हे याहवेह, मेरा शक्ति, म तपाईंलाई प्रेम गर्दछु।
याहवेह मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारकर्ता हुनुहुन्छ;
मेरो परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु,
उहाँ मेरो ढाल, मेरो मुक्तिको सिङ र मेरो उच्च गढ हुनुहुन्छ।
म याहवेहलाई पुकार्दछु, जो प्रशंसाको योग्य हुनुहुन्छ,
र म मेरा शत्रुहरूबाट बचाइन्छु।
मृत्युका पासोहरूले मलाई घेरे;
विनाशको बाढीले मलाई भयभीत बनाए;
चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले;
मैले मृत्युको पासोको सामना गर्नुपर्यो।
मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ;
सहायताको निम्ति मैले मेरा परमेश्वरलाई पुकारेँ।
उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्नुभयो;
मेरो पुकार उहाँको सामु पुग्यो। हो, उहाँको कानमै पुग्यो।
पृथ्वी काम्यो, र हल्लियो;
र पहाडका जगहरू हल्लिए;
तिनीहरू थरथर कामे, किनकि उहाँ रिसाउनुभएको थियो।
उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो;
उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो;
त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के।
उहाँ स्वर्ग उघारेर पृथ्वीमा ओर्लनुभयो;
अँध्यारो बादल उहाँको पाउमुनि थियो।
करूबहरूमा सवार भएर उहाँ उड्नुभयो;
बतासका पखेटाहरूमाथि चढेर उहाँ माथि उड्नुभयो।
उहाँले अन्धकारलाई आफ्नो ओढ्ने, मण्डप तुल्याउनुभयो;
हो, आकाशको कालो झरीको बादललाई उहाँले ओढ्ने, मण्डप तुल्याउनुभयो।
उहाँको उपस्थितिको ज्योतिबाट,
असिना र बिजुलीका गर्जन लिई बाक्लो बादल अगि बढ्यो।
याहवेह स्वर्गबाट गर्जनुभयो;
असिना र बिजुलीका साथ सर्वोच्चको सोर गुञ्जायमान भयो।
उहाँले आफ्ना काँडहरू हानेर शत्रुहरूलाई तितरबितर पारिदिनुभयो;
उहाँले तिनीहरूलाई चट्याङद्वारा अस्तव्यस्त पार्नुभयो।
हे याहवेह, तपाईंको हप्काइले
र तपाईंका नाकका प्वालबाट निस्केका सासले
समुद्रका तहहरू देखा परे,
र पृथ्वीका जगहरू प्रकट भए।
उहाँले माथि उच्चबाट हात पसारेर मलाई समातेर थाम्नुभयो;
उहाँले मलाई गहिरो सागरबाट तानेर निकाल्नुभयो।
उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो,
मेरा वैरीहरूबाट, जो मभन्दा धेरै बलिया थिए।
मेरा विपत्तिका दिनमा तिनीहरू ममाथि आइलागे,
तर याहवेह मेरा सहारा हुनुभयो।
उहाँले मलाई एउटा फराकिलो ठाउँमा निकालेर ल्याउनुभयो;
उहाँले मलाई छुटाउनुभयो; किनकि उहाँ मसँग प्रसन्न हुनुहुन्थ्यो।
याहवेहले मेरो धार्मिकताअनुसार मसँग व्यवहार गर्नुभएको छ;
मेरा हातका शुद्धताअनुसार उहाँले मलाई प्रतिफल दिनुभएको छ।
किनकि म याहवेहको मार्गमा चलेको छु;
मेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छैनँ।
उहाँका सारा नियमहरू मेरा अगि छन्;
उहाँका उर्दीहरूबाट म तर्केर हिँडेको छैनँ।
म उहाँको अगि निर्दोष रहेको छु;
र मैले आफूलाई पापबाट जोगाइराखेको छु।
याहवेहले मेरो धार्मिकताअनुसार,
उहाँको दृष्टिमा मेरा हातका शुद्धताअनुसार मलाई प्रतिफल दिनुभएको छ।
विश्वासयोग्यसँग तपाईं आफूलाई विश्वासयोग्य रूपमा देखाउनुहुन्छ,
निर्दोषसँग तपाईं आफूलाई निर्दोष रूपमा प्रकट गर्नुहुन्छ;
शुद्धसँग तपाईं आफूलाई शुद्ध रूपमा प्रकट गर्नुहुन्छ,
तर छलीसँग तपाईं आफूलाई चतुर प्रकट गराउनुहुन्छ।
तपाईं नम्रहरूलाई बचाउनुहुन्छ,
तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ।
हे याहवेह, तपाईंले मेरो दियो बलि रहन दिनुहुन्छ;
मेरा परमेश्वरले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।
तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्छु;
मेरा परमेश्वरसँग म अग्लो पर्खाल नाघ्न सक्छु।