गन्ती 23:1-15
गन्ती 23:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बालामले बालाकलाई भने, “मेरो निम्ति सात वटा वेदी बनाइदिनुहोस्, अनि सात वटा साँढ़े र सात वटा भेड़ा तयार पारिदिनुहोस्।” बालामले भनेझैँ बालाकले गरे। बालाक र बालामले प्रत्येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए। बालामले बालाकलाई भने, “आफ्नो बलिनेर उभिनुहोस्। अब मचाहिँ उतातिर जानेछु, र शायद परमप्रभुले मलाई भेट गर्न आउनुहुन्छ होला। उहाँले मलाई जे-जस्तो देखाउनुहुन्छ, त्यो म तपाईंलाई बताउनेछु।” अनि तिनी उजाड़-स्थानतिर गए। परमेश्वरले बालामसित भेट गर्नुभयो। अनि बालामले उहाँलाई भने, “मैले सात वटा वेदी बनाएर तिनमा एउटा साँढ़े र एउटा भेड़ा चढ़ाएको छु।” परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो, र भन्नुभयो, “बालाककहाँ फर्किगएर तैंले भन्नुपर्ने कुरा यही हो।” अनि तिनी बालाककहाँ फर्केर गए। यस बेला बालाकचाहिँ मोआबका सारा मुख्य व्यक्तिहरूका साथ उनका बलिको सामुन्ने उभिरहेका थिए। तब बालामले यसरी आफ्नो ईश्वरवाणी दिए: “‘आउनुहोस्, मेरो निम्ति याकूबलाई सराप्नुहोस्। आउनुहोस्, ‘इस्राएललाई धम्की दिनुहोस्’ भनी मोआबका राजा बालाकले मलाई अरामबाट पूर्वका डाँड़ाहरूदेखि ल्याए। परमेश्वरले नै नसराप्नुभएकालाई मैले कसरी सराप्नु? परमप्रभुले नै धम्की नदिनुभएकालाई मैले कसरी धम्की दिनु? चट्टानहरूका टुप्पाबाट म तिनीहरूलाई देख्तछु, र डाँड़ाहरूबाट म तिनीहरूलाई हेर्दछु। हेर्, त्यो त एकलै बस्ने जाति हो, जसले अरू जातिहरूका बीचमा आफैलाई गन्दैन। याकूबको धूलो कसले गन्न सक्छ? अथवा इस्राएलको चौथो हिस्साका गन्ती पनि कसले गर्न सक्ने? मेरो मृत्यु धर्मात्माको जस्तो होस्, र मेरो अन्त तिनैको जस्तो होस्।” तब बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मेरा शत्रुहरूलाई सराप दिनलाई मैले तपाईंलाई ल्याएँ, तर तपाईंले त तिनीहरूलाई उल्टा आशिष् पो दिनुभयो।” तिनले जवाफमा भने, “परमप्रभुले मलाई दिनुभएको वचन नै मैले बोल्नुपर्दैन र?” तब बालाकले तिनलाई भने, “कृपा गरी मसित अर्को ठाउँमा आउनुहोस्। त्यहाँदेखि तपाईंले तिनीहरूलाई देख्नुहुनेछ। तपाईं तिनीहरूको केही भाग मात्र देख्नुहुन्छ, तर तिनीहरू सबैलाई देख्नुहुन्न। तिनीहरूलाई त्यहीँबाट मेरो निम्ति सराप दिनुहोस्।” तब उनले तिनलाई पिसगाको टाकुरामा भएको सोफीमको खेतमा लगे, र सात वटा वेदी बनाएर प्रत्येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए। बालामले बालाकलाई भने, “म परमप्रभुलाई भेट गर्न जाँदा तपाईंचाहिँ यहाँ आफ्ना बलिनेर उभिरहनुहोस्।”
