YouVersion लोगो
खोज आइकन

गन्ती 23:1-15

गन्ती 23:1-15 NNRV

बालामले बालाकलाई भने, “मेरो निम्‍ति सात वटा वेदी बनाइदिनुहोस्, अनि सात वटा साँढ़े र सात वटा भेड़ा तयार पारिदिनुहोस्‌।” बालामले भनेझैँ बालाकले गरे। बालाक र बालामले प्रत्‍येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए। बालामले बालाकलाई भने, “आफ्‍नो बलिनेर उभिनुहोस्‌। अब मचाहिँ उतातिर जानेछु, र शायद परमप्रभुले मलाई भेट गर्न आउनुहुन्‍छ होला। उहाँले मलाई जे-जस्‍तो देखाउनुहुन्‍छ, त्‍यो म तपाईंलाई बताउनेछु।” अनि तिनी उजाड़-स्‍थानतिर गए। परमेश्‍वरले बालामसित भेट गर्नुभयो। अनि बालामले उहाँलाई भने, “मैले सात वटा वेदी बनाएर तिनमा एउटा साँढ़े र एउटा भेड़ा चढ़ाएको छु।” परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो, र भन्‍नुभयो, “बालाककहाँ फर्किगएर तैंले भन्‍नुपर्ने कुरा यही हो।” अनि तिनी बालाककहाँ फर्केर गए। यस बेला बालाकचाहिँ मोआबका सारा मुख्‍य व्‍यक्तिहरूका साथ उनका बलिको सामुन्‍ने उभिरहेका थिए। तब बालामले यसरी आफ्‍नो ईश्‍वरवाणी दिए: “‘आउनुहोस्, मेरो निम्‍ति याकूबलाई सराप्‍नुहोस्‌। आउनुहोस्, ‘इस्राएललाई धम्‍की दिनुहोस्‌’ भनी मोआबका राजा बालाकले मलाई अरामबाट पूर्वका डाँड़ाहरूदेखि ल्‍याए। परमेश्‍वरले नै नसराप्‍नुभएकालाई मैले कसरी सराप्‍नु? परमप्रभुले नै धम्‍की नदिनुभएकालाई मैले कसरी धम्‍की दिनु? चट्टानहरूका टुप्‍पाबाट म तिनीहरूलाई देख्‍तछु, र डाँड़ाहरूबाट म तिनीहरूलाई हेर्दछु। हेर्, त्‍यो त एकलै बस्‍ने जाति हो, जसले अरू जातिहरूका बीचमा आफैलाई गन्‍दैन। याकूबको धूलो कसले गन्‍न सक्‍छ? अथवा इस्राएलको चौथो हिस्‍साका गन्‍ती पनि कसले गर्न सक्‍ने? मेरो मृत्‍यु धर्मात्‍माको जस्‍तो होस्, र मेरो अन्‍त तिनैको जस्‍तो होस्‌।” तब बालाकले बालामलाई भने, “तपाईंले मलाई के गर्नुभयो? मेरा शत्रुहरूलाई सराप दिनलाई मैले तपाईंलाई ल्‍याएँ, तर तपाईंले त तिनीहरूलाई उल्‍टा आशिष्‌ पो दिनुभयो।” तिनले जवाफमा भने, “परमप्रभुले मलाई दिनुभएको वचन नै मैले बोल्‍नुपर्दैन र?” तब बालाकले तिनलाई भने, “कृपा गरी मसित अर्को ठाउँमा आउनुहोस्‌। त्‍यहाँदेखि तपाईंले तिनीहरूलाई देख्‍नुहुनेछ। तपाईं तिनीहरूको केही भाग मात्र देख्‍नुहुन्‍छ, तर तिनीहरू सबैलाई देख्‍नुहुन्‍न। तिनीहरूलाई त्‍यहीँबाट मेरो निम्‍ति सराप दिनुहोस्‌।” तब उनले तिनलाई पिसगाको टाकुरामा भएको सोफीमको खेतमा लगे, र सात वटा वेदी बनाएर प्रत्‍येक वेदीमा एक-एक वटा साँढ़े र एक-एक वटा भेड़ा चढ़ाए। बालामले बालाकलाई भने, “म परमप्रभुलाई भेट गर्न जाँदा तपाईंचाहिँ यहाँ आफ्‍ना बलिनेर उभिरहनुहोस्‌।”