YouVersion लोगो
खोज आइकन

फिलिप्पी 3:7-21

फिलिप्पी 3:7-21 NCV

तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्‍टको निम्ति म व्यर्थको ठान्दछु। हो, मेरा प्रभु ख्रीष्‍ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु, त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ। उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्‍टमाथिको विश्‍वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्‍वासको आधारमा परमेश्‍वरबाट आउँछ। म ख्रीष्‍टलाई जान्‍न चाहन्छु, अनि उहाँको पुनर्जीवनको शक्‍तिलाई, उहाँको कष्‍ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु, अनि जसरी भए पनि मरेकाहरूबाट पुनर्जीवित हुन सकूँ। मैले यी सबै कुरा प्राप्‍त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ, तर ख्रीष्‍ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु। दाजुभाइ-दिदीबहिनीहरूहो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: बितेका कुरालाई बिर्सेर, अगाडिका कुरातिर अघि बढ्ने प्रयत्‍न गर्दैछु, म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्‍त गर्ने लक्ष्यतर्फ अघि बढ्दैछु, जसको निम्ति परमेश्‍वरले ख्रीष्‍ट येशूमा मलाई बोलाउनुभएको छ। यसकारण हामी सबै जतिजना परिपक्व छौं, यस्तै कुराहरूको विचार गरौं; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्‍वरले तिमीहरूलाई स्पष्‍ट पारिदिनुहुनेछ। हामीले जे-जति प्राप्‍त गरिसकेका छौं, हामी त्यसैमा जिऔं। दाजुभाइ-दिदीबहिनीहरूहो, मेरो अनुकरण गर्ने होओ र हामीलाई अनुसरण गर्नेहरूबाट सिक। किनकि मैले तिमीहरूलाई पहिले घरी-घरी भनेझैं, अहिले फेरि पनि आँसुको साथ भन्दछु, कि धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रुहरूजस्तै गरी जिउँछन्। तिनीहरूका अन्त्य विनाश हो, तिनीहरूका पेट नै तिनीहरूका ईश्‍वर हो, र तिनीहरूका गर्व तिनीहरूकै शर्ममा छ। तिनीहरूका मन सांसारिक कुराहरूमा लागेको छ। तर हाम्रो नागरिकता स्वर्गमा छ, अनि हामीले स्वर्गबाट आउनुहुने मुक्‍तिदाता अर्थात् प्रभु येशू ख्रीष्‍टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौं। उहाँले जुन शक्‍तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्‍तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि तिनीहरूका शरीर उहाँको जस्तै महिमित शरीर हुनेछ।

फिलिप्पी 3 पढ्नुहोस्