गन्ती 23:1-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बालामले बालाकलाई भने, “मेरा निम्ति यहाँ सात वटा वेदीहरू बनाउनुहोस्। अनि मेरा निम्ति सात वटा साँढे र सात वटा भेडा तयार पार्नुहोस्।” बालामले भनेजस्तै बालाकले गरे, र ती दुवै जनाले प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए। तब बालामले बालाकलाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ अलि पर जान्छु। सायद याहवेह मसँग भेट गर्न आउनुहुनेछ। उहाँले मलाई जे प्रकाश गर्नुहुन्छ, म तपाईंलाई भन्नेछु।” तब तिनी एउटा उजाड-डाँडातिर गए। परमेश्वरले तिनीसँग भेट गर्नुभयो र बालामले उहाँलाई भने, “मैले सात वटा वेदीहरू तयार गराएँ; र प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाएँ।” याहवेहले बालामको मुखमा सन्देश हालिदिनुभयो र भन्नुभयो, “बालाककहाँ फर्केर जा, र त्यसलाई यो सन्देश दिनू।” यसकारण बालाम बालाककहाँ फर्केर गए। अनि मोआबका राजा र सबै अधिकारीहरूसँग आफ्नो होमबलिको छेउमा उभिरहेका भेट्टाए: तब बालामले आफ्नो सन्देश सुरु गरे: “बालाकले मलाई अरामबाट यहाँ ल्याए; मोआबका राजाले पूर्वका पर्वतहरूबाट बोलाए। तिनले भने, ‘आउनुहोस्, र मेरा निम्ति याकोबलाई श्राप दिनुहोस्: आउनुहोस् र इस्राएललाई धिक्कार्नुहोस्।’ परमेश्वरले जसलाई श्राप दिनुभएन, तिनीहरूलाई मैले कसरी श्राप दिऊँ? याहवेहले जसलाई धिक्कार्नुभएन, मैले कसरी धिक्कारूँ? मैले तिनीहरूलाई चट्टानको शिखरबाट हेरेँ; अग्ला ठाउँहरूबाट मैले तिनीहरूलाई देखेँ। मैले एउटा अलग्गै बस्ने जातिलाई देखेँ; तिनीहरूले आफूलाई अरू जातिहरूजस्ता ठान्दैनन्। याकोबको धुलोलाई कसले गन्न सक्छ, अथवा इस्राएलको चौथो भाग मात्रैलाई पनि कसले गन्न सक्छ? मेरो मृत्यु पनि धर्मी मानिसको मृत्युझैँ होस्! र मेरो जीवनको अन्त्य तिनीहरूको जस्तै होस्!” बालाक राजाले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्नलाई बोलाएको हुँ, तर तपाईंले त केही नगरेर तिनीहरूलाई आशिष् पो दिनुभएको छ!” बालामले जवाफ दिए, “याहवेहले मेरो मुखमा जे दिनुभएको छ, के मैले त्यही बोल्नुपर्दैन र?” त्यसपछि बालाकले तिनलाई भने, “मसँग अर्को ठाउँमा आउनुहोस्, जहाँबाट तपाईंले तिनीहरूलाई देख्न सक्नुहुन्छ। तपाईंले तिनीहरू सबैलाई होइन, तर तिनीहरूका छाउनीको बाहिरी भाग मात्र देख्न सक्नुहुन्छ। अनि त्यहाँबाट तपाईंले मेरा निम्ति तिनीहरूलाई श्राप दिनुहोस्।” यसकारण बालाक राजाले बालामलाई पिसगाको टुप्पोमा सोफिमको मैदानमा लगे, र त्यहाँ तिनले सात वटा वेदीहरू बनाए। अनि प्रत्येक वेदीमा एउटा साँढे र एउटा भेडा चढाए। बालामले बालाक राजालाई भने, “तपाईं यहाँ आफ्नो होमबलिको नजिक उभिनुहोस्। अनि मचाहिँ उहाँलाई त्यहाँ पर भेट्नेछु।”
