नहेम्याह 8:3-10
नहेम्याह 8:3-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले त्यसबाट पानी ढोकाका सामुको चोकपट्टि फर्केर बिहानदेखि मध्यदिनसम्म पुरुष, स्त्री र बुझ्नेहरूको उपस्थितिमा पढ़े; र सबै मानिसहरूले व्यवस्थाको पुस्तकबाट पढ़िएको कुरा ध्यानसँग सुने। शास्त्री एज्रा त्यस्तै कामको लागि बनाइएको एउटा काठको मञ्चमा उभिए। तिनको दाहिने हातपट्टि तिनको छेउमा मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह खड़ा थिए। तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया, र मशुल्लाम उभिएका थिए। एज्राले पुस्तक खोले। सबै मानिसहरूले तिनलाई देख्न सके, किनकि तिनीहरूभन्दा तिनी उच्चमा खड़ा भएका थिए। जसै तिनले पुस्तक खोले, सबै मानिसहरू खड़ा भए। एज्राले परमप्रभु महान् परमेश्वरको प्रशंसा गरे, र सबै मानिसहरूले आ-आफ्ना हात उठाएर यसो भनेर जवाफ दिए, “आमेन, आमेन।” त्यसपछि तिनीहरूले आ-आफ्नो शिर निहुराएर परमप्रभुको सामुन्ने नम्रतापूर्वक दण्डवत् गरे। लेवीहरू— येशूअ, बानी, शरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान, पलयाहले चाहिँ मानिसहरूलाई आ-आफ्नो ठाउँमा उभिएकै बेला व्यवस्था बुझाइदिए। तिनीहरूले परमेश्वरका व्यवस्थाको पुस्तक राम्ररी पढ़ेर त्यसको अर्थ मानिसहरूले बुझ्न सक्ने गरी बुझाइदिए। तब राज्यपाल नहेम्याह, पूजाहारीशास्त्री एज्रा र मानिसहरूलाई शिक्षा दिइरहेका लेवीहरूले तिनीहरू सबैलाई भने, “आजको दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। विलाप नगर, अनि नरोओ।” किनभने व्यवस्थाका वचनहरू सुनेर तिनीहरू सबै रुँदैथिए। तब नहेम्याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्वादिष्ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्नो निम्ति जुटाउन नसक्नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्द नै तिमीहरूको बल हो।”
नहेम्याह 8:3-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले पानी मूलढोकाको सामु पुरुषहरू र स्त्रीहरू, र बुझ्न सक्ने केटाकेटीहरूको उपस्थितिमा बिहान घाम उदाएको समयदेखि दिउँसोसम्म चर्को आवाजमा व्यवस्थाको पुस्तक पढेर सुनाए। सबै मानिसहरूले व्यवस्थाको पुस्तकमा ध्यान दिए। शिक्षक एज्रा काठले बनिएको अग्लो मञ्चमाथि उभिए। तिनको छेउमा दाहिनेपट्टि मत्तीत्याह, शेमा, अनायाह, उरियाह, हिल्किय्याह र मासेयाह; अनि देब्रेतिर पदायाह, मिशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम थिए। एज्राले व्यवस्थाको पुस्तक खोले। सबै मानिसहरूले तिनलाई देख्न सक्थे; किनकि तिनी मानिसहरूभन्दा अग्लो मञ्चमा उभिएका थिए। तिनले त्यो व्यवस्थाको पुस्तकलाई खोल्दा सबै मानिसहरू उभिए। एज्राले याहवेह महान् परमेश्वरलाई प्रशंसा गरे; अनि सबै मानिसहरूले आफ्ना हातहरू उचालेर यसो भन्दै प्रतिक्रिया दिए, “आमेन! आमेन!” त्यसपछि तिनीहरू भुइँसम्म घोप्टो परेर याहवेहलाई दण्डवत् गरे। येशूआ, बानी, शेरेबियाह, यामीन, अक्कूब, शब्बतै, होदिय्याह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान र पलायाहः यी लेवीहरूले त्यहाँ मानिसहरू उभिरहेकै बेला मानिसहरूलाई व्यवस्थाको अर्थ बुझाइदिए। तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तकबाट पढे; अनि पढेको कुरा स्पष्ट हुने गरी अर्थ लगाइदिए, ताकि जे पढिएको थियो, सो मानिसहरूले बुझ्न सकून्। तब राज्यपाल नहेम्याह, पुजारी र व्यवस्थाका शिक्षक एज्रा र लेवीहरू, जसले तिनीहरू सबैलाई निर्देशन दिँदै यसो भने, “यो दिन याहवेह तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। विलाप नगर र नरोऊ।” किनकि व्यवस्थाका वचन सुनेर सबै मानिसहरू रोइरहेका थिए। नहेम्याहले भने, “गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।”
