अनि परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले मलाई कतिसम्म तिरस्कार गरिरहनेछन्? यिनीहरूका बीचमा मैले गरेका चिन्हहरू देखेर पनि यिनीहरूले कतिसम्म ममाथि अविश्वास गर्नेछन्? यिनीहरूलाई म रूढ़ीले नाश गर्नेछु, तर तँबाटै यिनीहरूभन्दा ठूलो र शक्तिशाली जाति बनाउनेछु।” मोशाले परमप्रभुलाई भने, “मिश्रीहरूले यो सुने भने के भन्लान्? उनीहरूका बीचबाट आफ्नो शक्ति देखाएर तपाईंले नै यिनीहरूलाई ल्याउनुभएको हो। यस देशका बासिन्दाहरूलाई मिश्रीहरूले यो कुरा बताउनेछन्। तपाईं परमप्रभु यिनीहरूका बीचमा हुनुहुन्छ भन्ने कुरो उनीहरूले सुनिसकेका छन्, तपाईं आमनेसामने नै देखा पर्नुभएको छ, र तपाईंको बादल यिनीहरूमाथि खड़ा हुन्छ र दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तपाईं यिनीहरूका अगिअगि जानुहुन्छ। अब तपाईंले यस जातिलाई एकै पटकमा मार्नुभयो भने त तपाईंको कीर्ति सुन्ने जातिहरूले यसो भनेर कुरा गर्नेछन्, ‘परमप्रभुले ती मानिसहरूलाई दिन्छु भनी शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा ल्याउन सक्नुभएन, यसैकारण तिनीहरूलाई उजाड़-स्थानमा मारिदिनुभयो’। “यसैले परमप्रभु, आफ्नो महामहिमा प्रकट गर्नुहोस्, जसरी तपाईंले भन्नुभएको छ: ‘परमप्रभु रीस गर्नमा धैर्यवान् र अति करुणामय, अधर्म र अपराध क्षमा गर्ने, तर दोषीलाई कुनै रीतिले निर्दोष नठहराउने, पिता-पुर्खाका अधर्मको सजाय उनीहरूका तेस्रो र चौथो पुस्तासम्म पनि दिने हुनुहुन्छ।’ बिन्ती छ, तपाईंको महान् करुणाअनुसार, र मिश्रदेशदेखि अहिलेसम्म क्षमा गरिरहनुभएझैँ यी मानिसहरूको अधर्म क्षमा गर्नुहोस्।” तब परमप्रभुले भन्नुभयो, “तैंले भनेबमोजिम मैले यिनीहरूलाई क्षमा गरिदिएको छु। तापनि, जस्तो म जीवित छु र जसरी मेरो महिमाले पृथ्वी भरिएको छ, मिश्र र उजाड़-स्थानमा मेरा महिमा र आश्चर्यकर्महरू देखेर पनि अनाज्ञाकारी भई दश पल्ट मेरो जाँच गर्ने यी सारा मानिसहरूले तिनीहरूका पुर्खाहरूलाई शपथ खाएर भनेको प्रतिज्ञाको देश देख्नेछैन। मलाई तिरस्कार गर्नेले त्यो कहिल्यै देख्नेछैन। तर मेरो दास कालेबमा अर्कै आत्मा छ, र त्यसले पूरै रीतिले मेरो अनुसरण गरेको छ। यसैकारण त्यो पसेर आएको देशमा म त्यसलाई लैजानेछु र त्यसका सन्तानले त्यो अधिकार गर्नेछन्। अमालेकी र कनानीहरू बेँसीहरूमा बसेका हुनाले भोलि नै तिमीहरू फर्क र लाल समुद्रको बाटो भएर उजाड़-स्थानतिर जाओ।”
गन्ती 14 पढ्नुहोस्
सुन्नुहोस् गन्ती 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 14:11-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू