YouVersion लोगो
खोज आइकन

गन्‍ती 14:11-25

गन्‍ती 14:11-25 सरल नेपाली

परमप्रभुले मोशालाई भन्‍नुभयो, “कहिलेसम्‍म यी मानिसहरूले मलाई अस्‍वीकार गर्ने हुन्? मैले तिनीहरूका बीचमा यति धेरै उदेकका कामहरू गरिसकें, तापनि अझै कतिञ्‍जेल तिनीहरू ममाथि भरोसा नगर्ने हुन्। म महामारी पठाएर तिनीहरूलाई नाश पार्नेछु। तर तँलाई चाहिँ म एउटा जातिको पिता बनाउनेछु। त्‍यो जाति यो अहिलेको जातिभन्दा ठूलो र बलवान् हुनेछ!” तर मोशाले परमप्रभुलाई भने, “तपाईंले आफ्‍नो शक्तिले यी मानिसहरूलाई मिश्रबाट निकाली ल्‍याउनुभयो। तपाईंले आफ्‍ना मानिसहरूलाई कसो गर्नुभएको छ, त्‍यो कुरा मिश्रीहरूले जब सुन्‍छन्, तिनीहरूले सो कुरा यो देशमा बस्‍नेहरूलाई सुनाउनेछन्। यी मानिसहरूले सुनिसकेका छन् कि तपाईं परमप्रभु हामीसित हुनुहुन्‍छ। तपाईंको बादल हामीमाथि अडिँदा तपाईंले आफ्‍नो दर्शन दिनुहुन्‍छ अनि दिउँसो बादलका खम्‍बामा र राती आगोका खम्‍बामा तपाईं हाम्रा अघि-अघि हिँड्‍नुहुन्‍छ भनी तिनीहरूले जानेका छन्। अब तपाईंले आफ्‍ना मानिसहरूलाई नाश गर्नुभयो भने तपाईंको सुनाम सुन्‍ने जातिहरूले भन्‍नेछन् कि तपाईंले आफ्‍ना मानिसहरूलाई उजाड-भूमिमा मार्नुभयो किनभने तपाईंले तिनीहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको ठाउँमा तिनीहरूलाई ल्‍याउन सक्‍नुभएन। यसकारण परमप्रभु, म बिन्‍ती गर्दछु, तपाईंले आफ्‍नो शक्ति देखाउनुहोस् र आफ्‍नो प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले यसो भन्‍नुभएको थियो, ‘म परमप्रभु, सजिलै रिसाउँदिनँ। म ठूलो प्रेम र विश्‍वासयोग्‍यता देखाउँछु र पाप र विद्रोह क्षमा गर्दछु। तापनि आमा-बुबाका पापका निम्‍ति म तिमीहरूका छोरा-नातिहरूलाई तेस्रो वा चौथो पुस्‍तासम्‍म दण्‍ड दिन छोड्दिन।’ र अब, हे परमप्रभु, म बिन्‍ती गर्दछु, तपाईंको कहिल्यै नबद्लिने ठूलो प्रेमअनुसार यी मानिसहरूका पाप क्षमा गर्नुहोस्, जसरी यिनीहरूले मिश्र छोडेदेखि अहिलेसम्‍म तपाईंले माफ गर्दै ल्‍याउनुभएको छ।” परमप्रभुले उत्तर दिनुभयो, “तैँले बिन्‍ती गरेअनुसार म यिनीहरूलाई क्षमा गर्नेछु। म जीवित छु र मेरो उपस्‍थितिले पृथ्‍वी भरिँदै छ भन्‍ने स्‍वयम् साक्षी राखी म भन्‍दछु कि यी मानिसहरूमध्‍ये एक जना पनि त्‍यस देशमा पस्‍न पाउनेछैनन्‌। मेरो उपस्‍थितिले तिनीहरूका आँखा तिरीमिरि पार्ने ज्‍योति अनि मैले मिश्रदेशमा र वनमा गरेका उदेकका कामहरू सबै देखेका छन् तर घरीघरी तिनीहरूले मेरा धैर्यको जाँच गरेका छन् र मेरा आज्ञा मान्‍न चाहेका छैनन्। मैले तिनीहरूका पुर्खालाई प्रतिज्ञा गरेको देशमा तिनीहरू पस्‍न पाउनेछैनन्। मलाई इन्‍कार गर्ने कोही पनि त्‍यस देशमा पस्‍न पाउनेछैन। तर मेरो सेवक कालेबको मन बेग्‍लै छ र त्‍यो मेरो भक्त रहेको छ। त्‍यसकारण म त्‍यसलाई त्‍यसले जाँचबुझ गरी आएको सो देशमा पुर्‍याउनेछु र त्‍यसका सन्‍तानले अहिले अमालेकी र कनानीहरूले बास गरेको त्‍यस देशमा अधिकार गर्नेछन्। भोलि फर्केर लाल समुद्रको खाडीतिर भएको उजाड-भूमिमा जाओ।”

गन्‍ती 14 पढ्नुहोस्