YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:105-144

भजनसंग्रह 119:105-144 सरल नेपाली

तपाईंको वचन मलाई अगुवाइ गर्ने बत्ती र मलाई बाटो देखाउने ज्‍योति हो। तपाईंका उचित अर्तीहरू मान्‍न मैले गरेको गम्‍भीर प्रतिज्ञा म पूरा गर्नेछु। परमप्रभु, मेरा दु:ख-कष्‍ट साँच्‍चै डरलाग्‍दा छन्, आफ्‍नो प्रतिज्ञाअनुसार मलाई जीवित राख्‍नुहोस्। हे परमप्रभु! मेरो धन्‍यवादको प्रार्थना ग्रहण गर्नुहोस् र मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्। म सधैँ आफ्‍नो जीवन खतरामा हाल्‍न तयार छु, मैले तपाईंको व्‍यवस्‍था बिर्सेको छैनँ। दुष्‍ट मानिसहरूले मलाई पासो थाप्‍छन्, तर मैले तपाईंका आज्ञाहरू मानेको छु। तपाईंका आज्ञाहरू मेरो अनन्‍तकालको धन हुन्, ती मेरा हृदयको रमाहट हुन्। म नमरुञ्‍जेलसम्‍म मैले तपाईंका व्‍यवस्‍थाहरू मान्‍ने निश्‍चय गरेको छु। जसको तपाईंमाथि पूरा भक्ति छैन, म तिनीहरूलाई घृणा गर्दछु, तर म तपाईंको व्‍यवस्‍थालाई प्रेम गर्दछु। तपाईं नै मलाई बचाउने र मेरा रक्षक हुनुहुन्‍छ, म तपाईंको प्रतिज्ञामा आफ्‍नो आशा राख्‍दछु। पापी मानिसहरू तिमीहरू मदेखि टाढा हट, म मेरा परमेश्‍वरका आज्ञाहरू मान्‍नेछु। आफ्‍नो प्रतिज्ञाअनुसार मलाई बल दिनुहोस् र म जिउनेछु, मेरो आशामा मलाई निराश नपार्नुहोस्। मलाई समातेर थाम्‍नुहोस् र म कुशल रहनेछु र सधैँ म तपाईंका आज्ञाहरूमा ध्‍यान दिनेछु। तपाईंका व्‍यवस्‍थाहरू नमान्‍नेलाई तपाईं अस्‍वीकार गर्नुहुन्‍छ, तिनीहरूका छलले भरिएका युक्तिहरू बेकामका छन्। सबै दुष्‍टहरूलाई तपाईंले कसिङ्गरजस्‍तै गर्नुहुन्‍छ, यसैले म तपाईंका शिक्षाहरूलाई प्रेम गर्दछु। तपाईंको डरको कारणले मेरो शरीर काम्दछ तपाईंका न्‍यायको कारणले ममा डर भरिएको छ। मैले असल र ठीक कुराहरू गरेको छु, मलाई मेरा शत्रुहरूका हातमा नछोडिदिनुहोस्। आफ्‍नो दासलाई सहायता गर्दछु भनी प्रतिज्ञा गर्नुहोस्, अहङ्कारी मानिसहरूले मलाई सताउन नपाऊन्। तपाईंले मलाई बचाउन मद्दत र प्रतिज्ञा गर्नुभएको उद्धारको बाटो हेर्दाहेर्दा मेरा आँखा थाकिसके। आफ्‍नो अनन्‍त प्रेमअनुसार मसँग व्‍यवहार गर्नुहोस् र मलाई तपाईंका आज्ञाहरू सिकाउनुहोस्। म तपाईंको दास हुँ, मलाई समझशक्ति दिनुहोस् र मलाई तपाईंका शिक्षाहरूको ज्ञान हुनेछ। हे परमप्रभु! अब तपाईंले काम गर्नुपर्ने समय आएको छ किनभने मानिसहरूले तपाईंको नियम मान्‍न छोडेका छन्। म तपाईंका आज्ञाहरूलाई सुन, अँ, सबैभन्दा राम्रो सुनभन्दा पनि धेरै प्रेम गर्दछु। यसैकारण म तपाईंका सबै अर्तीहरू मान्‍दछु र सबै दुष्‍ट चालहरू घृणा गर्दछु। तपाईंका शिक्षाहरू उदेकका छन्, म ती सबै आफ्‍नो हृदयबाट मान्‍छु। तपाईंका शिक्षाहरूको अर्थ खोलिंदा हामीले ज्‍योति पाउँछौं र अज्ञानीहरूले बुद्धि पाउँछन्। तपाईंका आज्ञाहरू मान्‍ने इच्‍छा राखेकाले गर्दा म आफ्‍नो मुख खोल्‍दछु र तिर्सना गर्दछु। जसरी तपाईंसँग प्रेम गर्नेहरूतिर तपाईं फर्कनुहुन्‍छ र कृपा गर्नुहुन्‍छ, त्‍यसरी नै मसँग गर्नुहोस्। तपाईंले प्रतिज्ञा गर्नुभएकोअनुसार मलाई लोट्‍नुदेखि बचाउनुहोस्, मलाई खराबीले नजितोस्। मलाई सताउनेहरूदेखि मलाई बचाउनुहोस्, म तपाईंका आज्ञाहरू मान्‍न सकूँ। तपाईंको उपस्‍थितिले मलाई आशिष् दिनुहोस् र तपाईंका व्‍यवस्‍थाहरूको शिक्षा मलाई दिनुहोस्। मेरा आँसु नदीझैँ बग्‍दछ, किनभने मानिसहरूले तपाईंको व्‍यवस्‍था मान्‍दैनन्। परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, तपाईंका व्‍यवस्‍थाहरू न्‍यायपूर्ण छन्। तपाईंले दिनुभएका व्‍यवस्‍थाहरू सबै प्रकारले ठीक र धार्मिक छन्। मेरो रिस मभित्र आगोजस्‍तै जल्‍दछ किनभने मेरा शत्रुहरूले तपाईंका आज्ञाहरू मान्‍दैनन्। तपाईंको प्रतिज्ञा कति पक्‍का छ, म त्‍यसलाई कति प्रेम गर्दछु! म तुच्‍छ छु र हेलित छु। तर म तपाईंका शिक्षाहरूलाई हेला गर्दिनँ। तपाईंको धार्मिकता सदाकाल रहनेछ र तपाईंको व्‍यवस्‍था सधैँ सत्‍य छ। म कष्‍ट र चिन्‍ताले भरिएको छु, तर तपाईंका आज्ञाले मलाई रमाहट दिँदछ। तपाईंका अर्तीहरू सधैँ न्‍यायपूर्ण छन्, मलाई समझशक्ति दिनुहोस् र म जीवित रहनेछु।

भजनसंग्रह 119 पढ्नुहोस्