गन्ती 23:1-15 पवित्र बाइबल (NERV)
बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा साँढे र सातवटा भेंडा मेरो निम्ति तयार पार।” बालाकले बिलामको इच्छा पुरा गरिदियो। ती दुइजनाले एक-एकवटा साँढे र भेंडा प्रत्येक वेदिमा बलि चढाए। त्यसपछि बिलामले बालाकलाई भने, “तिम्रो होमबलिको पछिल्तिर तिमी उभिनु अनि म कहीं जान्छु। शायद परमप्रभुले मलाई भेट्नु हुन्छ होला। उहाँले मलाई जे देखाउनु हुन्छ म तिमीलाई भन्नेछु।” यसर्थ तिनी एउटा पर्वतको शिखरमा गए। परमेश्वर बिलामलाई भेट्न आउनुभयो अनि उनले परमेश्वरलाई भने, “मैले सातवटा वेदी बनाएकोछु र एउटा साँढे र एउटा भेंडा बलिको निम्ति प्रत्येक वेदीमा चढाइएको छु।” तब परमप्रभुले बिलामलाई उसले के भन्नु पर्ने बताउनु भयो, “बालाककहाँ फर्क र उसलाई यो भन।” यसर्थ बिलाम बालाककहाँ फर्के। त्यहाँ बलाक आफूले चढाएको बलिको नजिकै अन्य मोआबका मुख्य व्यक्तिहरूसित उभिरहेका थिए। तब बिलामले यी कुराहरू भनेः “बालाक, मोआबका राजाले मलाई यहाँबाट अरामको पूर्वोत्तर पर्वतहरूमा लगे। बालाकले मलाई भने, ‘आऊ मेरो निम्ति याकूबलाई शराप। आऊ इस्राएलका मानिसहरूको विरोधमा बोल।’ कसरी म केही कुरालाई सराप्नु? जसलाई परमेश्वरले सरापेको छैन, कसरी म कसैको विरूद्धमा बोल्नु? जसलाई परमप्रभुले विरोध गर्नु भएको छैन्। म पर्वतबाट ती मानिसहरूलाई देख्छु, म तिनीहरूतिर अग्लो पर्वतबाट हेर्छु, तिनीहरूले एकान्तमा बस्छन्, तिनीहरू आफैंलाई जातिहरू मध्येको एक जाति भनी सोच्दैनन्। याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्? तिनीहरूको संख्या धूलोको कण जत्तिकै असंख्य छ। तिनीहरूका चार भागको एक भाग पनि कसैले गन्न सक्तैन। मेरो आत्माले असल मृत्यु पाओस्, मेरो जीवन तिनीहरूको झैं खुशीयालीमा अन्त होस्।” त्यसपछि बालाकले बिलामलाई भने, “तपाईंले मलाई के गर्नु भयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न ल्याएँ तर तपाईंले तिनीहरूलाई आशीर्वाद दिनुभयो।” बिलामले उत्तर दिए, “म परमप्रभुले भन्नु भएको वचन मात्र बोल्नु होशियार रहनु पर्छ।” त्यसपछि बालाकले उसलाई भने, “तपाईं मसँग यता अर्को ठाँउमा आउनु, जहाँबाट ती मानिसहरूलाई अझ वेशी संख्यामा देख्न सक्नु हुन्छ। तपाईंले तिनीहरू सबैलाई देख्न सक्नुहुन्न खाली एक भाग मात्र देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईंले मेरो पक्षमा सराप्नु होस्।” तब बालाकले बिलामलाई पिसगा पर्वतको चोटीमा भएको सोफीमको खेतमा लगे अनि त्यहाँ बालाकले सातवटा वेदी बनाई एउटा साँढे र एउटा भेंडा प्रत्येक वेदीमा बलि दिए। तब बिलामले बालाकलाई भने, “यो वेदी नजिक तिमी बस। म परमेश्वरलाई भेट्न त्यस ठाँउमा जान्छु।”
