यसकारण मोशा बाहिर गएर याहवेहले भन्नुभएको कुरा मानिसहरूलाई भने। मोशाले तिनीहरूका प्रधानहरूमध्ये सत्तरी जनालाई एकसाथ ल्याएर तिनीहरूलाई पालको वरिपरि उभ्याए। त्यसपछि याहवेह बादलमा ओर्लिआउनुभयो, र मोशासँग बोल्नुभयो। अनि उहाँले तिनमा भएका आत्माको शक्तिबाट केही लिएर सत्तरी जना प्रधानहरूलाई दिनुभयो। जब आत्मा तिनीहरूमाथि आएर बस्नुभयो, तब तिनीहरूले अगमवाणी गरे। तर त्यसपछि भने तिनीहरूले फेरि कहिल्यै त्यसो गरेनन्। तर पनि एल्दाद र मेदाद नाम भएका दुई जना मानिसहरूचाहिँ छाउनीमै बसेका थिए। तिनीहरू दुवैका नाम प्रधानहरूका सूचीमा थिए। तिनीहरू बाहिर पालमा गएनन्। तर पनि तिनीहरूमाथि आत्मा बस्नुभएको थियो। अनि तिनीहरूले छाउनीमै अगमवाणी गरे। तब एक जना जवान दौडेर गयो, र मोशालाई भन्यो, “एल्दाद र मेदादले छाउनीभित्र अगमवाणी गरिरहेका छन्।” नूनका छोरा यहोशू, जो युवावस्थादेखि नै मोशाका सहायक थिए, तब तिनले भने, “हे मेरा प्रभु मोशा, तिनीहरूलाई रोक्नुहोस्!” तर मोशाले यहोशूलाई जवाफ दिए, “के तिमी मेरो खातिर डाही भएका छौ? याहवेहले आफ्ना आत्मा सबै मानिसहरूमाथि राखिदिनुभएको भए ती सबै अगमवक्ता भइदिए कति असल हुनेथियो!” त्यसपछि मोशा र इस्राएलका प्रधानहरू पालमा फर्के। याहवेहबाट बतास निस्केर गयो। अनि समुद्रबाट बट्टाई चराहरू धपाएर ल्यायो। ती चराहरू एक दिनको बाटोजतिको दूरीमा चारैतिर, तिनीहरूका छाउनीको वरिपरि भुइँदेखि दुई क्यूबिट माथिसम्म थुप्रिए। त्यस दिनभरि, रातभरि र भोलिपल्ट दिनभरि मानिसहरूले बाहिर गएर बट्टाई चराहरू बटुले। कसैले पनि दश ओमेर भन्दा कम्ती बटुलेनन्। त्यसपछि तिनीहरूले ती छाउनीको चारैतिर फिँजाए। तर मासु तिनीहरूका दाँतको बीचमा छँदै, मासु निल्नुभन्दा अगि नै याहवेहको क्रोध तिनीहरूमाथि दन्क्यो। अनि उहाँले तिनीहरूलाई डरलाग्दो महामारीले प्रहार गर्नुभयो। यसकारण त्यस ठाउँको नाम किब्रोत-हत्तावा राखियो। किनकि त्यहाँ अन्य भोजनको निम्ति अति लालच गर्नेहरूलाई गाडिएको थियो। किब्रोत-हत्तावाबाट मानिसहरू यात्रा गरेर हसेरोतमा पुगे। अनि त्यहीँ बसे।
गन्ती 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 11:24-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू