याहवेहको स्वर्गदूतले तिनलाई सोधे, “तैँले आफ्नो गधालाई किन यसरी तीन पल्ट हिर्काइस्? म तेरो विरोध गर्न आएको छु। किनकि तेरो चाल मेरो इच्छा विपरीत छ। यस गधाले मलाई देखेर यसरी तीन पटक बाटो तर्क्यो। यदि त्यो नतर्केको भए मैले तँलाई अहिलेसम्म निश्चय नै मारिसकेको हुनेथिएँ। अनि त्यसलाई चाहिँ जीवितै छोड्नेथिएँ।” बालामले याहवेहको स्वर्गदूतलाई भने, “मैले पाप गरेको छु। मलाई रोक्न तपाईं बाटोमा उभिरहनुभएको मैले थाहै पाइनँ। अब यदि तपाईंको दृष्टिमा बेठीक छ भने म फर्केर जानेछु।” याहवेहका स्वर्गदूतले बालामलाई भने, “यी मानिसहरूसँग जा; तर मैले तँलाई भनेको कुरा मात्र भन्नू।” यसकारण बालाकका अधिकारीहरूसँग बालाम गए। जब बालाकले बालाम आउँदैछन् भन्ने कुरा सुने, तब तिनी उनलाई आफ्नो प्रान्तको किनारमा अर्नोनको सिमानामा भएको मोआबी सहरमा भेट्नलाई निस्के। बालाकले बालामलाई भने, “के मैले तपाईंलाई जरुरी सन्देश पठाइनँ र? तर तपाईं मलाई भेट्नलाई किन आउनुभएन? के साँच्चै मैले तपाईंलाई इनाम दिन सक्दिनँ जस्तो लाग्यो?” बालामले जवाफ दिए, “हेर्नुहोस्, अहिले म तपाईंकहाँ आएको छु। तर मलाई जे मन लाग्यो, त्यो भन्न सक्दिनँ। मैले त याहवेहले मेरो मुखमा जे हालिदिनुहुन्छ, त्यही मात्र भन्नुपर्छ।” तब बालाम बालाकसँग किर्यत-हुस्सोतको सहरमा गए। बालाकले गाईबस्तु र भेडाको बलि चढाए। अनि केही बालामलाई र तिनीसँग हुने अधिकारीहरूलाई दिए। भोलिपल्ट बिहानै बालाकले बालामलाई बामोत-बालको शिखरमा लगे। अनि त्यहाँबाट तिनले इस्राएलीहरूको छाउनीको बाहिरी भाग देखे।
गन्ती 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 22:32-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू