फेरि येशूले तालको किनारमा शिक्षा दिन थाल्नुभयो। उहाँको चारैतिर ठूलो भीड जम्मा भएपछि तालमा भएको एउटा डुङ्गामा चढेर बस्नुभयो। मानिसहरूचाहिँ तालको किनारमा बसेका थिए। उहाँले तिनीहरूलाई धेरै कुराहरू दृष्टान्तहरूद्वारा सिकाउनुभयो। उहाँले आफ्नो शिक्षामा तिनीहरूलाई यसो भन्नुभयो, “ध्यान दिएर सुन! एक जना किसान बिउ छर्नलाई निस्क्यो। उसले जब बिउ छर्दैथियो, केही बिउ बाटोमा परे; अनि चराहरू आएर खाइदिए। केही ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन। माटो पर्याप्त नभएकोले ती चाँडै उम्रे। तर जब घाम लाग्यो, ती बिरुवाहरू ओइलाए; अनि तिनीहरूमा जरा नभएको हुनाले सुकिहाले। अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढे, र ती बिरुवाहरूलाई निसासिदिए, अनि तिनीहरूले कुनै फल फलाउन सकेनन्। अरू बिउहरूचाहिँ असल जमिनमा परे। ती उम्रँदै र फस्टाउँदै गएर तीस, साठी र सय गुणासम्म फल फलाए।”
तब येशूले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस् र बुझोस्।”
जब उहाँ एकलै हुनुभयो, ती बाह्र चेलाहरू र उहाँका चारैतिर भएकाहरूले दृष्टान्तहरूका विषयमा उहाँलाई सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको राज्यको रहस्य तिमीहरूलाई प्रकट गरिएको छ, तर अरूलाई हरेक कुरा दृष्टान्तहरूमा भनिन्छ, यसरी धर्मशास्त्र पूरा होस्:
“ ‘तिनीहरूले हेरिरहनेछन्, तर कहिल्यै देख्नेछैनन्;
सुन्न त सुनिरहनेछन्, तर कहिल्यै बुझ्नेछैनन्;
नत्रता तिनीहरूले पश्चात्ताप गर्नेथिए र क्षमा पाउनेथिए।’ ”
तब येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू यो दृष्टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले अरू दृष्टान्त कसरी बुझौला? बिउ छर्नेले वचन छर्दछ। कति मानिसहरू बाटोतिर परेका बिउजस्तै हुन्, जहाँ वचन छरिन्छ; तिनीहरूले जब यसलाई सुन्छन्, तब शैतान आउँछ र तिनीहरूमा छरिएको त्यो वचन लैजान्छ। अरूचाहिँ ढुङ्गेनी ठाउँमा छरिएका बिउजस्तै हुन्, तिनीहरूले वचन सुन्नेबित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छन्; तर तिनीहरूका जरा नभएकाले ती थोरै समयका लागि मात्र रहन्छन्। अनि जब वचनको कारण दुःख र सतावट आइपर्दछ, तब तिनीहरू झट्टै पछि हट्छन्। अझ अरूचाहिँ काँडाहरूमा छरिएका बिउजस्तै हुन्, जसले वचन सुन्छन्, तर यस जीवनको फिक्री र धनसम्पत्तिको छल, र अरू थोकहरूको मोह आउँछ; र वचनलाई निसासिदिन्छन्, र त्यो नफल्ने हुन्छ। तर अरूचाहिँ असल माटोमा परेका बिउजस्तै हुन्, जसले वचन सुन्दछन्, त्यसलाई ग्रहण गर्दछन्; अनि तीस गुणा, साठी गुणा र सय गुणासम्म फल फलाउँछन्।”
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले बत्ती ल्याएर भाँडोमुनि अथवा खाटमुनि नराखेर त्यसलाई सामदानमाथि राख्दैनौ र? जे लुकाइन्छ, त्यो प्रकट हुनका लागि हो र जे गुप्तमा राखिन्छ, त्यो प्रकट गरिनको लागि हो। यदि कसैका सुन्ने कानहरू छन् भने त्यसले सुनोस् र बुझोस्।”
उहाँले अझै भन्नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसलाई होसियारीसाथ विचार गर। जुन नापले तिमीहरू अरूहरूलाई नाप्दछौ, तिमीहरू पनि त्यही नापले अर्थात् अझै बढ्ता गरी नापिनेछौ। जससित छ, त्यसलाई अरू दिइनेछ; र जससित छैन, त्यससित भएको पनि खोसिनेछ।”