YouVersion लोगो
खोज आइकन

फिलिप्पी 4

4
निष्कर्षमा स्थिर र एकतामा रहन विन्ती
1यसकारण मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरूहो, म तिमीहरूलाई प्रेम गर्दछु र तिमीहरूको चाहना गर्दछु। तिमीहरू नै मेरो आनन्द र मुकुट हौ। हे प्रिय मित्रहरू, यसरी नै प्रभुमा स्थिर रहो।
2म इयोदिया र सुन्तुखे दुवैलाई प्रभुमा एउटै मनका होओ भनी विनम्रपूर्वक विन्ती गर्दछु। 3अनि मेरो साँचो सहकर्मी, म तिमीलाई पनि विन्ती गर्दछु, यी स्त्रीहरूलाई मदत गर। तिनीहरूले मसँगै सुसमाचारको निम्ति क्लेमेण्टसँग र मेरा अरू सहकर्मीहरूसँग जोशसँग परिश्रम गरेका छन्, जसको नाउँ जीवनको पुस्तकमा लेखिएका छन्।
अन्तिम अर्तिहरू
4प्रभुमा सधैं आनन्द गर; म फेरि पनि भन्दछु: आनन्द गर! 5तिमीहरूको नम्रता सबै मानिसहरूलाई थाहा होस्। प्रभुको आगमन नजिकै छ। 6कुनै पनि कुराको निम्ति चिन्तित नहोओ, तर हरेक अवस्थामा प्रार्थना र अन्तर्विन्तीद्वारा धन्यवादसाथ तिमीहरूको माग परमेश्‍वरमा जाहेर गर। 7तब सबै समझभन्दा माथि रहेको परमेश्‍वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्‍ट येशूमा सुरक्षित राख्नेछ।
8अन्त्यमा, दाजुभाइ-दिदीबहिनीहरूहो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो ठीक छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेमको योग्य छ, जे कुरो सराहनीय छ, यदि केही कुरा सर्वश्रेष्‍ठ र प्रशंसायोग्य छ भने, यी नै कुराहरूको विचार गर। 9जे कुरा तिमीहरूले मबाट सिक्यौ अथवा ग्रहण गर्‍यौ अथवा सुन्यौं अथवा ममा देख्यौ, ती कुरालाई व्यवहारमा लागू गर, र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ।
भेटीको लागि धन्यवाद
10अन्त्यमा, म प्रतिको तिमीहरूको वास्ता फेरि पलाएकोमा, म प्रभुमा अत्यन्तै आनन्दित छु। वास्तवमा तिमीहरूले मेरो वास्ता गर्दथ्यौ, तर तिमीहरूले त्यो देखाउने मौका पाएका थिएनौ। 11म खाँचोमा परेको छु भनेर मैले यसो भनेको होइन, किनकि जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहन मैले सिकेको छु। 12म खाँचोमा पर्नु भनेको के हो, सो जान्दछु; र प्रशस्ततामा हुनु भनेको के हो, त्यो म जान्दछु। चाहे भरपेट हुँदा होस् वा भोकप्यासमा होस्, चाहे प्रशस्ततामा रहँदा होस् वा अभावमा होस्, जुनसुकै परिस्थितिमा पनि सन्तुष्‍ट रहने रहस्य मैले सिकेको छु। 13उहाँमा म सबै कुरा गर्न सक्छु, जसले मलाई शक्‍ति दिनुहुन्छ।
14मेरो कष्‍टमा सहभागी हुनु तिमीहरूको लागि असल हो। 15यसभन्दा पनि बढी तिमी फिलिप्पीहरू जान्दछौ कि, तिमीहरूले सुसमाचार सुनेका सुरुका दिनहरूमा, जब म म्यासिडोनियाबाट विदा भएँ, तब तिमीहरूबाहेक अरू कुनै पनि मण्डली मसँग लिने र दिने कुरामा सहभागी भएको थिएन। 16किनकि जब म थेसलोनिकीमा थिएँ, खाँचोमा परेको बेला एकपटक भन्दा धेरै तिमीहरूले मलाई सहायता दियौ। 17मैले तिमीहरूबाट कुनै उपहार खोजेको होइन; तर मैले त्योभन्दा धेरै तिमीहरूकै खातामा जम्मा हुने नाफाको चाहना गर्दछु। 18मैले पूरा मोल प्राप्‍त गरेको छु, र यो मेरो लागि पर्याप्‍त छ। मलाई प्रशस्त मात्रामा दिइएको छ, किनकि अहिले इपाफ्रोडिटसको हातमा तिमीहरूले पठाएको भेटी पनि मैले प्राप्‍त गरेको छु। त्यो मिठो बास्‍नादार भेटी, परमेश्‍वरलाई ग्रहणयोग्य र प्रसन्‍न तुल्याउने बलिदान भएको छ। 19र मेरा परमेश्‍वरले तिमीहरूका सबै खाँचाहरू उहाँको महिमाको सम्पत्तिअनुसार ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।
20हाम्रा परमेश्‍वर पितालाई सदा-सर्वदाको लागि महिमा होस्। आमेन!
आखिरी अभिवादन
21ख्रीष्‍ट येशूमा परमेश्‍वरका सबै जनहरूलाई अभिवादन भनिदेओ।
मसँग भएका दाजुभाइ-दिदीबहिनीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
22यहाँ भएका परमेश्‍वरका सबै सन्तहरूले, विशेष गरी सिजरका घरानाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
23प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्। आमेन!

अहिले सेलेक्ट गरिएको:

फिलिप्पी 4: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्