YouVersion लोगो
खोज आइकन

नहेम्याह 4:11-18

नहेम्याह 4:11-18 NCV

तब हाम्रा शत्रुहरूले भने, “तिनीहरूले थाहा पाउन वा हामीलाई देख्नभन्दा अगाडि नै, हामी तिनीहरूका बीचमा जानेछौँ, तिनीहरूलाई मारिदिनेछौँ र यस कामको अन्त्य गरिदिनेछौँ।” तब तिनीहरूको छेउमा बस्‍ने यहूदीहरू आए, र हामीलाई दश पटकभन्दा बढी यसो भने, “तपाईंहरू जता फर्के तापनि तिनीहरूले हामीलाई चारैतिरबाट आक्रमण गर्नेछन्।” यसकारण मैले केही मानिसहरूलाई पर्खालको सबैभन्दा तल्‍लो खुला ठाउँहरूमा तिनीहरूका परिवारअनुसार तिनीहरूका तरवारहरू, भालाहरू र धनुकाँड लिएर बस्‍ने आदेश दिएँ। मैले सबै कुराहरू हेरिसकेपछि, म खडा भएर अधिकारीहरू, अधिकृतहरू र बाँकी मानिसहरूलाई भनेँ, “तिमीहरू तिनीहरूसित नडराओ। महान् र भययोग्य प्रभुलाई याद गर; अनि आफ्ना दाजुभाइहरूको निम्ति, आफ्ना छोराहरूका र छोरीहरूका निम्ति, आफ्ना पत्नीहरू र आफ्ना घरहरूको निम्ति युद्ध गर।” जब हाम्रा शत्रुहरूले हामीलाई तिनीहरूको योजनाबारे थाहा भयो, र परमेश्‍वरले त्यसलाई विफल पार्नुभयो भन्‍ने कुरा सुने, हामी सबै पर्खालको पुनर्निर्माण काम गर्न फर्क्यौँ, र हामी प्रत्येक आ-आफ्ना काममा लाग्यौँ। त्यस दिनदेखि उसो मेरो अधीनमा भएका आधा मानिसहरू काममा लागिरहे भने अर्को आधा भाग मानिसहरू भाला, ढाल, धनु र हतियारले सुसज्जित भइबसे; अनि यहूदाका सारा मानिसहरूको पछिल्तिर अगुवाहरू खडा भए, जुन मानिसहरूले पर्खाल बनाइरहेका थिए। सामान बोक्ने कामदारहरूले एक हातले काम गर्थे, र अर्को हातले हतियार बोक्थे। अनि निर्माण काम गर्नेहरू आफ्नो तरवार भिरेर बनाउने काम गर्थे। तर तुरही फुक्ने मानिसहरूचाहिँ मसँग बस्थे।

नहेम्याह 4 पढ्नुहोस्