गन्ती 23:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनले बालाकलाई भने, “यहाँ मेरो निम्ति सातवटा वेदीहरू बनाउनुहोस् र सातवटा साँढे र सातवटा भेडाहरू ल्याउनुहोस्।” बालाकले बालामले भनेझैँ गरे र ती दुईले हरेक वेदीमा एउटा साँढे र एउटा साँढ-भेडा बलि चढाए। तब बालामले बालाकलाई भने, “यहाँ तपाईं होमबलिको छेउमा उभिनुहोस्। मचाहिँ गएर परमप्रभुले मसित भेट गर्नुहुन्छ कि हुन्न, सो बुझ्नेछु। उहाँले मलाई जे देखाउनुहुन्छ, त्यो म तपाईंलाई भन्नेछु।” यसकारण बालाम एक्लै एउटा डाँडामाथि गए र परमेश्वरले तिनलाई भेट्नुभयो। बालामले भने, “मैले सातवटा वेदी बनाएर हरेकमा एक-एक वटा साँढे र साँढ-भेडा बलि चढाएको छु।” बालामले के बोल्नुपर्ने, त्यो उनलाई परमप्रभुले भन्नुभयो र त्यो कुरा बालाकलाई सुनाउन उनलाई फर्कन लाउनुभयो। बालाम फर्के र बालाकलाई मोआबका सबै अगुवाहरूसँग होमबलिको छेउमा उभिरहेको भेटे। बालामले यो अगमवाणी गरे: “बालाक, मोआबको राजाले मलाई अरामबाट पूर्वका पहाडहरूबाट ल्याउनुभयो, ‘आएर मेरो लागि बोलिदेऊ,’ उहाँले भन्नुभयो, ‘इस्राएलीहरूमाथि सराप देऊ!’ जसलाई परमेश्वरले सराप्नुभएको छैन, त्यसलाई म कसरी सरापूँ? परमप्रभु नबोली कसरी म तिनको सर्वनाशको कुरा गरूँ? अग्ला चट्टानहरूबाट म तिनीहरूलाई देख्न सक्छु, पहाडहरूबाट म तिनीहरूलाई हेर्न सक्छु। तिनीहरू छुट्टै बाँच्ने जाति हुन्; तिनीहरू अरू जातिहरूभन्दा आशिष्मय छन् भनी तिनीहरू जान्दछन्। इस्राएलका सन्तान धुलाजस्ता छन्: तिनीहरू यति धेरै छन् कि तिनको गन्ती लिन सकिँदैन। परमेश्वरका मानिसहरूजस्तै मेरो आयु बितोस्, धर्मी मानिसझैँ म शान्तिसित मर्न सकूँ।” तब बालाकले बालामलाई भने, “तिमीले मसित यो के गरेको? मेरा शत्रुहरूलाई सराप दिन भनी मैले तिमीलाई यहाँ ल्याएँ। तर तिमीले त तिनीहरूलाई आशिष् पो दियौ।” बालामले जवाफ दिए, “जे कुरा परमप्रभुले मलाई भन्न लाउनुहुन्छ, म त्यति मात्र भन्न सक्छु।” तब बालाकले बालामलाई भने, “मसित अर्को ठाउँमा जाऔँ, जहाँबाट नजिकका इस्राएलीहरूलाई मात्र देखिन्छ। त्यहाँबाट मेरो खातिर तिनीहरूलाई सराप देऊ।” उनले तिनलाई पिसगाको टाकुरामाथि सोफीमको मैदानमा लगे। त्यहाँ पनि उनले सातवटा वेदी बनाए र प्रत्येकमा एउटा साँढे र एउटा साँढ-भेडा बलि चढाए। बालामले बालाकलाई भने, “यहाँ तपाईं होमबलिको छेउमा उभिनुहोस् र म परमेश्वरसित भेट गर्न जानेछु।”