परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘जब तिमीहरू मैले तिमीहरूलाई लैजाने देशमा पुग्छौ, तब तिमीहरूले त्यस देशको अन्न खाँदा परमप्रभुको निम्ति बलि चढ़ाउनू। आफ्नो पहिलो पीठोको फुरौला तिमीहरूले खलाबाट ल्याएको बलिजस्तो चढ़ाउनू। तिमीहरूका आउने पुस्तौँसम्म तिमीहरूले पहिलो पीठोबाट परमप्रभुको निम्ति बलि चढ़ाउनू। “‘तिमीहरूले भूल गरेर परमप्रभुले मोशालाई दिनुभएका यी सबै आज्ञाहरूमध्ये कुनै आज्ञा पालन गरेनौ, अर्थात् तिमीहरूका सारा पुस्तौँसम्म प्रथम दिनदेखि अहिलेसम्म परमप्रभुले मोशाद्वारा दिनुभएका आज्ञाहरूमध्ये कुनै आज्ञा पालन गरेनौ भने, र समुदायले थाहा नपाई त्यो काम अजानमा गरेको रहेछ भने, सारा समुदायले परमप्रभुलाई मन पर्ने मीठो बास्ना स्वरूप होमबलिको निम्ति एउटा बाछो, त्यसको अन्नबलि र अर्घ-बलिको साथमा विधिअनुसार चढ़ाओस्, र साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाओस्। पूजाहारीले इस्राएलीहरूका जम्मै समुदायको निम्ति प्रायश्चित गरून्, र तिनीहरूलाई क्षमा हुनेछ, किनभने त्यो अजानमा गरिएको थियो, र तिनीहरूले आफ्नो अधर्मको निम्ति परमप्रभुलाई आगोद्वारा चढ़ाइएको बलि र पापबलि परमप्रभुको सामुन्ने ल्याएका छन्। यसरी इस्राएलीहरूका सारा समुदाय र तिनीहरूका बीचमा बस्ने प्रवासीलाई पनि क्षमा गरिनेछ, किनभने सबै मानिसहरू अजानमा नै यस अधर्ममा परेका थिए। “‘यदि कुनै एक जना मानिसले अजानमा पाप गर्यो भने, त्यसले एउटा एक वर्षे बाख्राकी पाठी चढ़ाओस्। अजानमा पाप गर्ने त्यस व्यक्तिको प्रायश्चितको निम्ति पूजाहारीले परमप्रभुको सामु प्रायश्चित गरून्, र त्यसलाई क्षमा हुनेछ। अजानमा पाप गर्ने इस्राएली वा तिमीहरूसँग बस्ने प्रवासीको एउटै नियम होस्। “‘तर स्वदेशी वा परदेशी कुनै व्यक्तिले अटेरीसाथ पाप गर्यो भने, त्यसले निन्दा गर्छ, र त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कृत होस्। किनभने त्यसले परमप्रभुको वचनलाई तिरस्कार गरेको छ, र उहाँका आज्ञा भङ्ग गरेको छ। त्यो व्यक्ति बिलकुलै बहिष्कार गरिओस्। त्यसले आफ्नो अधर्मको फल भोगोस्’।” इस्राएलीहरू उजाड़-स्थानमा हुँदा तिनीहरूले एक जना मानिसलाई शबाथ-दिनमा दाउरा बटुलिरहेको फेला पारे। दाउरा बटुल्नेलाई तिनीहरूले मोशा, हारून र सारा समुदायकहाँ ल्याए। त्यसलाई गर्नुपर्ने कारवाही थाहा नभएकोले तिनीहरूले त्यसलाई थुनामा राखे। तब परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मानिस मारिनैपर्छ। सारा समुदायले त्यसलाई छाउनीबाहिर ढुङ्गा हानेर मारून्।” अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सारा समुदायले त्यसलाई छाउनीबाहिर ल्याए, र त्यसलाई मारे। फेरि परमप्रभुले मोशालाई यसो भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘तिनीहरूले आफ्ना सबै पुस्तौँभरि लुगाको किनारमा नीलो फित्ता लगाएको झुम्का हालून्। त्यस झुम्कालाई हेर्दा तिमीहरूलाई परमप्रभुका आज्ञाहरूको सम्झना होस् कि तिमीहरूले ती आज्ञाहरू पालन गर, र आफ्ना मन र आँखाका लालसामा लागेर पथभ्रष्ट नहोओ। तब तिमीहरूले मेरा सबै आज्ञा मान्न सम्झना राखेर आफ्ना परमेश्वरको निम्ति पवित्र हुनेछौ। तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर मै हुँ। परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ’।”
गन्ती 15 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 15
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 15:17-41
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू