तिनले त्यसबाट पानी ढोकाका सामुको चोकपट्टि फर्केर बिहानदेखि मध्यदिनसम्म पुरुष, स्त्री र बुझ्नेहरूको उपस्थितिमा पढ़े; र सबै मानिसहरूले व्यवस्थाको पुस्तकबाट पढ़िएको कुरा ध्यानसँग सुने।
शास्त्री एज्रा त्यस्तै कामको लागि बनाइएको एउटा काठको मञ्चमा उभिए। तिनको दाहिने हातपट्टि तिनको छेउमा मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह खड़ा थिए। तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया, र मशुल्लाम उभिएका थिए।
एज्राले पुस्तक खोले। सबै मानिसहरूले तिनलाई देख्न सके, किनकि तिनीहरूभन्दा तिनी उच्चमा खड़ा भएका थिए। जसै तिनले पुस्तक खोले, सबै मानिसहरू खड़ा भए। एज्राले परमप्रभु महान् परमेश्वरको प्रशंसा गरे, र सबै मानिसहरूले आ-आफ्ना हात उठाएर यसो भनेर जवाफ दिए, “आमेन, आमेन।” त्यसपछि तिनीहरूले आ-आफ्नो शिर निहुराएर परमप्रभुको सामुन्ने नम्रतापूर्वक दण्डवत् गरे।
लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्नो ठाउँमा उभिएकै बेला व्यवस्था बुझाइदिए। तिनीहरूले परमेश्वरका व्यवस्थाको पुस्तक राम्ररी पढ़ेर त्यसको अर्थ मानिसहरूले बुझ्न सक्ने गरी बुझाइदिए।
तब राज्यपाल नहेम्याह, पूजाहारीशास्त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, “आजको दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। विलाप नगर, अनि नरोओ।” किनभने व्यवस्थाका वचनहरू सुनेर तिनीहरू सबै रुँदैथिए।
तब नहेम्याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्वादिष्ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्नो निम्ति जुटाउन नसक्नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्द नै तिमीहरूको बल हो।”