YouVersion लोगो
खोज आइकन

गन्‍ती 11:24-35

गन्‍ती 11:24-35 सरल नेपाली

यसकारण मोशा बाहिर गए र परमप्रभुले भन्‍नुभएको कुरा मानिसहरूलाई सुनाए। तिनले सत्तरी जना अगुवाहरूलाई भेला गरेर पवित्र पालका चारैतिर उभ्‍याए। तब परमप्रभु बादलमा त्‍यहाँ ओर्लनुभयो र तिनीसित बोल्‍नुभयो। उहाँले मोशालाई दिनुभएको आत्‍माबाट केही लिएर ती सत्तरी जना अगुवाहरूलाई दिनुभयो। अनि तिनीहरूमाथि आत्‍मा आउनुभएपछि तिनीहरू अगमवाणी गर्न थाले। तर त्‍यो धेरै बेरसम्‍म रहेन। सत्तरी अगुवाहरूमध्‍ये दुई जना, एल्‍दाद र मेदाद छाउनीमा नै बसिरहेका थिए। तिनीहरू पवित्र पालमा गएका थिएनन्। त्‍यहीँ छाउनीमा तिनीहरूमाथि आत्‍मा उत्री आउनुभयो र तिनीहरू पनि अगमवाणी गर्न थाले। एल्‍दाद र मेदादले के गर्दै थिए, त्‍यो मोशालाई सुनाउन एउटा केटा दगुरेर गयो। तब नुनका छोरा यहोशू, जसले आफू किशोर हुँदादेखि मोशालाई मद्दत दिइरहेका थिए, मुख खोलेर मोशालाई भने, “हजुर, तिनीहरूलाई रोक्‍नुहोस्!” मोशाले जवाफ दिए, “के तँ मेरो कारण चिन्‍ता गर्दै छस्? मेरो परमप्रभुले आफ्‍ना आत्‍मा सबै मानिसहरूलाई दिऊन् र तिनीहरू अगमवक्ता बनून् भन्‍ने इच्‍छा छ!” तब मोशा र सत्तरी जना अगुवाहरू छाउनीमा फर्केर गए। अचानक परमप्रभुले बतास पठाउनुभयो। त्‍यस बतासले समुद्रबाट बट्टाई चराहरू उडाइल्‍यायो। बट्टाई चराहरू भूइँबाट एक गज जति अग्‍लोमा उडेर आए र छाउनीका चारैपट्टि बसे। एक दिनको टाढा चारैतिर बाटोसम्‍म चराहरू बसेका थिए। यसरी त्‍यो दिन, रात र भोलिपल्‍ट दिनभरि मानिसहरूले बट्टाई चराहरू समात्‍ने काम गरिरहे। कसैले पनि हजार किलोग्रामभन्दा कम बटुलेन। ती छाउनीका चारैपट्टि तिनीहरूले फिँजाएर सुकाए। तिनीहरूले सबै मासु खाइसक्‍दानसक्‍दै परमप्रभु ती मानिसहरूसित रिसाउनुभयो र तिनीहरूका माझमा एउटा महामारी फैलाउनुभयो। त्‍यस ठाउँको नाम किब्रोथ-हत्तावा राखियो र जसको अर्थ हो ‘लालच गर्नेहरूको चिहान’ किनभने त्‍यहाँ तिनीहरूले मासुको लालच गर्ने मानिसहरूलाई गाडे। त्‍यहाँबाट मानिसहरू हसेरोतमा गए र त्‍यहाँ छाउनी हालेर बसे।

गन्‍ती 11 पढ्नुहोस्