नहेम्याह 8:3-10 पवित्र बाइबल (NERV)
एज्राले व्यवस्थाको पुस्तकलाई पानी-मुलढोका अघिको चोकमा फर्केर विहान देखि मध्यदिनसम्म पुरूष, स्त्री अनि अन्य सबैले बुझ्न सक्नें गरि पढियो। सबै मानिसहरूले ध्यानपूर्वक व्यवस्थाको पुस्तकको कुराहरू सुने। शास्त्री एज्रा एक काठको मचानमा उभिए जो त्यसै अवसरको निम्ति बनाएको थियो। उसको दाहिने तिर मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह अनि मासेयाह उभिएका, थिए। उसको देब्रेतिर पदायाह, मीशाएल, मल्कियाह, हशूम, हशवदा, जकर्याह अनि मशुल्लाम उभिएको थिए। एज्राले सबै मानिसहरूले देख्ने गरी पुस्तक खोले किनभने उनी तिनीहरू भन्दा माथि उभिएका थिए। यसरी उसले व्यवस्थाको पुस्तक खोल्दा सबै मानिसहरू उभिए। एज्राले परमप्रभु महान् परमेश्वरको स्तुति गरे। अनि सबै मानिसहरूले आफ्ना हात उठाउँदै उत्तरदिए, “आमीन! आमीन!” तब तिनीहरू सबै परमप्रभुको अघि भुइँमा निहुरीए। लेवीहरूको कुल समूहबाट येशूअ, बानी, शेरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, केलीता, अजर्याह, योजाबाद, हानान, अनि पलायाह मानिसहरूलाई व्यवस्थाको शिक्षा दिए जब मानिसहरू चाँहि आफ्ना स्थानमा उभिरहेका थिए। तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक स्पष्ट सित पढे अनि के पढिएको थियो मानिसहरूलाई बुझ्न सहायता गरे। नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए। उसले तिनीहरूलाई भने, “जाऊ अनि मीठो भोजन खाऊ, र स्वादिष्ट दाखरस पिऊ अनि तिनीहरूलाई भाग पठाऊ जसले तयार गरेका छैनन्, किनभने यो दिन हाम्रा मालिकको निम्ति पवित्र छ। अनि उदास नोहोऊ किनभने परमप्रभुमा आनन्द नै तिम्रो शक्तिहो।”
नहेम्याह 8:3-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यहाँ चोकको ढोकानिर बिहान घाम झुल्केदेखि मध्य-दिनसम्म एज्राले व्यवस्था पढी सुनाए र मानिसहरूले खुबै ध्यान दिएर सुने। त्यसको निम्ति त्यहाँ एउटा काठको मञ्च बनिएको थियो र एज्रा काठको मञ्चमाथि उभिएका थिए। उनको दाहिनेपट्टि मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह, मासेयाह र देब्रे हातपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया र मशुल्लाम उभिएका थिए। त्यसरी एज्रा मञ्चमा उभिएको बेलामा मानिसहरूले उनलाई एकटक लाएर हेरिरहे। उनले व्यवस्थाको पुस्तक खोल्ने बित्तिकै मानिसहरू खडा भए। एज्राले भने, “महान् परमेश्वर प्रभुको प्रशंसा गर!” तब सबै मानिसहरूले हात आकाशतिर उचालेर “आमेन, आमेन” भने। शिर भूइँसम्म निहुराएर घुँडा टेकी तिनीहरूले परमेश्वरलाई प्रणाम गरे। तब तिनीहरू आ-आफ्ना ठाउँमा उभिए र येशूअ, बानी, शरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, कलीता, अजर्याह, योजाबाद, हानान र पलयाह नाम भएका लेवीहरूले तिनीहरूलाई व्यवस्थाको अर्थ खोलेर बुझाए। तिनीहरूले मुखमुखै व्यवस्था सरल भाषामा अनुवाद गर्दै अर्थ खोलिदिए र मानिसहरूले बुझे। व्यवस्थाका वचनले मानिसहरूको हृदय छोयो र तिनीहरू रुन लागे। तब बडा-हाकिम नहेम्याह, पूजाहारी शास्त्री एज्रा, शिक्षा दिइरहेका लेवीहरूले तिनीहरूलाई भने, “आजको दिन हाम्रा प्रभु परमेश्वरको लागि पवित्र छ, यसर्थ आज तिमीहरू रुनु-कराउनुहुँदैन। अब घर गएर भोज खाओ। जोसँग पुग्दो छैन, ऊसँग आफ्ना भोजन र दाखमद्य बाँडेर खाओ। हाम्रा परमप्रभुको निम्ति आजको दिन पवित्र छ। यसैले विलाप नगर। परमप्रभुले दिनुहुने आनन्दले तिमीहरू बलिया हुनेछौ।”