YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 106:7-21

भजनसंग्रह 106:7-21 NCV

हाम्रा पितापुर्खा इजिप्टमा हुँदा, तिनीहरूले तपाईंका अचम्मका कामहरूको वास्तै गरेनन्; तिनीहरूले तपाईंको अपार दयाको सम्झना नै गरेनन्; र लाल समुद्रको किनारमा तिनीहरूले तपाईंको विद्रोह गरे। तापनि आफ्नो महान् पराक्रम प्रकट होस् भनी आफ्नो नामको खातिर, उहाँले तिनीहरूलाई बचाउनुभयो। उहाँले लाल समुद्रलाई हकार्नुभयो, र त्यो सुकिहाल्यो; उहाँले तिनीहरूलाई समुद्रको गहिराइहरूमा सुक्खा जमिनमाथि जस्तै गरी पार गराउनुभयो। उहाँले तिनीहरूलाई वैरीका हातबाट बचाउनुभयो; उहाँले तिनीहरूलाई शत्रुको हातबाट उद्धार गर्नुभयो। तिनीहरूका विरोधीहरूलाई पानीले डुबायो; तिनीहरूमध्ये एउटै पनि बाँचेनन्। तब तिनीहरूले उहाँका प्रतिज्ञाहरूमाथि विश्‍वास गरे; र उहाँको प्रशंसाको गीत गाए। तर तिनीहरूले तुरुन्तै उहाँका कामहरू बिर्सिहाले; र तिनीहरूले उहाँको निर्देशनको प्रतीक्षा गरेनन्। मरुभूमिमा तिनीहरू धेरै नै खाने लालसामा परे; तिनीहरूले उजाडस्थानमा परमेश्‍वरको जाँच गरे। त्यसैले उहाँले तिनीहरूलाई मागेअनुसार दिनुभयो, तर तिनीहरूका बीचमा महामारी पठाउनुभयो। तिनीहरूले छाउनीमा मोशासित र याहवेहमा अर्पण गरिएका हारूनसँग डाह गरे। तब धर्ती फाटेर दातानलाई निल्यो; र अबीरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्क्यो; ज्वालाले दुष्‍टहरूलाई भस्म पार्‍यो। होरेबमा तिनीहरूले एउटा बाछा बनाए; र धातुको त्यस मूर्तिलाई आराधना गरे। यसरी तिनीहरूले परमेश्‍वरलाई दिने आफ्ना महिमा घाँस खाने साँढेको मूर्तिसँग साटे। तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले इजिप्टमा महान् कामहरू गर्नुभएको थियो

भजनसंग्रह 106 पढ्नुहोस्