YouVersion लोगो
खोज आइकन

फिलिप्पी 2:12-30

फिलिप्पी 2:12-30 NCV

यसैले मेरा प्रिय मित्रहरूहो, म तिमीहरूसँग हुँदा तिमीहरूले मेरा शिक्षाहरू सधैं पालन गरेका थियौ। अहिले म तिमीहरूदेखि टाढा छु, यसैले यो अझ महत्त्वपूर्ण छ। परमेश्‍वरमा आज्ञाकारी भई गहिरो भक्‍ति र भयका साथ आफ्नो मुक्‍तिका परिणामहरू देखाउन कडा परिश्रम गर। किनकि तिमीहरूमा काम गर्ने परमेश्‍वर नै हुनुहुन्छ, जसले उहाँको आफ्नो असल उद्देश्य पूरा गर्न तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुन्छ। सबै काम गनगन अथवा वाद-विवाद नगरी गर, ताकि तिमीहरू निर्दोष र शुद्ध भएर, “टेढो र भ्रष्‍ट पुस्ताको बीचमा परमेश्‍वरका निष्खोट सन्तान बन्‍न सक।” तब तिमीहरू तिनीहरूका माझ आकाशका ताराहरूझैं चम्कनेछौ। यसैले तिमीहरूले जीवनको वचनलाई दह्रो गरी पक्रिराख, ताकि म व्यर्थमा दौडिन अथवा व्यर्थमा परिश्रम गरिनँ भनी ख्रीष्‍टको पुनरागमनमा म गर्व गर्न सकूँ। तर यदि तिमीहरूको विश्‍वासबाट आएको सेवा र बलिदानमा म अर्घबलिको रूपमा बलि हुनुपरे तापनि म सबैसँग खुशी र आनन्दित हुन्छु। त्यसै गरी तिमीहरू पनि मसँगसँगै खुशी र आनन्दित हुनुपर्छ। म प्रभु येशूमा आशा गर्दछु, कि तिमोथीलाई चाँडै नै तिमीहरूकहाँ पठाउन सकूँ, ताकि म तिमीहरूको बारेमा खबर पाएर प्रसन्‍न हुन सकूँ। तिनी जस्तो अर्को मानिस मसित छैन, जसले तिमीहरूको भलाइको निम्ति साँच्‍चै वास्ता गर्छ। किनकि सबैले आफ्नै स्वार्थ मात्र खोज्दछन्, तर येशू ख्रीष्‍टको इच्छा खोज्दैनन्। तर तिमोथीले आफूलाई साबित गरेको कुरा तिमीहरूलाई थाहै छ, किनकि एउटा छोराले बुबासँगै काम गरेझैं, तिनले मसँगै सुसमाचारको काममा सेवा गरे। यसकारण मेरो परिस्थिति कस्तो हुन्छ भन्‍ने बुझेर, म तिनलाई चाँडोभन्दा चाँडो पठाउने आशा गर्दछु। अनि म प्रभुमा निश्‍चित छु, कि म आफै पनि चाँडै आउनेछु। तर मेरा भाइ, सहकर्मी र सङ्गी-सिपाही इपाफ्रोडिटस, जसलाई तिमीहरूले मेरा खाँचाहरूमा वास्ता गर्नलाई पठाएका तिमीहरूका दूत पनि हुन्, फेरि तिमीहरूकहाँ फर्काएर पठाउन मैले आवश्यक ठानेको छु। किनकि तिनले तिमीहरू सबैको तृष्णा गर्दछन् र तिनी बिरामी छन् भनी तिमीहरूले सुनेका हुनाले तिनी दुःखित भएका छन्। वास्तवमा तिनी बिरामी थिए, र झण्डै मरेका थिए। तर परमेश्‍वरले तिनीमाथि दया गर्नुभयो, तिनीमाथि मात्रै होइन, तर ममाथि पनि दया गर्नुभयो; ताकि ममाथि शोकमाथि अझै शोक नथपियोस्। यसैकारण पनि तिनलाई पठाउन म अझ बढी उत्सुक छु, ताकि तिनलाई फेरि देखेर तिमीहरू खुशी हुन सक र मेरो पनि चिन्ता कम होस्। यसैले तिनलाई ठूलो आनन्दसाथ प्रभुमा स्वागत गर, र तिनीजस्ता मानिसहरूलाई आदर गर, किनकि तिनी ख्रीष्‍टको कामको निम्ति झण्डै मृत्युमा पुगे। तिनले तिमीहरू आफैले मेरो निम्ति दिन नसकेको सेवा पूरा गर्नलाई आफ्नो जीवन जोखिममा हाले।

फिलिप्पी 2 पढ्नुहोस्