YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 18:1-29

भजनसंग्रह 18:1-29 NNRV

हे परमप्रभु, मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु। परमप्रभु मेरो चट्टान, मेरो किल्‍ला र मेरा उद्धारक हुनुहुन्‍छ। मेरा परमेश्‍वर मेरो चट्टान हुनुहुन्‍छ, जसमा म शरण लिन्‍छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्‍छ, मेरो गढ़। म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्‍य हुनुहुन्‍छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु। मृत्‍युका डोरीहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्‍याकुल बनायो। पातालका डोरीहरूले मलाई बेह्रे, मृत्‍युको पासोले मेरो सामना गर्‍यो। मेरो आपत्‌मा मैले परमप्रभुलाई पुकार गरें, र मदतको निम्‍ति मेरा परमेश्‍वरलाई हपारें। आफ्‍नो मन्‍दिरबाट उहाँले मेरो सोर सुन्‍नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्‍यो। पृथ्‍वीमा कम्‍पन भयो, अनि भूकम्‍प गयो, पहाड़हरूका जगहरू हल्‍लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो। उहाँको नाकबाट धूवाँ निस्‍क्‍यो, र भस्‍मकारी अग्‍नि उहाँको मुखबाट निस्‍क्‍यो, जलिरहेको आगोको भुङ्‌ग्रो त्‍यसभित्र दन्‍क्‍यो। स्‍वर्गलाई फारेर उहाँ तल ओर्लनुभयो। अँध्‍यारो बादल उहाँका गोडामुनि थियो। उहाँ करूबहरूमाथि सवार भएर उड्‌नुभयो, र बतासका पखेटामा सवार भई माथि उड्‌नुभयो। अन्‍धकारलाई उहाँले आफ्‍नो ओढ्‌ने तुल्‍याउनुभयो, पानीले काला भइसकेका बाक्‍ला बादललाई उहाँले आफ्‍नो मण्‍डप तुल्‍याउनुभयो। उहाँका उपस्‍थितिको उज्‍ज्‍वलताबाट असिना र बिजुलीसहित बादलहरू अगि बढ़े। परमप्रभु स्‍वर्गबाट गर्जनुभयो, र सर्वोच्‍चको सोर गुञ्‍जायमान भयो। उहाँले आफ्‍ना काँड़हरू हान्‍नुभयो, र शत्रुहरूलाई तितरबितर पारिदिनुभयो, अनि चट्याङद्वारा तिनीहरू अस्‍तव्‍यस्‍त भए। हे परमप्रभु, तपाईंको हप्‍कीमा, र तपाईंको नाकबाट निस्‍केको श्‍वासको विस्‍फोटले समुद्रका तहहरू देखा परे, र पृथ्‍वीका जगहरू प्रकट भए। उहाँले माथिबाट आफ्‍नो बाहुली पसारेर मलाई समात्‍नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्‍नुभयो। उहाँले मलाई मेरा शक्तिशाली शत्रुबाट छुटाउनुभयो, मेरा शत्रुहरूबाट, जो मभन्‍दा अत्‍यन्‍तै शक्तिशाली थिए। मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो। उहाँले मलाई फराकिलो ठाउँमा ल्‍याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्‍न हुनुभएको थियो। मेरो धार्मिकताअनुसार परमप्रभुले मसँग व्‍यवहार गर्नुभयो। मेरा हातका शुद्धताको अनुरूप उहाँले मलाई प्रतिफल दिनुभयो। किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्‍वरबाट तर्केर मैले दुष्‍टता गरेको छैनँ। उहाँका सारा नियमहरू मेरै सामुन्‍ने छन्‌, र उहाँका कानूनहरू मैले त्‍यागेको छैनँ। उहाँको दृष्‍टिमा म निर्दोष थिएँ, र दोषबाट मैले आफैलाई अलग्‍ग राखें। परमप्रभुले मेरो धार्मिकताअनुसार र उहाँको दृष्‍टिमा मेरा हातका शुद्धता अनुरूप मलाई प्रतिफल दिनुभएको छ। वफादारप्रति तपाईं वफादार हुनुहुन्‍छ, निर्दोषसँग तपाईं आफूलाई निर्दोष प्रकट गर्नुहुन्‍छ। शुद्धसँग तपाईं आफै शुद्धै देखा पर्नुहुन्‍छ, तर बाङ्गोसँग तपाईं आफूलाई चतुर प्रकट गर्नुहुन्‍छ। दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्‍छ, तर अहङ्कारी आँखा हुनेहरूलाई तपाईंले झुकाइदिनुहुनेछ। हे परमप्रभु, तपाईंले मेरो दियो बालिराख्‍नुहुन्‍छ, मेरा परमेश्‍वरले मेरो अन्‍धकारलाई उज्‍यालोमा परिवर्तन गर्नुहुन्‍छ। तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्‍छु, र मेरा परमेश्‍वरको सहायताले म पर्खाल नाघ्‍‌न सक्‍छु।