YouVersion लोगो
खोज आइकन

गन्ती 15:17-41

गन्ती 15:17-41 NCV

याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएली मानिसहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘जब तिमीहरू मैले लैजाँदैगरेको देशमा प्रवेश गर्नेछौ, तब तिमीहरूले त्यस देशको भोजन खाँदा एक भाग भेटीको रूपमा याहवेहलाई चढाउनू। तिमीहरूको खलाबाट आएको पहिलो नयाँ फसलको अन्‍नको पिठोबाट बनाएको रोटी भेटीको रूपमा चढाउनू। आउने पुस्ताभरि नै तिमीहरूले याहवेहलाई आफ्नो जमिनको पहिलो बालीको पिठोबाट अगौटे भेटी चढाउनू। “ ‘यदि याहवेहले मोशालाई दिनुभएको आज्ञाहरूलाई अनजानमा तिमीहरूले पूरा गर्न सकेनौ भने अर्थात् याहवेहले मोशाद्वारा दिनुभएका आज्ञाहरू, उहाँले दिनुभएको दिनदेखि अहिलेसम्म र आउने पुस्ताहरूले पनि यी आज्ञाहरू पालन गर्न चुके भने— र यदि तिमीहरूले यी समुदायले थाहा नपाई अनजानमा गर्‍यौ भने सारा समुदायले याहवेहका निम्ति मनपर्दो मिठो बास्‍नाको रूपमा होमबलिको निम्ति एउटा बहर, साथै तोकिएको अन्‍नबलि र अर्घबलि अनि पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि चढाउनू। पुजारीले सारा इस्राएली समुदायका निम्ति पापको प्रायश्‍चित गरोस्, र तिनीहरूलाई क्षमा हुनेछ। किनकि त्यो तिनीहरूले अनजानमा गरेको भूल हुनाले याहवेहकहाँ अन्‍नबलि र पाप शुद्धीकरण बलि ल्याएका हुन्। सारा इस्राएली समुदाय र तिनीहरूसँग बसोबास गर्ने परदेशीहरूले पनि क्षमा पाउनेछन्। किनभने ती सबै मानिसहरूले अनजानमा भूल गरेका थिए। “ ‘तर यदि एक जनाले मात्र अनजानमा पाप गर्‍यो भने त्यसले पाप शुद्धीकरण बलिका निम्ति बाख्राको एकवर्षे पाठी ल्याओस्। पुजारीले अनजानमा पाप गर्ने त्यस व्यक्तिका निम्ति याहवेहको सामु प्रायश्‍चित गरोस्; र त्यसका निम्ति प्रायश्‍चित भएपछि त्यसलाई क्षमा हुनेछ। अनजानमा पाप गर्ने व्यक्ति स्वदेशमा जन्मेको इस्राएली होस्, अथवा तिमीहरूको बीचमा बसोबास गर्ने विदेशी होस्, सबैका निम्ति एउटै नियम लागू हुनेछ। “ ‘तर चाहे स्वदेशमा जन्मेको होस्, अथवा विदेशी होस्, यदि कसैले अनादरपूर्वक जानाजानी पाप गर्‍यो र याहवेहको नामको निन्दा गर्‍यो भने त्यस व्यक्तिलाई इस्राएली समाजबाट बहिष्कार गरिनुपर्छ। किनभने तिनीहरूले याहवेहको वचन तिरस्कार गरे। अनि उहाँका आज्ञाहरू भङ्ग गरेको कारण तिनीहरूलाई निश्‍चय नै बहिष्कार गरिनुपर्छ। तिनीहरूको दोषको दण्ड तिनीहरूमाथि नै पर्नेछ।’ ” इस्राएलीहरू उजाडस्थानमा हुँदा एक जना मानिस विश्रामदिनमा दाउरा बटुलिरहेको भेटियो। अनि जसले त्यसलाई दाउरा बटुलिरहेको भेट्टाए, तिनीहरूले त्यसलाई मोशा, हारून र सारा समुदायकहाँ ल्याए। अनि त्यसलाई के गर्नुपर्ने हो, स्पष्‍ट थाहा भएन। यसैले तिनीहरूले त्यसलाई थुनामा राखे। तब याहवेहले मोशालाई भन्‍नुभयो, “त्यो मानिस मर्नैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गाले हानेर मार्नुपर्छ।” यसकारण समुदायले त्यसलाई छाउनीबाहिर लगेर याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार ढुङ्गाले हानेर मारे। याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘आउने पुस्ताभरिका लागि तिमीहरूका वस्त्रहरूका कुनामा निलो धागोको झुम्काहरू बनाउनू। यी झुम्काहरू तिमीहरूले हेर्नलाई होस्, जसद्वारा तिमीहरूले याहवेहका सबै आज्ञाहरू सम्झनेछौ। अनि तिमीहरूका हृदय र आँखाका अभिलाषालाई पछ्याएर पथभ्रष्‍ट नभई उहाँको आज्ञाहरू पालन गर्नेछौ। तब तिमीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नलाई याद गर्नेछौ। अनि तिमीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र हुनेछौ। म याहवेह तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”

गन्ती 15 पढ्नुहोस्