तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती, र मेरो बाटोका निम्ति ज्योति हो। मैले शपथ खाएर त्यसलाई पक्का गरेको छु, ताकि म तपाईंका धार्मिक नियमहरू पालन गर्नेछु। मैले ज्यादै कष्ट भोगेको छु; हे याहवेह, आफ्ना वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्! हे याहवेह, स्वेच्छाले मैले आफ्नो मुखले चढाएको प्रशंसा ग्रहण गर्नुहोस्, र मलाई तपाईंका नियमहरू सिकाउनुहोस्! मेरो प्राण निरन्तर जोखिममा रहन्छ; तापनि म तपाईंको व्यवस्था बिर्संनेछैनँ। दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्; तर पनि म तपाईंका विधिहरूबाट तर्केको छैनँ। तपाईंका कानुनहरू सदाकाल मेरा निम्ति उत्तराधिकारको अंश भएका छन्। त्यो नै मेरो हृदयको आनन्द हो। तपाईंका उर्दीहरू अन्त्यसम्म नै पालन गर्न मेरो हृदयले अठोट गरेको छ। दोहोरो मन भएका मानिसहरूलाई म घृणा गर्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु। तपाईं मेरो शरणस्थान र मेरो ढाल हुनुहुन्छ; तपाईंको वचनमा मैले आफ्नो आशा राखेको छु। हे दुष्कर्मीहरू हो, मबाट टाढा होइजाओ; ताकि म मेरा परमेश्वरका आज्ञाहरू पालन गर्न सकूँ! मेरा परमेश्वर, मलाई तपाईंको प्रतिज्ञाअनुसार थामिराख्नुहोस्, र म जीवित रहनेछु; अनि मेरो आशाहरू चकनाचुर हुन नदिनुहोस्! मलाई साथ दिनुहोस्, र मेरो उद्धार हुनेछ; म सधैँ तपाईंका उर्दीहरूमा अझ ध्यान दिनेछु। तपाईंका उर्दीहरूबाट तर्केर जानेहरूलाई तपाईंले इन्कार गर्नुहुन्छ; किनकि तिनीहरूको धूर्तता व्यर्थ हुन्छ। पृथ्वीका सबै दुष्टहरूलाई तपाईंले धातुको अशुद्धताझैँ फालिदिनुहुन्छ; यसैले म तपाईंका विधिहरूलाई प्रेम गर्दछु। तपाईंको भयले मेरो शरीर काम्दछ; म तपाईंका नियमहरूले भयभीत हुन्छु। जे धार्मिक र न्यायपूर्ण छ, मैले त्यही गरेको छु; मलाई अत्याचार गर्नेहरूका हातमा नछोडिदिनुहोस्! तपाईंको सेवकको भलाइ सुनिश्चित गरिदिनुहोस्; अहङ्कारीहरूले मलाई अत्याचार गर्न नपाऊन्! तपाईंको मुक्ति र तपाईंको धार्मिक प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्। आफ्नो अचुक प्रेमअनुसार आफ्ना सेवकसँग व्यवहार गर्नुहोस्, अनि मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्! म तपाईंको सेवक हुँ; मलाई अन्तर्दृष्टि दिनुहोस्, ताकि म तपाईंका कानुनहरू बुझ्न सकूँ! हे याहवेह, अब तपाईंले काम गर्ने समय आएको छ; तपाईंको व्यवस्था भङ्ग भएको छ। किनकि मैले तपाईंका आज्ञाहरूलाई सुन, र निखुर सुनभन्दा पनि बढी प्रेम गर्दछु, किनकि म तपाईंका सम्पूर्ण विधिहरू उचित ठान्दछु; अनि हरेक खराब मार्गलाई म घृणा गर्दछु। तपाईंका कानुनहरू अद्भुत छन्; त्यसैले तिनलाई म पालन गर्छु। तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ; त्यसले सोझाहरूलाई समझशक्ति दिन्छ। म तपाईंका आज्ञाहरूका तिर्सनाले आफ्नो मुख खोल्छु, र सुस्केरा हाल्दछु। तपाईंको नामलाई प्रेम गर्नेहरूलाई तपाईंले सदा गरेझैँ, मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्! तपाईंको वचनअनुसार मेरा पाइलाहरूलाई डोर्याउनुहोस्; र कुनै पापले ममाथि राज्य नगरोस्! मानिसका अत्याचारबाट मलाई मोल तिरेर छुटाउनुहोस्, ताकि म तपाईंका विधिहरू पालन गर्न सकूँ। तपाईंको सेवकमाथि आफ्नो मुहार चम्काउनुहोस्; र तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्! मेरा आँखाहरूबाट आँसुका धारा बग्छन्; किनकि तपाईंको व्यवस्था पालन गरिएको छैन। हे याहवेह, तपाईं धर्मी हुनुहुन्छ, अनि तपाईंका नियमहरू सही छन्। तपाईंले स्थापित गर्नुभएका कानुनहरू धार्मिक छन्; तिनीहरू पूर्ण रूपले भरपर्दा छन्। मेरो जोशले मलाई खाइसकेको छ; किनकि मेरा शत्रुहरूले तपाईंका वचनहरू वास्ता गर्दैनन्। तपाईंका प्रतिज्ञाहरू सम्पूर्ण रूपले जाँच गरिएका छन्; र तपाईंको सेवकले तिनलाई प्रेम गर्दछ। म क्षुद्र र तुच्छ छु; तापनि म तपाईंका विधिहरू बिर्संदिनँ। तपाईंको धार्मिकता अनन्तकाल छ; अनि तपाईंको व्यवस्था सत्य छ। ममाथि दुःख र कष्ट आइलागेका छन्; तर तपाईंका आज्ञाहरूले मलाई हर्षित बनाउँछन्। तपाईंका कानुनहरू सदा धार्मिक छन्; मलाई समझशक्ति दिनुहोस्, ताकि म जीवित रहन सकूँ।
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:105-144
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू