YouVersion लोगो
खोज आइकन

मर्कूस 3:22-35

मर्कूस 3:22-35 NCV

यरूशलेमबाट आएका व्यवस्थाका शिक्षकहरूले भने, “यिनमा बालजिबुल छ! भूतहरूको शासकको सहायताले यिनले भूतहरू धपाउँछन्।” यसकारण येशूले तिनीहरूलाई बोलाएर दृष्‍टान्तहरूमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी धपाउन सक्छ? यदि कुनै राज्य आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो राज्य टिक्न सक्दैन। कुनै घर आफ्नै विरुद्धमा विभाजित भयो भने त्यो घर टिक्न सक्दैन। यदि शैतानले शैतानलाई विरोध गर्छ र विभाजित हुन्छ भने त्यो टिक्न सक्दैन; त्यसको अन्त्य आइसकेको छ। वास्तवमा बलियो मानिसको घरमा पस्‍नुभन्दा पहिले उसलाई नबाँधि कसैले पनि उसको घरको धनमाल लुट्न सक्दैन। त्यसलाई बाँधेपछि मात्र त्यसले उसको घर लुट्न सक्छ। म तिमीहरूलाई साँच्‍चै भन्दछु, मानिसहरूका सबै पापहरू साथै हरेक निन्दाहरू तिनीहरूका लागि क्षमा हुनेछन्, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, उसलाई कहिल्यै क्षमा हुनेछैन; ऊ अनन्तसम्म पापको दोषी हुन्छ।” उहाँले यसो भन्‍नुभएको कारणचाहिँ तिनीहरूले उहाँलाई “यिनीसित अशुद्ध आत्मा छ” भनेका थिए। तब येशूकी आमा र भाइहरू आइपुगे। तिनीहरू बाहिर उभिएर उहाँलाई बोलाइदिनु भनेर कसैलाई भित्र पठाए। उहाँको चारैतिर भीड बसिरहेको थियो; अनि तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरूले तपाईंलाई बाहिर खोजिरहेका छन्।” उहाँले भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?” तब उहाँले आफ्ना चारैतिर बसेकाहरूलाई हेरेर भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्! जसले परमेश्‍वरको इच्छा पालन गर्दछन्, ती नै मेरा भाइ र बहिनी र आमा हुन्।”

मर्कूस 3 पढ्नुहोस्