बालामले बालाकलाई भने, “मेरा निम्ति यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढे र सात वटा भेडा तयार पार्नुहोस्।” बालामले भनेजस्तै बालाकले गरे, र ती दुवै जनाले प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए। तब बालामले बालाकलाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ अलि पर जान्छु। सायद याहवेह मसँग भेट गर्न आउनुहुनेछ। उहाँले मलाई जे प्रकाश गर्नुहुन्छ, म तपाईंलाई भन्नेछु।” तब तिनी एउटा उजाड-डाँडातिर गए। परमेश्वरले तिनीसँग भेट गर्नुभयो र बालामले उहाँलाई भने, “मैले सात वटा वेदीहरू तयार गराएँ; र प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाएँ।” याहवेहले बालामको मुखमा सन्देश हालिदिनुभयो र भन्नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दिनू।” यसकारण बालाम बालाककहाँ फर्केर गए। अनि मोआबका राजा र सबै अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए: तब बालामले आफ्नो सन्देश सुरु गरे: “बालाकले मलाई अरामबाट यहाँ ल्याए; मोआबका राजाले पूर्वका पर्वतहरूबाट बोलाए। तिनले भने, ‘आउनुहोस्, र मेरा निम्ति याकोबलाई श्राप दिनुहोस्: आउनुहोस् र इस्राएललाई धिक्कार्नुहोस्।’ परमेश्वरले जसलाई श्राप दिनुभएन, तिनीहरूलाई मैले कसरी श्राप दिऊँ? याहवेहले जसलाई धिक्कार्नुभएन, मैले कसरी धिक्कारूँ? मैले तिनीहरूलाई चट्टानको शिखरबाट हेरेँ; अग्ला ठाउँहरूबाट मैले तिनीहरूलाई देखेँ। मैले एउटा अलग्गै बस्ने जातिलाई देखेँ; तिनीहरूले आफूलाई अरू जातिहरूजस्ता ठान्दैनन्। याकोबको धुलोलाई कसले गन्न सक्छ, अथवा इस्राएलको चौथो भाग मात्रैलाई पनि कसले गन्न सक्छ? मेरो मृत्यु पनि धर्मी मानिसको मृत्युझैँ होस्! र मेरो जीवनको अन्त्य तिनीहरूको जस्तै होस्!” बालाक राजाले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्नलाई बोलाएको हुँ, तर तपाईंले त केही नगरेर तिनीहरूलाई आशिष् पो दिनुभएको छ!” बालामले जवाफ दिए, “याहवेहले मेरो मुखमा जे दिनुभएको छ, के मैले त्यही बोल्नुपर्दैन र?” त्यसपछि बालाकले तिनलाई भने, “मसँग अर्को ठाउँमा आउनुहोस्, जहाँबाट तपाईंले तिनीहरूलाई देख्न सक्नुहुन्छ। तपाईंले तिनीहरू सबैलाई होइन, तर तिनीहरूका छाउनीको बाहिरी भाग मात्र देख्न सक्नुहुन्छ। अनि त्यहाँबाट तपाईंले मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्।” यसकारण बालाक राजाले बालामलाई पिसगाको टुप्पोमा सोफिमको मैदानमा लगे, र त्यहाँ तिनले सात वटा वेदीहरू बनाए। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए। बालामले बालाक राजालाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ उहाँलाई त्यहाँ पर भेट्नेछु।”
गन्ती 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 23:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू