YouVersion लोगो
खोज आइकन

गन्ती 7:1-11

गन्ती 7:1-11 NCV

जब मोशाले समागम पाल खडा गरिसिद्ध्याए, तब तिनले त्यो स्थान र त्यसमा भएका सबै सरसामानहरूलाई अभिषेक गरेर पवित्र तुल्याए। तिनले वेदी र त्यसमा भएका सबै भाँडाहरूलाई पनि अभिषेक गरेर पवित्र तुल्याए। त्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए। तिनीहरूले याहवेहको सामु आफ्ना उपहारस्वरूप छ वटा छोपिएका गाडाहरू र बाह्र वटा गोरुहरू; हरेक एक अगुवाबाट एउटा गोरु र दुई अगुवाहरूबाट एउटा गाडाको हिसाबमा ल्याए। तिनीहरूले ती सबै थोकहरू समागम पालको सामु प्रस्तुत गरे। याहवेहले मोशालाई भन्‍नुभयो, “ती उपहारहरूलाई भेट हुने पालको काममा प्रयोग गर्नका निम्ति तिनीहरूबाट ग्रहण गर्। ती हरेक मानिसको काममा चाहिएअनुसार लेवीहरूलाई दे।” यसकारण मोशाले ती गाडाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए। गेर्शोनीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार पुजारीले दुई वटा गाडाहरू र चार वटा गोरुहरू दिए। अनि मरारीहरूलाई तिनीहरूको कामको खाँचोअनुसार चार वटा गाडाहरू र आठ वटा गोरुहरू दिए। यी सबै कामहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा भए। तर मोशाले कहातीहरूलाई केही पनि दिएनन्। किनकि तिनीहरूको जिम्मामा पवित्र कुराहरू आफ्ना काँधमा बोक्नुपर्ने थियो। जब वेदीको अभिषेक गरियो, तब अगुवाहरूले तिनीहरूका भेटीहरू समर्पणताका लागि ल्याए। अनि ती भेटीहरूलाई वेदीको सामु प्रस्तुत गरे। किनकि याहवेहले मोशालाई भन्‍नुभएको थियो, “वेदीको समर्पणताको निम्ति हरेक दिन एक-एक जना अगुवाले आ-आफ्नो भेटी ल्याऊन्।”

गन्ती 7 पढ्नुहोस्