तिनले पानी मूलढोकाको सामु पुरुषहरू र स्त्रीहरू, र बुझ्न सक्ने केटाकेटीहरूको उपस्थितिमा बिहान घाम उदाएको समयदेखि दिउँसोसम्म चर्को आवाजमा व्यवस्थाको पुस्तक पढेर सुनाए। सबै मानिसहरूले व्यवस्थाको पुस्तकमा ध्यान दिए।
शिक्षक एज्रा काठले बनिएको अग्लो मञ्चमाथि उभिए। तिनको छेउमा दाहिनेपट्टि मत्तीत्याह, शेमा, अनायाह, उरियाह, हिल्किय्याह र मासेयाह; अनि देब्रेतिर पदायाह, मिशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम थिए।
एज्राले व्यवस्थाको पुस्तक खोले। सबै मानिसहरूले तिनलाई देख्न सक्थे; किनकि तिनी मानिसहरूभन्दा अग्लो मञ्चमा उभिएका थिए। तिनले त्यो व्यवस्थाको पुस्तकलाई खोल्दा सबै मानिसहरू उभिए। एज्राले याहवेह महान् परमेश्वरलाई प्रशंसा गरे; अनि सबै मानिसहरूले आफ्ना हातहरू उचालेर यसो भन्दै प्रतिक्रिया दिए, “आमेन! आमेन!” त्यसपछि तिनीहरू भुइँसम्म घोप्टो परेर याहवेहलाई दण्डवत् गरे।
येशूआ, बानी, शेरेबियाह, यामीन, अक्कूब, शब्बतै, होदिय्याह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान र पलायाहः यी लेवीहरूले त्यहाँ मानिसहरू उभिरहेकै बेला मानिसहरूलाई व्यवस्थाको अर्थ बुझाइदिए। तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे; अनि पढेको कुरा स्पष्ट हुने गरी अर्थ लगाइदिए, ताकि जे पढिएको थियो, सो मानिसहरूले बुझ्न सकून्।
तब राज्यपाल नहेम्याह, पुजारी र व्यवस्थाका शिक्षक एज्रा र लेवीहरू, जसले तिनीहरू सबैलाई निर्देशन दिँदै यसो भने, “यो दिन याहवेह तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। विलाप नगर र नरोऊ।” किनकि व्यवस्थाका वचन सुनेर सबै मानिसहरू रोइरहेका थिए।
नहेम्याहले भने, “गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।”