याहवेहले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिलेसम्म मेरो अनादर गरिरहन्छन्? मैले तिनीहरूको बीचमा गरेका सबै अलौकिक चिन्हहरू देखेर पनि तिनीहरूले ममाथि कहिलेसम्म विश्वास गर्न इन्कार गर्छन्? म तिनीहरूलाई महामारीले प्रहार गर्नेछु र नाश पार्नेछु। तर तँलाईचाहिँ तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउनेछु।” मोशाले याहवेहलाई भने, “इजिप्टियनहरूले यो कुरा सुने भने के भन्लान्? तिनीहरूका बीचबाट आफ्नो शक्तिद्वारा यिनीहरूलाई तपाईंले नै ल्याउनुभएको हो। अनि तिनीहरूले यो देशका बासिन्दाहरूलाई यो कुरा बताउनेछन्। तपाईं याहवेह यिनीहरूका बीचमा हुनुहुन्छ। तपाईं यिनीहरूसँग आमने-सामने नै देखा पर्नुभएको छ। अनि तपाईंको बादल यिनीहरूमाथि रहन्छ। अनि दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोमा भएर तपाईं यिनीहरूका अगि-अगि जानुहुन्छ भनेर तिनीहरूले सुनिसकेका छन्। यदि तपाईंले यी मानिसहरूलाई एउटै पनि जीवित नराखी नाश गर्नुभयो भने तपाईंको ख्याति सुन्ने जातिहरूले भन्नेछन्, ‘याहवेहले शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा यी मानिसहरूलाई ल्याउन सक्नुभएन। त्यसैले उहाँले तिनीहरूलाई उजाडस्थानमा मारिदिनुभयो।’ “अब तपाईंले घोषणा गर्नुभएझैँ प्रभुको शक्ति प्रदर्शन गर्नुहोस्: याहवेह रिस गर्नमा ढिलो, प्रेममा भरपूर, पाप र विद्रोह क्षमा गर्नुहुने हुनुहुन्छ। तरै पनि उहाँले दोषीलाई दण्ड नदिई छोड्नुहुन्न। उहाँले आमाबुबाका पापका दण्ड तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ। तपाईंको महान् प्रेमअनुसार यिनीहरूले इजिप्ट छोडेर आएदेखि अहिलेसम्म जसरी तपाईंले क्षमा दिनुभएको छ, त्यसरी नै यी मानिसहरूका पाप क्षमा गरिदिनुहोस्!” याहवेहले मोशालाई जवाफ दिनुभयो, “तेरो बिन्तीअनुसार मैले तिनीहरूलाई क्षमा दिएको छु। तरै पनि म जीवित भएझैँ र याहवेहको महिमाले सम्पूर्ण पृथ्वी ढाकिएझैँ, मेरो महिमा अनि मैले इजिप्टमा र उजाडस्थानमा देखाएका अलौकिक चिन्हहरू देखेका छन्। र पनि मेरो आज्ञापालन नगर्ने र मलाई दश पल्टसम्म जाँच गर्ने एकै जनाले पनि अर्थात् तिनीहरूमध्ये एउटैले पनि मैले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर दिन्छु भनी प्रतिज्ञा गरेको देशलाई कहिल्यै देख्न पाउनेछैनन्। मलाई अनादर गर्ने कुनै पनि व्यक्तिले त्यस देशलाई कहिल्यै देख्न पाउनेछैन। तर मेरो सेवक कालेबमा अर्कै आत्मा छ, र उसले सम्पूर्ण हृदयले मलाई पछ्याएको छ। यसकारण उसले भेद लिएर आएको देशमा म उसलाई पुर्याउनेछु। अनि उसका सन्ततिहरूले त्यस देशमा अधिकार गर्नेछन्। बेँसीहरूमा अमालेकीहरू र कनानीहरू बसोबास गरिरहेका हुनाले भोलि नै तिमीहरू फर्क। अनि लाल समुद्रको बाटो भएर उजाडस्थानतिर लाग।”
गन्ती 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 14:11-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू