पढ्नुहोस्